अमेरिकाको मिसिसिपी नदीमा ट्याङ्करको ठक्करबाट क्रुज जहाज पल्टियो, ३२ घाइते, ठुलो क्षति टर्यो
Photo: Justin Wilkens/ Unsplash
अमेरिकाको न्यु अर्लिन्स बन्दरगाह नजिकै मिसिसिपी नदीमा शुक्रबार एक ट्याङ्करले नदीमा चल्ने क्रुज जहाजलाई ठक्कर दिँदा यात्रुवाहक जहाज पल्टिएर अधिकांश भाग पानीमा डुबेको छ। यद्यपि, दुवै जहाजमा सवार सबैको सकुशल उद्धार गरिएको र कुनै मानवीय क्षति नभएको अधिकारीहरूले बताएका छन्।
न्यु अर्लिन्स बन्दरगाहका अनुसार स्थानीय समयअनुसार शुक्रबार दिउँसो करिब १२:३० बजे ‘एट्लान्टिक अस्फाल्ट’ नामको विशाल ट्याङ्करले किनारामा रोकिएको ‘अमेरिकन हेरिटेज’ नामक प्याडलह्विल क्रुज जहाजलाई ठक्कर दिएको थियो। यात्रुहरूलाई ओराल्नका लागि उक्त क्रुज जहाज करिब दुई घण्टाअघि मात्र त्यहाँ रोकिएको थियो।
शुक्रबार अबेर दिउँसो आयोजित पत्रकार सम्मेलनमा न्यु अर्लिन्सकी मेयर हेलेना मोरेनोले क्रुज जहाजका ३२ जना यात्रुलाई उपचारका लागि स्थानीय अस्पताल लगिएको र कसैको पनि अवस्था गम्भीर नरहेको जानकारी दिनुभयो। ट्याङ्करमा सवार कसैलाई पनि चोटपटक लागेको छैन। न्यु अर्लिन्स हार्बर प्रहरी प्रमुख मेलानी मोन्ट्रोलका अनुसार उद्धार कार्यका क्रममा आफ्ना दुई जना प्रहरी अधिकारीसमेत घाइते भई अस्पताल भर्ना भएका छन् र उनीहरूको अवस्था सामान्य छ।
बन्दरगाह प्रशासनका अनुसार दुर्घटनाका बेला ‘अमेरिकन हेरिटेज’ मा चालक दलका सदस्यबाहेक करिब १२९ जना यात्रु सवार थिए। मेयर मोरेनोका अनुसार ट्याङ्करले नियन्त्रण गुमाएर क्रुज जहाजलाई ठक्कर दिएको थियो। यात्रुहरू ओर्लने क्रममै जहाज डुब्न थालेको र अन्ततः कोल्टिएर पल्टिँदा मानिसहरू पानीमा खसेका थिए। मेयर मोरेनोले यस सफल उद्धार कार्यलाई ‘मिसिसिपीको चमत्कार’ को संज्ञा दिनुभएको छ।
दुर्घटनालगत्तै केही मानिसहरू लाइफ ज्याकेट लगाएर पानीमा तैरिरहेका र केही जहाजको रेलिङमा झुन्डिएका देखिएका थिए। नजिकै रहेका निजी डुङ्गाहरूले पानीबाट एक दर्जनभन्दा बढीको उद्धार गरेका थिए। उद्धार तथा राहत कार्यमा बन्दरगाह प्रहरी, न्यु अर्लिन्स अग्नि नियन्त्रण विभाग, प्रहरी विभाग र अमेरिकी तटरक्षक बल सँगै नदीमा रहेका निजी डुङ्गाहरूसमेत स्वयम्सेवकका रूपमा खटिएका थिए।
प्रत्यक्षदर्शी जेमी होल्फोर्डका अनुसार ठक्करपछि जहाज बन्दरगाहको किनारामा बजारिएको र यात्रुहरू हतारहतार बाहिर निस्किरहेका थिए। जहाज पल्टिँदा मानिसहरू रेलिङ नाघेर भाग्दै थिए, यो दृश्य ‘टाइटानिक’ चलचित्रको जस्तै देखिन्थ्यो,” उनले भने। ठक्करको आवाज युद्धको चलचित्रमा जस्तै टनका टन फलाम कच्याककुचुक भएको जस्तो सुनिएको उनले बताए।
अमेरिकी तटरक्षक बलकी क्याप्टेन मेलानी बर्नहमले ट्याङ्कर अनियन्त्रित हुनुको कारण पत्ता लगाउन अनुसन्धान भइरहेको बताएकी छिन्। प्रारम्भिक चरणमा स्टेयरिङमा समस्या आएको हुन सक्ने देखिएको उनको भनाइ छ। राष्ट्रिय यातायात सुरक्षा बोर्डले पनि घटनाको अनुसन्धानका लागि शनिबार विशेष टोली पठाउने जनाएको छ। दुर्घटनापछि बन्द गरिएको नदीको जलमार्ग पुनः सञ्चालनमा ल्याउन मूल्याङ्कन भइरहेको बर्नहमले जानकारी दिएका छन्।
यता, राष्ट्रपति डोनाल्ड ट्रम्पले सामाजिक सञ्जाल ‘ट्रुथ सोसल’ मार्फत लुजियानामा भएको जहाज दुर्घटनामा तटरक्षक बल र अन्य सुरक्षा निकायले गरेको अद्भुत उद्धार कार्यको प्रशंसा गरेका छन्।
सन् २०१५ मा निर्मित पाँच तले ‘अमेरिकन हेरिटेज’ क्रुज जहाज ‘अमेरिकन क्रुज लाइन्स’ द्वारा सञ्चालित छ, जसको क्षमता १५० यात्रु रहेको छ। एसोसिएटेड प्रेसका अनुसार अस्फाल्ट र बिटुमिन बोक्ने उक्त ट्याङ्कर चिनियाँ सरकारी कम्पनी ‘चाइना स्टेट शिपबिल्डिङ कर्पोरेसन’ को सहायक कम्पनीको स्वामित्वमा रहेको छ।





