के कुरा भयो प्रचण्ड–मोदी गोप्य वार्तामा ?


प्रकाशित मिति : आश्विन २, २०७३ आईतबार

प्रधानमन्त्री प्रचण्डसँग शुक्रबार भएको व्यक्तिगत र औपचारिक वार्ताका आरम्भमा भारतीय समकक्षी नरेन्द्र मोदीले नेपाल–भारत सम्बन्ध गंगा र हिमालयबाट निर्धारित रहेको बताएका थिए । उच्च स्रोतका अनुसार मोदीले यो सम्बन्ध सुदृढ पार्ने दायित्व वर्तमान नेतृत्वले लिनुपर्ने भन्दै प्रचण्डको पनि समान दृष्टिकोण देखेर आफू प्रभावित भएको बताएका थिए ।

‘नेपाल–भारत सम्बन्ध परिपूर्ण बनाउँ, दुवै पक्षलाई लाभ हुन्छ,’ मोदीको भनाइ थियो । प्रधानमन्त्री प्रचण्डले मोदीलाई धार्मिक र राजनीतिक भ्रमणका लागि दिएको निम्तोको जवाफमा मोदीले छिटै समय मिलाउने पनि बताएका छन् । भेटमा मोदीको भनाइ उद्धृत गर्दै स्रोतले भन्यो, ‘अहिले राष्ट्रपतिजी जाँदै हुनुहुन्छ, यो सफल पारौँ । म पनि नेपाल भ्रमणको समय जुराउनेछु ।’ दुवै प्रधानमन्त्रीबीच हटलाइनमा रहेर आपसी समस्या समाधान गर्ने सहमति भएको छ । यसबारे मोदीको भनाइ उद्धृत गर्दै स्रोतले भन्यो, ‘यसलाई चाँडै नै व्यवस्थित बनाउन म हरसम्भव कोसिस गर्नेछु ।’

डिपिआरमा मोदीको जोड

भारतीय प्रधानमन्त्री मोदीले माथिल्लो कर्णाली, सप्तकोसी उच्च बाँध र पञ्चेश्वरको नाम नै लिएर डिपिआर (विस्तृत परियोजना प्रतिवेदन) तयार गर्न नेपालसँग आग्रह गरेका छन् । ‘पहिला डिपिआर तयार गरौँ, त्यसपछि शीघ्र कार्यान्वयनमा जोड दिउँ, भारत आफ्नोतिरको सबै समस्या समाधान गर्न तयार छ, तपाईँहरू पनि गर्नुहोस्,’ मोदीको भनाइ उद्धृत गर्दै एक नेपाली अधिकारीले भने ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

१९५० को सन्धि संशोधनको प्रस्ताव ल्याउन आग्रह

भारतीय प्रधानमन्त्री मोदीले सन् १९५० को सन्धिमा के–के संशोधन गर्ने भन्ने विषय समेटेर प्रस्ताव ल्याउन आग्रह गरेका छन् । यसअघि सन् २०१४ मा नेपाल भ्रमण गर्दा पनि मोदीले यही भनेका थिए । स्रोतका अनुसार प्रचण्डसँग मोदीको भनाइ थियो, ‘के–के संशोधन गर्ने हो, प्रस्ताव ल्याउनुस्, आपसी हित र सम्बन्ध सुदृढ हुने गरी जे गर्नुपर्छ, गरौँला ।’ उनले प्रबुद्ध समूहले जनताबीचको सम्बन्ध परिवर्तित हुने गरी प्रस्ताव ल्याउने पनि अपेक्षा व्यक्त गरेका थिए । मोदीले एकीकृत जाँच चौकीमा नेपालतिरको समस्या समाधान गर्न आग्रह गरेका छन् । मोदीले सीमापार रेल्वेका लागि नेपालतर्फ जग्गा अधिग्रहणलगायतको समस्या समाधान गर्न पनि आग्रह गरे । पेट्रोलियम र ग्यास पाइपलाइनमा संयुक्त रूपमा काम गर्न र नयाँ सम्भावना खोज्न पनि मोदीले आग्रह गरेको स्रोतले बतायो ।

काठमाडौं–लुम्बिनी रेल सर्भे प्रस्ताव

प्रचण्डसँग मोदीले काठमाडौं–लुम्बिनी रेल्वे लाइनको सर्भेका लागि बैठकमा प्रस्ताव गरेका थिए । नेपाल र चीनबीच चीनले सर्भे गर्ने सहमति यसअघि नै भइसकेको छ । ‘हामीलाई यो आग्रह गर्नुहुन्छ भने कार्यान्वयनका लागि तयार छौँ,’ मोदीको भनाइ उद्धृत गर्दै एक अधिकारीले भने ।

व्यापार सम्झौता स्वतः नवीकरण

मोदीले व्यापार सम्झौता आगामी महिना (अक्टोबर)देखि सात वर्ष स्वतः नवीकरण हुने बैठकमा बताएका थिए । यसअघि कर्मचारीस्तरमा सहमति भए पनि नेपाल पक्ष ढुक्क थिएन ।

सडक र ऊर्जामन्त्रीलाई निर्देशन

मोदीले भारतको सडक पूर्वाधार तथा ऊर्जामन्त्रीलाई नेपाल–भारत संयुक्त परियोजना तीव्र गतिमा अघि बढाउन आफूले निर्देशन दिइसकेको बैठकमा बताएका नयाँ पत्रिकामा खबर छ ।

कोसी र गण्डकमा फेरी सञ्चालन

मोदीले हल्दियाबाट नेपालको कोसी र गण्डकमा फेरी सञ्चालनका लागि संयुक्त रूपमा काम गर्न प्रस्ताव गरेका छन् । मोदीको भनाइ थियो, ‘हामी भारतलाई जोडिरहेका छौँ, नेपाललाई पनि जोड्न सकिन्छ भन्ने लागेको छ । मिलेर काम गरौँ ।’

लुम्बिनीमा युरोपजस्तै सहकार्य

मोदीले बुद्धको जन्मभूमि लुम्बिनीविना बुद्ध सर्किट सम्पन्न नहुने भन्दै मिलेर काम गर्न प्रस्ताव गरेका थिए । दुईपक्षीय बैठकमा मोदीको भनाइ उद्धृत गर्दै एक अधिकारीले भने, ‘युरोपको सर्किटजस्तै भारत र नेपालबीच बुद्ध सर्किट बनाउँ, एक–अर्कालाई जोडौँ, लुम्बिनीविना बुद्ध सर्किट पूरा हुँदैन, यसमा मिलेर काम गरौँ, नयाँ सम्भावना पहिल्याउँ ।’

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com