ट्रम्प प्रशासनको ‘खराबमध्येका अति खराब’ अपराधीको सूचीमा २ नेपाली थप, कुल संख्या १२
प्रकाशित मिति : १४ आश्विन २०८३, बुधबार
न्यूयोर्क — अमेरिकी होमल्यान्ड सेक्युरिटीले अध्यागमन तथा भन्सार प्रवर्तन आइसको कारबाहीमा पक्राउ परेका आपराधिक गैरनागरिकहरूको ‘वर्स्ट अफ द वर्स्ट’ सूचीमा थप दुई नेपाली नागरिकलाई समावेश गरेको छ। निमा तामाङ र दिनेश सापकोटा थपिएसँगै उक्त सूचीमा रहेका नेपाली नागरिकको संख्या १२ पुगेको छ।
होमल्यान्ड सेक्युरिटीका अनुसार पेन्सिलभेनियाको ह्यारिसबर्गका निमा तामाङलाई सडकमा बल प्रयोग गरी लुटपाट र एरिजोनाको फ्ल्यागस्टाफका दिनेश सापकोटालाई गम्भीर आक्रमण सम्बन्धी अपराधमा सूचीबद्ध गरिएको छ।

यसअघि सूचीमा रहेका १० नेपाली
निमा तामाङ र दिनेश सापकोटा थपिनुअघि होमल्यान्ड सेक्युरिटीको ‘वर्स्ट अफ द वर्स्ट’ सूचीमा १० नेपाली नागरिक रहेको विभागको वेबसाइटमा देखिन्छ।
यसअघि सूचीमा रहेका शंकर कार्कीलाई होमल्यान्ड सेक्युरिटीले पेन्सिलभेनियाको ह्यारिसबर्गमा ठगीसम्बन्धी अपराधमा सूचीकृत गरेको छ। टंक पराजुलीलाई टेक्ससको डलासमा खतरनाक लागूऔषधसम्बन्धी अपराधमा र प्रसिद्ध बरुवाललाई म्यासाचुसेट्सको ब्रिजवाटरमा आगजनी र लुटपाटसम्बन्धी अपराधमा सूचीबद्ध गरिएको छ।
त्यस्तै, होमल्यान्ड सेक्युरिटीको दाबीअनुसार रिकेश थापा लुजियानाको ओकडेलमा वायर फ्रड अर्थात् विद्युतीय ठगी, नबिन शाह टेक्ससको फोर्ट वर्थमा ठगी, आक्रमण र चोरी, तथा टेकन कँडेल कोलोराडोको ग्रीलीमा नाबालिगको यौन शोषण र गैरकानुनी रूपमा थुनेको सम्बन्धी अपराधमा सूचीबद्ध छन्।

रातुल सिंहलाई टेक्ससको डलासमा लुटपाट, सयनम घिमिरेलाई न्युयोर्कको एल्महर्स्टमा यौन दुर्व्यवहार र अनिल पन्थलाई डलासमा सञ्चारमाध्यममार्फत नाबालिगलाई लोभ्याउनेसम्बन्धी अपराधमा सूचीबद्ध गरिएको छ।
सन्तोष दर्जीलाई एरिजोनाको फिनिक्समा खतरनाक लागूऔषध, परिचय चोरी र सवारीसाधन चोरीसम्बन्धी अपराधमा सूचीबद्ध गरिएको होमल्यान्ड सेक्युरिटीको वेबसाइटमा उल्लेख छ।
थप ५ हजार नाम सार्वजनिक
नयाँ दुई नेपालीको नाम थपिएको अपडेटसँगै होमल्यान्ड सेक्युरिटीले आफ्नो ‘वर्स्ट अफ द वर्स्ट’ वेबसाइटमा थप ५,००० आपराधिक गैरकानुनी आप्रवासीको विवरण थपिएको घोषणा गरेको छ। यससँगै वेबसाइटमा उपलब्ध व्यक्तिको संख्या ४० हजारभन्दा बढी पुगेको होमल्यान्ड सेक्युरिटीले जनाएको छ।
होमल्यान्ड सेक्युरिटीका अनुसार ‘खराबमध्येका अति खराब’ वेबसाइट डिसेम्बर ८, २०२५ मा सुरु गरिएको हो। वेबसाइटमा सबै ५० राज्यमा पक्राउ परेका सयौं हजार गैरकानुनी आप्रवासीमध्ये केहीको विवरण खोज्न सकिने होमल्यान्ड सेक्युरिटीले जनाएको छ।
होमल्यान्ड सेक्युरिटीका अनुसार वेबसाइटमा समावेश व्यक्तिहरूको आपराधिक इतिहासमा हत्या, नाबालिगसँग सम्बन्धित यौन अपराध, यौन आक्रमण, अपहरण, लागूऔषध तस्करी, आक्रमण र चोरीलगायतका अपराध समावेश छन्।
होमल्यान्ड सेक्युरिटी सेक्रेटरी मार्कवेन मुलिनले प्रशासन अध्यागमन कार्यान्वयनमा पारदर्शिताप्रति प्रतिबद्ध रहेको बताएका छन्। उनका अनुसार थप ५,००० व्यक्तिको विवरण सार्वजनिक गरिएपछि वेबसाइटमा उपलब्ध प्रोफाइलको संख्या ४० हजारभन्दा बढी पुगेको छ।
मुलिनले वेबसाइटमा देखाइएका व्यक्ति आइसले देशभर पक्राउ गर्ने कुल व्यक्तिको तुलनामा एउटा अंश मात्र भएको बताएका छन्। उनका अनुसार प्रशासनले गैरकानुनी रूपमा रहेका र आपराधिक गतिविधिमा संलग्न रहेको बताइएका व्यक्तिलाई पक्राउ तथा देशनिकाला गर्ने कार्यलाई निरन्तरता दिनेछ।
होमल्यान्ड सेक्युरिटी ले ‘वर्स्ट अफ द वर्स्ट’ वेबसाइटलाई आइसको अध्यागमन कार्यान्वयनसम्बन्धी सार्वजनिक जानकारी उपलब्ध गराउने माध्यमका रूपमा प्रस्तुत गर्दै आएको छ।होमल्यान्ड सेक्युरिटीले वेबसाइटमा राखिएका विवरणमार्फत आइसले समुदायबाट हटाउने प्रक्रियामा रहेका वा पक्राउ गरेका आपराधिक गैरनागरिकबारे जानकारी सार्वजनिक गरिएको जनाएको छ।





