प्रचण्ड, केपी र चित्रबहादुर केसीले गल्कोटमा एउटै मञ्चबाट सम्बोधन गर्ने


प्रकाशित मिति : कार्तिक २८, २०७४ मंगलबार

कात्तिक २८, बागलुङ । आगामी कात्तिक ३० गते बागलुङ जिल्लाको गल्कोटमा हुने संयुक्त चुनावी आमसभालाई सम्बोधन गर्न प्रमुख तीन वाम दलका अध्यक्ष गल्कोटमा उपस्थित हुने भएका छन् ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले सभालाई सम्बोधन गर्ने कार्यक्रम छ । गल्कोट नगरपालिका–३ स्थित गल्कोट बहुमुखी क्याम्पस परिसरमा हुने आमसभाको तयारी तीव्र पारिएको छ ।

आसन्न प्रतिनिधि र प्रदेशसभा चुनावमा वाम गठबन्धनको पक्षमा चुनावी माहोल सिर्जना गर्न आमसभाको आयोजना गरिएको हो । तीनै दल सम्मिलित चुनाव परिचालन जिल्ला संयोजन समितिको आयोजनामा हुने आमसभामा जनगायक जीवन शर्मा र विष्णु खत्रीको विशेष सांगीतिक प्रस्तुति रहने समितिका सदस्य ज्ञामनाथ गैरे ‘अनिल’ ले जानकारी दिए। आमसभाको प्रचारप्रसार र व्यवस्थापनको काम अघि बढेको उनको भनाइ छ ।

जिल्लाको मध्य क्षेत्र गलकोटमा हुने आमसभामा हजारौँको सहभागिता रहने जिल्लास्तरीय नेताहरुको दाबी छ । “आमसभालाई व्यवस्थित बनाउन तयारी अघि बढेको छ, प्रचारप्रसार गरिरहेका छौँ”, समितिका सदस्य गैरेले भने ।
प्रतिनिधि र प्रदेश गरी एक–एक क्षेत्र एमाले र माओवादी केन्द्रले पाएका छन् भने राष्ट्रिय जनमोर्चाले दुई प्रदेशसभा सदस्यमा उम्मेदवारी दिएको छ । वाम गठबन्धनको प्रमुख प्रतिस्पर्धी नेपाली काँग्रेस भने एक्लै चुनावी मैदानमा उत्रेको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com