मतदान स्थलमै शक्तिशाली बम विष्फोट
प्रकाशित मिति : मंसिर ९, २०७४ शनिबार

ताप्लेजुङ, ९ मंसिर/ आइतबार हुन लागेको प्रदेश र प्रतिनिधिसभाको चुनावका लागि मतदान केन्द्र रहेको स्थलमा समयमा बम बिस्फोट भएको प्रहरीले जनाएको छ।
मतदाता लाइन लाग्ने ठाउँ बनाउनका लागि बाँस गाड्ने क्रममा जमिनमुनि गाडिराखेको बम विस्फोट भएको मतदान केन्द्रका मतदान अधिकृत कुवेर नेपालीले बताए ।
ठूलो आवाजसहित बम विस्फोट भए पनि मानवीय क्षति भने भएको छ्रन । तर, नजिकै मतदाता परिचय पत्र वितरण गरिरहेका कर्मचारीको श्रवण शक्तिमा भने समस्या आएको अधिकृत नेपालीले बताए ।
विद्यालयको भवन अघि खेलमैदानमा म्यादि प्रहरी, कर्मचारीसहित सुरक्षा निकाय मतदान केन्द्र निर्माणमा जुटिरहेको समयमा जमिनमुनि गाडेको खाना पकाउने भाँडा बम विस्फोट भएको प्रहरीले बताएको छ । बम पहिलेनै गाडिएको र अहिले खन्ने क्रममा प्रेसर हुँदा पड्किएको हुन सक्ने प्रहरीको भनाइ छ ।
चुनाव बहिस्कारमा रहेको विप्लब नेतृत्वको नेकपाले बम राखेको आशंका गरिए पनि नेकपाका ताप्लेजुङ ईन्चार्ज आसिसले बम विस्फोटका विषयमा आफूलाई जानकारी नभएको भन्दै घटनामा आफ्नो पार्टीको संलग्नता नरहेको बताए ।काम गरिरहेको समय बम पड्किएपछि काम छाडेर कर्मचारी कार्यस्थलबाट बाहिर निस्किएका छन् । बम विस्फोट भएको स्थानको नेपाली सेना, ससस्त्र प्रहरी, नेपाल प्रहरीको टोलीले अनुसन्धान गरिरहेको छ ।