अमेरिकाद्वारा २ लाख ५० हजारभन्दा बढी भिसा रद्द: अध्यागमनमा ट्रम्प प्रशासनको कडा कदम
प्रकाशित मिति : १४ आश्विन २०८३, बुधबार
अमेरिकी विदेश मन्त्रालय । (आधिकारिक विदेश मन्त्रालयको तस्बिर लिन्डा डी एपस्टाइन)
अमेरिकाको स्टेट डिपार्टमेन्टले राष्ट्रपति डोनाल्ड ट्रम्पले पदभार ग्रहण गरेयता २५०,००० भन्दा बढी विदेशी नागरिकको भिसा रद्द गरेको छ। गैरकानुनी अध्यागमन रोक्न र अमेरिका प्रवेश गर्ने व्यक्तिहरूको जाँच तथा निरीक्षण प्रक्रियालाई थप कडा बनाउने रणनीतिअन्तर्गत यो कदम चालिएको हो।
भिसा नियम उल्लङ्घन, आपराधिक गतिविधि, अमेरिका वा अमेरिकी नागरिकविरुद्ध हिंसाको उक्साहट, ठगी, अध्यागमन प्रणालीको दुरुपयोग तथा राष्ट्रिय सुरक्षामा खतरा पुर्याएको जस्ता विभिन्न अभियोगमा यी भिसाहरू रद्द गरिएका हुन्।
विदेशी नागरिकले अमेरिकामा जन्माउने बच्चाले स्वतः अमेरिकी नागरिकता पाउने अभ्यासमा संलग्न भएको आरोपमा २,३०० जनाको भिसा रद्द गरिएको छ।
स्टेट डिपार्टमेन्टका प्रवक्ता टमी पिगटका अनुसार भिसा प्राप्त गर्नु अधिकार नभई एउटा विशेषाधिकार मात्र हो। भिसाका सर्तहरू उल्लङ्घन गर्ने जोकोहीले पनि आफ्नो भिसा गुमाउने र राष्ट्रिय सुरक्षाको मामिलामा कुनै सम्झौता नगरिने उनले स्पष्ट पारेका छन्।
स्टेट डिपार्टमेन्टले भ्रष्टाचारको आरोपमा दक्षिण अमेरिकी राष्ट्रहरू-बोलिभिया, कोलम्बिया, इक्वेडर र पेरुका २७ जना वर्तमान तथा पूर्व अधिकारी र तिनका परिवारका सदस्यहरूको भिसा खारेज गरेको छ।
त्यस्तै, असाइलम आवेदनको दुरुपयोग रोक्न सन् २०१६ देखि २०२६ को अवधिमा व्यापारिक र पर्यटकीय भिसामा अमेरिका पुगेर शरणार्थी माग गर्ने करिब २ लाख विदेशी नागरिकको भिसा रद्द गर्ने तयारी भइरहेको छ। अध्यागमन कानुन छल्ने माध्यमका रूपमा शरणार्थी प्रणालीको प्रयोग बढेकाले यस्तो कदम चालिएको बताइएको छ।
यसका साथै, आपराधिक गतिविधिमा संलग्नताका कारण अगस्ट महिनामा मात्रै १ लाख ७५ हजारभन्दा बढी भिसा रद्द गरिएका थिए। मादक पदार्थ सेवन गरी सवारी चलाउनु, कुटपिट, चोरी, लागूऔषध सम्बन्धी अपराध, यौन हिंसा, बाल शोषण र ठगीजस्ता गैरकानुनी कार्यहरू भिसा रद्द हुनुका मुख्य कारण रहेका छन्।





