विदेशिने १० हजार युवालाई निःशुल्क तालिम
प्रकाशित मिति : कार्तिक २४, २०७४ शुक्रबार

२४ कात्तिक, काठमाडौं । हातमा कुनै सीप नभए पनि विदेश जाने तयारीमा हुनुहुन्छ रु केही समय पर्खनुस्, विदेशमा आफूलाई सजिलो होस् भन्ने भने सरकारले निःशुल्क दिने सीपमूलक तालिम लिएर विदेश जान सक्नुहुन्छ ।
सरकारले यो वर्ष पनि वैदेशिक रोजगारीमा जाने १० हजार युवालाई निःशुल्क सीपमूलक तालिम दिने भएको छ । वैदेशिक रोजगार प्रवर्द्धन बोर्डले विदेश जान चाहाने युवालाई विभिन्न १३ किसिमका सीपमूलक तालिम दिने तयारी गरेको हो ।
बोर्डले निर्माण, होटल, सेक्युरिटी लगायतका विधाका तालिमहरु सञ्चालन गर्ने तयारी गरेको बोर्डका कार्यकारी निर्देशक रघुराज काफ्लेले अनलाइनखबरलाई जानकारी दिए ।
अदक्ष र अर्धदक्ष युवा जनशक्तिले विदेशमा बेर्होनुपरेको दुःख र पीडालाई ध्यान दिएर तालिम सञ्चालन गर्न लागिएको बोर्डले जनाएको छ । ‘तालिम नलिई विदेश जाने युवाको आम्दानी राम्रो हुँदैन । सीप भएका युवालाई ठूलो दुःख भोग्नु नपर्ने अवस्था छ । त्यसैले यो वर्ष पनि १० हजार युवालाई तालिम दिने योजना ल्याएका हौं,’ बोर्डका कार्यकारी निर्देशक काफ्लेले भने ।
युवाहरुलाई निर्माण तर्फ सहयक इलेक्ट्रिसियन, प्लम्बर, मेशन, स्टिल फिक्चर, सटरिङ कार्पेन्टर, स्काफोल्डिङ र हाउस वायरिङको तालिम निशुल्क दिइनेछ ।
हेटलतर्फ कुक, वेटररवेट्रेस, हाउस किपिङ, र कफी मेकरको तालिम सञ्चालन हुनेछ भने टेलरिङ र सेक्युरिटी गार्डको तालिम पनि इच्छुक युवाले पनि अवसर पाउने छन् ।
बोर्डले तालिम सञ्चालन गर्न आशयपत्र माग गरेर तालिम प्रदायक संस्था छनोट अघि बढाएको छ ।
केही समयपछि नै तालिम सञ्चालन गर्ने संस्थाको छनौट गरिने काफ्लेले बताए । देशभरका १० हजार युवाहरुलाई एक महिने तालिम दिने योजना छ ।
केही विशेष तालिम लिन चाहने युवालाई निःशुल्क आवासीय सुविधा पनि दिइने छ । झण्ण्डै १५ सय युवालाई खाने बस्ने सुविधासहितको तालिम दिने योजना छ । ग्रामीण तथा विकट क्षेत्रका युवाहरुलाई ध्यानमा राखेर देशका प्रमुख शहरहरुमा निःशुल्क खाने तथा बस्ने सुविधा दिइने बोर्डले जनाएको छ ।
तालिम सञ्चालनमा विभिन्न दातृ निकायले पनि आर्थिक तथा प्राविधिक सहयोग गर्नेछन् । अघिल्लो आर्थिक वर्ष ०७३र०७४ मा पनि बोर्डले १० हजारलाई तालिम प्रदान गरको जनाएको छ ।
२०७४ कार्तिक २४ गते प्रकाशित
onlinekhaber