कम्युनिष्ट केन्द्र सम्भव छैन,प्रचण्ड पनि मेरै बाटोमा आउँछन्ः बाबुराम


प्रकाशित मिति : कार्तिक २८, २०७४ मंगलबार

२८ कात्तिक, काठमाडौं । नयाँ शक्ति पार्टीका संयोजक तथा गोरखा क्षेत्र नं. २ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार डाक्टर बाबुराम भट्टराईले कम्युनिष्ट केन्द्र सम्भव नभएको बताएका छन् ।

गोरखाको पालुङटार नगरपालिका-९ शेरा बजारमा आयोजित कार्यक्रमलार्इ सम्बोधन गर्दै संयोजक भट्टरार्इले अन्ततः प्रचण्ड पनि आफ्नै बाटोमा आउने दावी  समेत गरे ।

आफूसँग एक्लै भेट्दा प्रचण्डले खुलेरै तपाईकै बाटो ठीक छ भनिसकेको भन्दै प्रचण्डलाई माओवाद छोडिहाल्न दकस मात्रै लागेको  उनले बताए ।  ‘प्रचण्डजीले त एक्लैमा कुरा गर्दा खुलेरै बाटो त तपाईंकै ठीक हो, कुनै दिन हाम्रो भेट हुन्छ भन्नु भएको छ ।’ उनले भने ।

धोती फेरेर मात्रै भात खाने ब्राहृमण सँस्कृति अनुसार सुरुमा त्यतिकै खादा दकस लाग्ने गरेको तर पछि विस्तारै बानी परेको उल्लेख गर्दै माओवादीलाई पनि अहिले त्यस्तै भएको बताए ।

‘धोती नफेरी खाँदा सुरुसुरुमा बुढाहरुलाई दकस पनि लाग्यो तर पछि बिस्तारै बानी पर्यो,’ उनले भने,’अहिले माओवादी साथीहरुलाई त्यस्तै भएको छ, छोडिहाल्न दकस पनि लागेको छ, भित्रैदेखि छोड्न मन पनि लागिरहेको छ ।’

सुरुमै माओवाद छोड्न दकस लागेर नै प्रचण्डले बाहिरबाहिर कम्युनिष्ट केन्द्र निर्माणको कुरा गर्ने गरेको बाबुरामको टिप्पणी छ ।

राजनीतिक रुपमा पनि सबैले बहुदलीय व्यवस्था स्वीकार गरिसकेको र आर्थिक रुपमा पनि राज्य नियन्त्रित अर्थतन्त्र सम्भव नभएको बाबुरामको भनाइ छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com