अमेरिकामा बेरोजगारी भत्ताका लागि २ लाख निवेदन, समग्र श्रम बजार भने स्थिर
Photo: Sasun Bughdaryan /Unsplash
गत साता बेरोजगारी भत्ताका लागि निवेदन दिने अमेरिकीहरूको संख्यामा सामान्य वृद्धि भएको छ । यद्यपि, बेरोजगारीको दाबी ऐतिहासिक रूपमै न्यून स्तरमा रहेको, कर्मचारी कटौती निकै कम हुने गरेको र अधिकांश श्रमिकहरूले असामान्य रूपमा बलियो रोजगारी सुरक्षाको अनुभव गरिरहेका छन् ।
अमेरिकी श्रम मन्त्रालयले बिहीबार सार्वजनिक गरेको तथ्याङ्कअनुसार गत साता बेरोजगारी भत्ताका लागि निवेदन दिनेको संख्या २ लाख पुगेको छ । अघिल्लो साता संशोधित तथ्याङ्कअनुसार यो संख्या १ लाख ९१ हजार रहेको थियो । अर्थशास्त्रीहरूले १ लाख ९५ हजार निवेदन पर्न सक्ने प्रक्षेपण गरेकोमा वास्तविक संख्या त्योभन्दा केही बढी देखिएको हो । साप्ताहिक उतारचढावलाई सन्तुलनमा राखेर हेरिने चार साताको औसत दाबी संख्या भने १ लाख ९५ हजार २५० मै स्थिर रहेको छ ।
बेरोजगारी भत्ताका लागि पर्ने निवेदनलाई कर्मचारी कटौतीको सूचकका रूपमा हेरिन्छ । श्रम बजार कता जाँदै छ भन्ने संकेत दिने भएकाले अर्थशास्त्रीहरूले यसलाई निकै नजिकबाट नियाल्ने गर्छन् ।
यस वर्षको हालसम्मको अवधिमा बेरोजगारी दाबी ऐतिहासिक रूपमै न्यून विन्दुमा सीमित छ, जुन कुनै पनि एक सातामा २ लाख ३० हजारभन्दा माथि पुगेको छैन । लगातार नौ सातादेखि यो संख्या २ लाख वा सोभन्दा तलै रहेको छ ।
यस वर्ष हालसम्म निजी कम्पनी, सरकारी निकाय तथा गैरनाफामूलक संस्थाहरूले मासिक औसत ८६ हजार नयाँ रोजगारी सिर्जना गरेका छन्, जसमा गत महिनाको १ लाख ६५ हजारको उल्लेखनीय वृद्धि पनि समावेश छ । ऐतिहासिक मापदण्डका आधारमा यो वृद्धिदर सामान्य देखिए पनि सन् २०२५ को कमजोर अवस्थाको तुलनामा भने यो निकै सुधारिएको स्थिति हो । सन् २०२५ मा उच्च ब्याजदर र राष्ट्रपति डोनाल्ड ट्रम्पको अनिश्चित व्यापार नीतिका कारण रोजगारदाताहरू हतोत्साही हुँदा मासिक औसत रोजगारी सिर्जना केवल ९ हजार ७०० मा सीमित भएको थियो ।
उपभोक्ता खर्चमा कायम रहेको लचकता र कृत्रिम बौद्धिकता क्षेत्रमा भएको तीव्र लगानी वृद्धिका कारण समग्र आर्थिक वृद्धिदरले गति लिएको छ ।





