ट्रम्प प्रशासनको अध्यागमन नीतिका विरुद्ध अदालतमा दुई वटा नागरिक मुद्दा दायर
प्रकाशित मिति : १५ आश्विन २०८३, बिहिबार
फोटो : टिन्गी इन्जुरी ल फर्म
गत जनवरीमा ट्रम्प प्रशासनको अध्यागमन कारबाहीका क्रममा संघीय एजेन्टको गोली लागेर मारिएकी ३७ वर्षीया रेनी गुडको परिवारले अमेरिकी संघीय सरकार र उच्च अधिकारीहरू विरुद्ध बिहीबार दुई वटा नागरिक मुद्दा दायर गरेका छन्।
पहिलो मुद्दा सीधा अमेरिकी सरकार विरुद्ध दायर गरिएको छ, जुन एक प्रकारको ‘गैरकानुनी मृत्यु’ सम्बन्धी मुद्दा हो। यस मुद्दामा आइसका एजेन्ट जोनाथन रोसले आफ्नै एजेन्सीको नीति र अमेरिकी संविधानको चौथो संशोधनको उल्लंघन गर्दै अत्यधिक बल प्रयोग गरेको आरोप लगाइएको छ। मुद्दामा रेनी गुडले जीवनको अन्तिम क्षणमा भोगेको पीडाका साथै सो घटनाको प्रत्यक्षदर्शी रहेकी उनकी साझेदार बेक्का गुडलाई परेको गम्भीर मानसिक आघातको क्षतिपूर्तिको माग गरिएको छ।
घटनाका बेला संघीय अधिकारीहरूले गुडले आफ्नो कारलाई हतियारको रूपमा प्रयोग गरेको दाबी गरेका थिए, तर प्राप्त भिडियो प्रमाणहरूले अधिकारीहरूको उक्त दाबीलाई खण्डन गरेका छन्।
दोस्रो मुद्दा भने निकै दुर्लभ र असामान्य मानिएको छ। यसमा संघीय अधिकारीहरूले मिनेसोटाका जनताको नागरिक अधिकारमा हस्तक्षेप गर्न षड्यन्त्र रचेको आरोप लगाइएको छ। मुद्दामा रेनी गुडको मृत्यु अध्यागमन कारबाहीको “पूर्वअनुमानित र नियोजित परिणाम” भएको र सो आक्रमण सोमाली तथा हिस्पानिक समुदायलाई निशाना बनाउने र त्यस कारबाहीको विरोध गर्नेहरूलाई मौन गराउने संगठित प्रयासको हिस्सा भएको दाबी गरिएको छ।
यो तर्क पेस गर्न कानुन व्यवसायीहरूले पुनर्निर्माण कालमा ‘कु क्लक्स क्लान’को आतङ्क विरुद्ध लड्न प्रयोग गरिएको ऐतिहासिक ‘कु क्लक्स क्लान ऐन १८७१’ को सहारा लिएका छन्।
कानुन प्राध्यापक राचेल मोरनका अनुसार, ट्रम्प प्रशासनले विरोध प्रदर्शन गर्नेहरू विरुद्ध षड्यन्त्रको आरोप लगाउने रणनीति अपनाउँदै आएकोमा, पीडितका तर्फबाट वकिलहरूले सोही रणनीतिलाई प्रशासनका उच्च अधिकारीहरूतर्फ तेर्स्याएका छन्।
पीडित परिवारका वकिल बेन बर्कम्यानका अनुसार पहिलो मुद्दा मिनेसोपोलिसको सडकमा एजेन्टहरूले के गरे भन्ने विषयमा केन्द्रित छ भने दोस्रो मुद्दा ती एजेन्टहरूलाई त्यहाँ किन खटाइएको थियो भन्ने विषयमा आधारित छ।
यस मुद्दामा गोली चलाउने एजेन्ट रोसका साथै ह्वाइट हाउसका सल्लाहकार स्टेफन मिलर, पूर्व होमल्यान्ड सेक्रेटरी क्रिस्टी नोएम, ह्वाइट हाउसका बोर्डर जार टम होमन, र पूर्व सीमा सुरक्षा कमाण्डर ग्रेगरी बोभिनो लगायतका उच्च अधिकारीहरूलाई विपक्षी बनाइएको छ। ह्वाइट हाउसकी प्रवक्ता लरेन बिसले एक वक्तव्य जारी गर्दै यी “आधारहीन मुद्दाहरू” को अदालतमा सशक्त प्रतिरक्षा गर्ने बताएकी छन्।
घटना घटेको लामो समय बितिसक्दा पनि संघीय वा राज्यस्तरका निकायहरूबाट कुनै आपराधिक कारबाही वा अनुसन्धानको ठोस परिणाम सार्वजनिक भएको छैन। गैरसरकारी संस्था ‘द ट्रेस’का अनुसार, राष्ट्रपति ट्रम्पले पुनः कार्यभार सम्हालेयता अध्यागमन एजेन्टहरूको गोली लागेर ९ जनाको मृत्यु भइसकेको छ।
बिहीबार आयोजित पत्रकार सम्मेलनमा रेनी गुडका भाइ ब्रेन्ट गेङ्गरले कुनै अनुसन्धान, जबाफदेहिता वा नीगित सुधार नभएको भन्दै आक्रोश व्यक्त गरे। उनले भने, “हामी अब अझै पर्खिन सक्दैनौँ।आइस र अन्य निकायले पुर्याएको गम्भीर क्षतिको हिसाब माग्ने समय यही हो।”
रेनीकी साझेदार बेक्का गुडले आफ्ना ६ वर्षका छोराको लालनपालन र रेनीको अनुपस्थितिमा भोग्नु परेको पारिवारिक क्षतिबारे भन्दै न्यायको अपिल गरेकी छन्।





