डेंगुको प्रकोप बढ्दो एक सातमा २७ जना संक्रमित
प्रकाशित मिति : मंसिर ११, २०७४ सोमबार

मंसिर ११ बाराः निजगढमा लामखुट्टेको टोकाबाट सर्ने डेंगुको प्रकोप फैलिएको छ। डेंगुबाट एक सातामा २५ जना संक्रमित भएका छन्। निजगढ–९ स्थित समुदायमा आधारित प्रसूति गृहमा १८ जना भर्ना भएका छन् ।
अस्पतालको निगरानीमा ७ जनाले उपचार गराईरहेका निजगढ नगरपालिका स्वास्थ्य शाखा प्रमुख रमेश लामाले बताए। अस्पतालमा विरामीको चाप बढेपछि व्यवस्थापन गर्न हम्मेहम्मे परेको छ। एक महिना अघिबाट डेंगु सुरु भए पनि अझैं डेंगु नियन्त्रणमा आउन सकेको छैन ।
निजगढ–८ बकैया टोल सबैभन्दा बढी प्रभावित भएको छ । स्थानीय कृष्णप्रसाद दंगाल परिवारका तीन जना सहित १५ जनालार्इ संक्रमण भएको छ। डेंगुको बिरामी ह्वात्तै बढेपछि निजगढ नगरपालिकाका प्रमुख सुरेशकुमार खनालले प्रसूति गृहमा पुगेर विरामीसंग भेटेर स्वास्थ्य अवस्था बारे जानकारी लिएका छन्। प्रमुख खनालले महामारी घोषणा गरि डेंगु फैलिन नदिन जिल्ला जनस्वाथ्य कार्यालयलाई आग्रह गरिएको बताए।
डेंगुको प्रकोप पूर्वपश्चिम राजमार्गका आसपासका बस्ती बढी प्रभावित भएको हो। स्वास्थ्य कार्यालयको प्राविधिक टोलीबाट राजमार्ग आसपासमा स्प्रे गर्ने तयारी निजगढ नगरपालिकाका प्रशासकिय अधिकृत भरतचन्द्र अधिकारीले जानकारी दिए।
एडिस एजिप्टाई नामक पोथी लामखुट्टेले यो रोग सार्छ। सङ्लो पानीमा अण्डा पार्ने यो लामखुट्टेले खासगरी बिहान र बेलुकाको समयमा टोक्छ। डेंगु संक्रमितलाई टोकेको लामखुट्टेले स्वस्थ व्यक्तिलाई टोक्यो भने यो रोग सर्छ। संक्रमित व्यक्तिबाट यो रोग सर्दैन। डेंगुको मुख्य लक्षण भनेकै ज्वरो आउनु हो। शुरुमा सामान्य ज्वरो आए पनि १ सय ५ डिग्रीसम्म ज्वरो आउने र ढाड र मासंपेशी करकरी खाने जस्ता लक्षण देखिने सम्वन्धित डाक्टरहरु बताउछन्। यो भाइरसको खास उपचार छैन। यसमा देखिएका लक्षणहरुका आधारमा सहायतात्मक उपचार गरिन्छ। शरीरमा प्लेटलेट्सको संख्या चिन्ताजनक अवस्थामा झर्छ। यसबाट जोगिने उपाय भनेकै एडिस एजिप्टाई लामखुट्टेको टोकाइबाट बच्नु हो। लामखुट्टेलाई भगाउन क्रिम, क्वाइल रिप्ल्यान्ट आदिको प्रयोग गर्नुपर्छ, पूरा शरीर ढाकिने कपडा लगाउनुकसाथै जुलको प्रयोग गर्नुपर्छ ।