काठमाडौमा बालाचतुर्दशीलाई लक्ष्यित गरी महायज्ञ सुरु
प्रकाशित मिति : कार्तिक २६, २०७४ आईतबार

कात्तिक २६, काठमाडौं विश्वशान्ति अभियान नेपालले एक सय आठ पटक भागवत लगाउने क्रममा शनिबारदेखि सुरु गरेको १४औं महायज्ञ बालाचतुर्दशीलाई लक्षित गरी सुरु गरेको छ।
आचार्य भागवतकिंकर मुरलीधर पोखरेलले सामाखुसीस्थित इच्छेश्वर महादेवको मन्दिरमा श्रीमद्भागवत सप्ताह सुरु गरेको जानकारी दिए। इच्छेश्वर महादेव मन्दिर समिति, पोर्पा मिसा पुचः र एमिटी विट्स एजुकेसन स्कुलको सहयोगमा सुरु गरिएको सप्ताहबाट उठेको रकम काठमाडौंमा बनाइने भागवतधाम आश्रम तथा भागवत विद्यालय निर्माणमा खर्च गरिने पोखरेलको भनाइ छ।
मंसिर २ गतेसम्म सञ्चालन हुने सप्ताहमा मंसिर १ गते साँझ सबैका तर्फबाट आफ्ना पितृको सम्झनामा र परिवारको सुख र शान्तिका लागि सवा लाख बत्ती प्रज्वलन गर्ने कार्यक्रम रहेको उनले जानकारी दिए। आचार्य रामचन्द्र पौडेलले कथा वाचन गर्ने सप्ताहमा पितृ पुजन, मण्डप पुजन, पाठ पारायणका साथै राष्ट्रिय कलाकारबाट भक्तिसंगीत प्रस्तुत हुने जनाइएको छ ।