क्यालिफोर्नियामा १८ औँ राज्यका रूपमा बालविवाहमाथि प्रतिबन्ध: पीडित र अधिकारकर्मीद्वारा स्वागत
प्रकाशित मिति : १५ आश्विन २०८३, बिहिबार
Photo: Ben Moreland/ Unsplash
अमेरिकाको क्यालिफोर्निया राज्यमा बालविवाहमाथि पूर्ण रूपमा प्रतिबन्ध लगाइएको छ। गभर्नर ग्याभिन न्युसमले नाबालिग विवाह अन्त्य गर्ने सम्बन्धी नयाँ विधेयकमा हस्ताक्षर गरेपछि यो कानुन बनेको हो। अमेरिकाका ३२ राज्यहरूमा अझै पनि कुनै न कुनै रूपमा बालविवाह कानुनी रहेको अवस्थामा क्यालिफोर्नियाले यो कदम चालेको हो।
आगामी १ जनवरीदेखि लागू हुने यस नयाँ कानुन अनुसार क्यालिफोर्नियामा विवाह गर्नका लागि उमेर कम्तीमा १८ वर्ष पुगेको हुनुपर्नेछ।
विधेयक प्रमाणीकरण गर्दै गभर्नर न्युसमले यसलाई “बालबालिका र नाबालिगहरूको सुरक्षाका लागि धेरै पहिले नै हुनुपर्ने एउटा महत्त्वपूर्ण कदम” भनेका छन्। विधेयकमा हस्ताक्षर गर्ने क्रममा उनीसँगै अधिकारकर्मी कोर्टनी स्टोडन पनि उपस्थित थिइन्। स्टोडन १६ वर्षको छँदा उनका आमाबाबुको सहमतिमा ५० वर्षीय हलिउड अभिनेता डग हचिसनसँग उनको विवाह गराइएको थियो।
बालविवाहविरुद्ध निरन्तर अभियान चलाउँदै आएकी स्टोडनले यो निर्णयलाई “ठूलो जित” भनेकी छन्। उनले बालविवाहका पीडितहरूले यस्तो मानसिक र सामाजिक बोझ कहिल्यै उठाउनु नपर्ने वातावरण बन्नुपर्ने बताइन्। अमेरिकाका ५० वटै राज्यमा बालबालिकालाई विवाहबाट पूर्ण सुरक्षा नमिल्नेसम्म आफ्नो लडाइँ जारी रहने उनको भनाइ छ। स्टोडन र हचिसनको सन् २०११ को विवाहले अन्तर्राष्ट्रिय रूपमा ठूलो विवाद र चर्चा सिर्जना गरेको थियो।
यसैगरी बालविवाहबाट पीडित अन्य व्यक्तिहरूले पनि नयाँ कानुनको स्वागत गरेका छन्। पूर्व ‘चाइल्ड ब्राइड’ ब्रिटनी बीले भनिन्, “क्यालिफोर्नियाले आज संसारलाई एउटा स्पष्ट सन्देश दिएको छ-आशाको सन्देश, ताकि हाम्रा बालबालिकाहरू संरचनात्मक हिंसाबाट मुक्त हुन सकून् र आफ्नो बाटो आफैं रोज्न सकून्।”
बीका अनुसार उनी १७ वर्षको छँदा घरेलु हिंसाबाट बच्न विवाह गर्न बाध्य भएकी थिइन्, तर विवाहपछि आफ्नै पतिबाट झन् बढी शोषित हुनुपर्यो। “म एउटा जेलबाट उम्केर अर्को जेलमा पुगेकी थिएँ। मानिसहरूले मैले आफ्नै राजीखुसीले निर्णय गरेको भन्दै औंला उठाए, तर बालबालिकाले यस्ता कुरामा सहमति दिन सक्दैनन्,” उनले भनिन्।
करिब एक दशकअघिसम्म अमेरिकाका सबै राज्यहरूमा बालविवाह सम्बन्धी छुटहरू उपलब्ध थिए। तर सन् २०१८ यता राज्यहरूले कानुन संशोधन गर्न थालेका हुन्। बालविवाहमाथि पूर्ण प्रतिबन्ध लगाउने क्यालिफोर्निया १८ औँ अमेरिकी राज्य बनेको छ।
यसअघि क्यालिफोर्नियामा विवाहका लागि तोकिएको निश्चित न्यूनतम उमेर थिएन। अभिभावकको सहमति र न्यायाधीशको स्वीकृति भएमा जुनसुकै उमेरका बालबालिकाको विवाह हुन सक्थ्यो। साथै १८ वर्षमुनिका व्यक्तिहरूका लागि सम्बन्धविच्छेद माग्ने कुनै कानुनी व्यवस्था नहुँदा धेरै बालिकाहरू हिंसात्मक र शोषक सम्बन्धमा फस्न बाध्य थिए।
बालविवाहविरुद्ध कार्यरत संस्था ‘अनचेन्ड्र एट लास्ट’का अनुसार क्यालिफोर्नियामा मात्रै बर्सेनि करिब ९,००० बालबालिकाको विवाह हुने गरेको थियो, जसमध्ये अधिकांश घटनामा नाबालिग बालिकाहरूको विवाह वयस्क पुरुषहरूसँग हुने गरेको थियो।
१५ वर्षको उमेरमा आफूभन्दा दोब्बर उमेरका पुरुषसँग जबर्जस्ती विवाह गराइएकी सारा तस्निमले पनि यो कानुन बनेकोमा खुसी व्यक्त गरिन्। सन् २०१७ देखि यसका विरुद्ध वकालत गर्दै आएकी उनले भनिन्, “यो विधेयक कानुन बनेको देख्न पाउनु एउटा लामो यात्राको सफलता हो। जनवरी १ देखि क्यालिफोर्नियामा बालबालिकाहरू विवाहको शिकार हुनुपर्ने छैन भन्ने सोच्दा धेरै राहत मिलेको छ।”





