ज्येष्ठनागरिकलाई घरमै स्वास्थ्य सेवा


प्रकाशित मिति : कार्तिक २४, २०७४ शुक्रबार

कार्तिक २४, २०७४ नजिकिदै गएको प्रतिनिधिसभा र प्रदेशसभा चुनावको बेला उम्मेदवार घरदैलो कार्यक्रममा व्यस्त हुँदा काठमाडौको तारकेश्वर नगरपालिकामा भने डाक्टर भने घरदैलो अभियानमा लागेका छन् । नगरका ज्येष्ठ नागरिकलाई स्वास्थ्य सेवा दिन उनीहरू घरसम्मै पुगेका हुन् ।

८०वर्ष काटेका ज्येष्ठ नागरिकलाई नगरपालिकाले नगरभित्रका घरमै गई स्वास्थ्य सेवा दिन सुरु गरेको हो । नगरप्रमुख रामेश्वर बोहराले बिहीबार ‘वृद्धवृद्धालाई सम्मान, घरघरमा स्वास्थ्य सेवाको अभियान’ कार्यक्रमको उद्घाटन गरे ।

साङ्ला वडा नं। १ बाट अभियान सुरु भएको छ । यसलाई नगरभरि नै विस्तार गरिने नगरपालिकाले जनाएको छ । प्रथम नगर परिषद्बाट पारित बजेटको स्वास्थ्य नीति तथा कार्यक्रममा यो अभियानलाई समावेश गरिएको थियो । अभियानअन्तर्गत विभिन्न वडाका ज्येष्ठ नागरिकको घरसम्मै पुगेर ५ डाक्टर र अनमीहरूले स्वास्थ्य जाँच गरी आवश्यक औषधि दिने बतइएको छ । ‘रगत, दिसापिसाब, मधुमेह, रक्तचाप जाँच र ईसीजी सेवा दिएका छौं,’ डाक्टर पुष्पराज रिजालले भने । नगरपालिकाले यसका लागि स्वास्थ्य केन्द्रमा दरबन्दी भएका डाक्टरसहित एक डाक्टरलाई नियुक्त गरेको छ । तीन जनासँग दुई वर्षका लागि करार सम्झौता गरिएको नगरपालिकाले जनाएको छ ।

विभिन्न रोगका ५८ प्रकारका औषधि निस्शुल्क वितरण गरिनेछ,’ वडा नं। १ का वडाध्यक्ष सापकोटाले भने, ‘परीक्षण गरिएका सबै ज्येष्ठ नागरिकको स्वास्थ्यको रेकर्ड राखिनेछ ।’ उक्त वडामा ८० भन्दा माथिका ६७ जना छन् । डाक्टर, अहेबसहित नगरको विकट स्थानमा जनप्रतिनिधि आफैं पनि खटिने सापकोटाले बताए । उनले यस कार्यक्रमका लागि वडाले एक लाख रुपैयाँ छुट्याएको जानकारी दिए । यसको मुख्य उद्देश्य नागरिकलाई राज्यले अपनत्व अनुभव गराउनु रहेको कार्यकारी अधिकृत अग्निप्रसाद अधिकारीको बताएका छन् ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com