दाङमा डेरा जमाएर शंकर पोख्रेलले थाले मुख्यमन्त्रीको होमवर्क


प्रकाशित मिति : मंसिर १४, २०७४ बिहीबार

१४ मंसिर, दाङ । केन्द्रीय राजनीतिमा प्रभाव जमाइरहेका एमाले स्थायी समिति सदस्य शंकर पोख्रेल एमाले र माओवादीले प्रदेश नं ५ को मुख्यमन्त्रीका रुपमा अघि सारेर दाङ पठाएपछि यसको तयारीमा लागेका छन् । पोखरेल अहिले भावी मुख्यमन्त्रीकै हैसियतमा चुनावी मैदानमा उत्रिएका छन् ।

श्रीमती सुजिता शाक्यका साथ घोराहीमा डेरा लिएरै बसेका पोख्रेल दिनरात फोनबाट बिभिन्न जिल्लाका नेताहरुसँग सम्पर्क र सहकार्य गरिरहेका भेटिन्छन् ।

‘मुख्यमन्त्रीकै भूमिकामा काम गरिरहेको छु,’ उनले भने, ‘सबै क्षेत्रका नेताहरुलाई जिताउन मेरो भूमिका जरुरी छ ।’

पोख्रेलले चुनावी अभियानलाई आफ्नो क्षेत्रमा मात्रै सीमित गरेका छैनन् । प्रदेशभर कसरी जिताउने भन्ने योजनासहित काम गरिरहेको उनले बताए । अबको चुनाव ‘क्याडरभन्दा मिडिया बेस’ भएको महशुस गरी काठमाण्डौ, बुटवल, नेपालगञ्ज र दाङमा बिशेष सञ्चार टिम खडा गरी काममा खटाएको उनले बताए । उक्त टिमले प्रदेशभरकै उम्मेदवारका विभिन्न रोचक प्रचार सामग्री निर्माण र प्रचार प्रसार गरिरहेको उनले बताए ।

मुख्यमन्त्री पद सुनिश्चित गर्नका लागि प्रदेशमा कम्तिमा बहुमत सिट जित्ने योजनासहित पोखरेल चुनावी तयारीमा लागेका छन् । बाम गठबन्धन र कांग्रेसले समेत अन्य कुनै पनि प्रदेशमा भावी मुख्यमन्त्रीको उम्मेदवारका तोक्न नसकिरहेका बेला पोख्रेललाई भने बाम गठबन्धनले प्रदेश प्रमुख नै भनेर प्रचार गरिरहेका छन् ।

गठबन्धनका दुवै नेतृत्वबाट पोखरेललाई मुख्यमन्त्रीको जिम्मेवारी दिने पक्कापक्की भएपछि पोख्रेल पनि त्यही ओज कायम गर्ने प्रयासमा लागेका छन् ।

विज्ञको टोली बन्यो, प्रदेशमा विकासको खाका कोरिँदै

आफ्नो निर्वाचन क्षेत्रमा चुनावी प्रचारसँगै पोखरेलले मुख्यमन्त्री भएर के-के काम गर्ने भन्ने खाका तयार पार्न थालेका छन् । प्रदेशमा विकासको खाका बनाउन उनले एक विज्ञ टोली नै खटाएका छन् ।

एमाले नेता पोखरेलले डिल्लीराज खनाल, रमेश अधिकारी, कृष्ण लम्साल र गोविन्द नेपाल रहेको विज्ञ टोली बनाएका छन् । यो टोलीले ५ नम्बर प्रदेशको विकासको खाका बनाइरहेको पोखरेलले बताए ।

एमाले नेता पोखरेेलले मुख्यमन्त्री भएपछि गर्ने मुख्य कामहरुको सूची आफूले समेत तयार पारेका छन् । प्रदेशका मुख्य तीन शहरलाई महानगर बनाई फरक-फरक क्षेत्रका केन्द्र बनाउने योजना उनले सुनाए ।

थारु, मगर, खस आर्य र मधेसी गरी मुख्यतः चार जातजातिको बाहुल्य रहेको यस प्रदेशलाई ‘मिनी नेपाल’ का रुपमा स्थापित गर्ने पोखरेल बताउँछन् ।

‘मिनी नेपाल विकासको खाका बनाई राष्ट्रलाई नै मार्गनिर्देश गर्ने गरी म प्रदेशमा झरेको छु,’ पोख्रेलले भने, ‘अर्थतन्त्रको विकाससँगै आम जनताको समृद्धिको खाका बनाउँदैछु । नागरिकलाई गरिवीबाट माथि उठाउने योजना बनाउँदैछु ।’

यसका लागि निजी क्षेत्रसँग सहकार्य र प्रतिस्पर्धाको मान्यताका आधारमा काम गरिने पोखरेलले बताए ।

यस क्षेेत्रका सांस्कृतिक विशेषतालाई पर्यटन विकासको आधारका रुपमा विकास गर्ने, लुम्विनी सभ्यता, थारु, मगर खाम र नाथ सम्प्रदायको रतननाथ केन्द्रलाई पर्यटन विकाससँग जोड्ने योजना उनले बनाएका छन् ।

त्यसैगरी प्रदेशमा खेल मैदान, हरियाली, पिकनिक स्थलसहितका तीनवटा बहुउद्देश्यीय पार्क निर्माण, स्वर्गद्वारीलाई केवुलकारसहित महत्वपूर्ण धाम, पाल्पा र रोल्पाका थवाङ जस्ता महत्वपूर्ण स्थानलाई ऐतिहासिक हिल स्टेशन र स्मारक, बगैंचासहितको सामूहिक स्थल बनाउने उनले सुनाए ।

त्यसैगरी व्यवस्थित दाहसंस्कार स्थलको निर्माणको योजनासमेत रहेको उनले बताए ।

बुटवल-नेपालगञ्ज रेल सेवा, नौमुरे जलविद्युत आयोजनालाई समृद्धिको आधार बनाउने, बिभिन्न खोलामा हाई ड्याम निर्माण गर्ने, सामुदायिक वनमा सिमसार क्षेत्र निर्माण गरी जमिनको चिस्यान बढाउने पोखरेलले बताए ।

त्यसैगरी माडी, शारदा, कालीगण्डकी र भेरी डाइभर्सनमार्फत सिँचाई गरी यस क्षेत्रको कृषि विकासमा टेवा पुर्‍याउने योजना उनको छ ।

वनलाई जडीबुटी, फलफूल र काठ उत्पादनमा उपयोग गर्ने, पहाडी भूभागलाई पशु, जडीबुटी, तरकारी र फलफूल तथा तराईलाई अन्न उत्पादन क्षेत्रका रुपमा विकास गर्ने योजना पोख्रेलले बनाएका छन् ।

विकास र रोजगारीलाई जोडेर पाँच बर्षभित्र युवाहरुलाई बैदेशिक रोजगारीमा जानबाट रोक्ने उनको योजना छ ।

दाङ बस्ती विकासको हिसाबले अत्यन्तै सुन्दर उपत्यका भएकाले यसलाई नमूना बस्तीका रुपमा विकास गर्ने, शिक्षा, स्वास्थ्य, आवास र रोजगारी समतामूलक समाज निर्माणको आधार भएकाले त्यसको परिपूर्तिमा जोड दिने पोख्रेलका योजना छन् ।

प्रदेशको राजधानी दाङमा

मुख्यमन्त्रीका रुपमा काम गर्न पोख्रेल सामु धेरै चुनौतीहरु छन् । हालसम्म प्रदेशको राजधानी कहाँ हुने भन्नेमा ठूलो विवाद छ । मुख्यतः दाङ या बुटवल भन्नेमा ठूलो तानातान छ । एमालेकै नेता बिष्णु पौडेलले बुटवलका लागि लबिङ गरिरहेका बेला पोख्रेलको रोजाइ दाङ छ । र, उनी शुरुदेखि नै यसको लबिङमा छन् ।

अब प्रदेश नं ५ को मुख्यमन्त्री हुँदा राजधानीको मुद्दालाई नेताहरुले कसरी व्यवस्थापन गर्छन् भन्ने मुख्य चुनौती पोखरेलका सामु छ ।

भैरहवा र बुटवललाई पर्यटकीय शहर, नेपालगञ्ज र कोहलपुरलाई औद्योगिक अनि घोराही-तुलसीपुरलाई प्रशासनिक राजधानीसहितको महानगरका रुपमा विकास गर्ने पोखरेल बताउँछन् ।

केपी ओलीले प्रदेशमा किन पठाए ?

केन्द्रमै रहेर पार्टीभित्र राष्ट्रिय एजेण्डाका बहसकर्ताका रुपमा पहिचान बनाएका पोख्रेल अब प्रदेशमा सीमित हुँदा आफ्नो राष्ट्रिय सोच कसरी प्रदेशसँग जोडिन्छ भन्ने प्रश्नमा पनि निकै चिन्तित देखिएका छन् ।

०५० मा जनताको बहुदलीय जनवादलाई सिद्धान्तका रुपमा प्रस्ताव गर्ने पहिलो व्यक्ति आफू नै भएको पोखरेल बताउँछन् । त्यसपछि संविधानसभा, गणतन्त्र जस्ता मुद्दामा चर्को बहस गर्नुका साथै राष्ट्रिय अर्थतन्त्रको खाका प्रस्ताव गर्नेमा उनको अगुवा भूमिका छ ।

बाम गठबन्धनका क्रममा एमाले अध्यक्ष केपी ओली र माओवादी अध्यक्ष प्रचण्डले पोख्रेललाई किन प्रदेशमा पठाए भन्ने प्रश्न सबैको चासोको विषय छ । माओवादी केन्द्रका नेता कृष्णबहादुर महरा र पोख्रेलले जिल्लाको एउटै निर्वाचन क्षेत्र रोजेपछि शीर्ष नेताहरुलाई समस्या भयो । दुवै जनाले संघीय संसदका लागि क्षेत्र नं. २ लाई रोजेका थिए । दुबैजनाले पहिलेदेखि नै यही क्षेत्रमा तयारी गरेका कारण दुबैजना छोड्न तयार थिएनन् । अन्त्यमा दुबै नेतालाई व्यवस्थापन गर्ने क्रममा महरालाई संघ र पोख्रेललाई प्रदेशमा पठाइयो ।

तर, पोख्रेल भने आफूलाई शुरुदेखि नै पार्टी अध्यक्ष ओलीले मुख्यमन्त्री भएर जान प्रस्ताव गरिरहेको बताउँछन् । ‘२ र ५ नं. प्रदेशको अधिकांश भूभाग भारतसँग जोडिएकाले यी क्षेत्रमा भरपर्दो मान्छे पठाउने योजनामा अध्यक्ष हुनुहुन्थ्यो,’ उनले भने, ‘२ नं. प्रदेशमा एमालेले मुख्यमन्त्री पाउने सम्भावना नभएकाले ५ नं. मा जसरी पनि मलाई पठाउन अध्यक्षको जोड भयो । र, म पनि प्रदेशलाई मिनी नेपालका रुपमा विकास गर्ने सोचका साथ आएँ ।’

पोखरेलको जित कति सुरक्षित ?

एमाले नेता पोखरेलले आफ्नो गृहक्षेत्र दाङ २ (ख) छाडेर (क) रोजेका छन् । जुन क्षेत्र उनका लागि नयाँ हो । उनको प्रतिस्पर्धा कांग्रेसका पूर्वजिल्ला सचिव कमलकिशोर घिमिरेसँग हुँदैछ । घिमिरे पहिलोपटक संसदीय चुनावमा सहभागी हुँदैछन् । घिमिरे पनि आफ्नो पकड क्षेेत्र भएको दाबीसहित जित्ने आशामा छन् ।

पोख्रेलसँग अहिले प्रतिस्पर्धा गरिरहेका कांग्रेस उम्मेदवार घिमिरे ०५६ मा विजयी सांसद कृष्णकिशोरका सहोदर भाइ हुन् ।

एमाले नेता पोखरेेल ०५१ सालदेखि चुनावी प्रतिस्पर्धामा छन् । त्यतिबेला साविकको क्षेत्र नं २ मा कांग्रेसका दीपक गिरीसँग चुनाव लडेर विजयी भएका थिए । त्यसबेला कांग्रेस नेता खुमबहादुर खड्काको दव्दवा रहेकाले चुनावका बेला बिजौरीमा गोली काण्ड भयो र तीन एमाले नेताहरुको मृत्यु भयो । तीन दर्जन बढी घाइते भए ।

०५६ को निर्वाचनमा क्षेत्र नं. २ मै कांग्रेसका कृष्णकिशोर घिमिरेसँग पोखरेलको प्रतिस्पर्धा भयो । पार्टी विभाजन भएकाले एमाले कमजोर थियो, त्यसले गर्दा उनी पराजित भए । पोखरेल ०६४ को संविधानसभा निर्वाचनमा समानुपातिक सभासद भए । ०७० को संबिधानसभा निर्वाचनमा क्षेेत्र नं. ४ बाट कांग्रेसका बुद्धिराम भण्डारीसँग पराजित भए ।

पोखरेलले चुनाव लडिरहेको यस क्षेत्रमा ५१ हजार ७ सय मतदाता छन् । स्थानीय तहको मत परिणामलाई हेर्दा बाम गठबन्धनको मत १८ हजार १ र कांग्रेसको ९ हजार ६ सय ५२ छ । मतान्तर ८ हजार ३ सय ४९ छ ।

बनारसदेखि सिंहदरबारसम्म

तुलसीपुरस्थित महेन्द्र हाइस्कूल पढ्दै गर्दा नेविसंघका कार्यकर्तासँगको नियमित झडपका कारण थप अध्ययनका लागि शंकर पोखरेल भारतको बनारस गए । त्यहाँ अखिल भारतीय नेपाली स्वतन्त्र विद्यार्थी यूनियनको पहिलो अध्यक्ष भए । त्यसपछि दाङ आएर माक्र्सवादी अध्ययन समूह बनाएर सैद्धान्तिक बहसमा जुटे ।

पोखरेलले ०४२ सालमा तीन महिना प्यूठान गएर पार्टीका छुटेका सम्पर्कहरु जोड्ने काम गरे । ०४३ मा दाङका जनपक्षीय उम्मेदवारका पक्षमा जिल्लाभर उद्घोषण र भाषण गर्दै हिँडे ।

काठमाण्डौं गएपछि विद्यार्थीको बागमती अञ्चल अध्यक्ष भएर काम गरे । अनेरास्ववियूको केन्द्रीय कोषाध्यक्ष, उपाध्यक्ष हुँदै अध्यक्षसम्म भए ।

अखिलको उपाध्यक्ष भएकै बेला पोखरेल त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पस कीर्तिपुरको स्ववियू सभापति भए । स्ववियू काउन्सिल बनाएर उनी त्यसको पनि अध्यक्ष भए ।

पार्टीको केन्द्रीय सदस्य नै नभएर पनि प्रचार विभाग प्रमुख र मुखपत्र ‘नवयुग’ को सम्पादक भएका पोखरेल त्यसपछि पार्टीको केन्द्रीय सदस्य र सचिव हुँदै हाल स्थायी समिति सदस्य पदमा कार्यरत छन् ।

सरकार सञ्चालनमा सूचना तथा सञ्चारमन्त्री एवं सरकारको प्रवक्ताका रुपमा पनि उनले भूमिका खेले ।

भर्खरै सम्पन्न स्थानीय तह निर्वाचनमा काठमाडौं महानगर र दाङका सबै तहको चुनावी अभियानको पोखरेलले नेतृत्व गरे । धेरैले जित्ने विश्वास नगरेका यी क्षेत्रमा विजयी बनाउन सफल भएको पोखरेल सगर्व बताउँछन् । यो भूमिकाको उनले पार्टीभित्र राम्रै जस पाएका छन् ।

सशस्त्र द्वन्द्वका समयमा ०५७ सालमा राप्तीमा शान्ति पदयात्रा चलाएर पोखरेलले चर्चा पाएका थिए । अनेक जोखिमका बीच राप्तीका पाँचै जिल्लाबाट पदयात्रा थालेर रोल्पाको लिबाङमा समापन गरिएको थियो ।

यसरी राष्ट्रियरुपमा विभिन्न भूमिकामा रहेर काम गरेका पोख्रेलले अब प्रदेश प्रमुखको जिम्मेवारी कत्तिको प्रभावकारी बनाउलान् भन्ने चासो सबैतिर छ ।

Onlinekhabar

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com