चितवनमा यस वर्ष धान उत्पादनमा ह्रास आउने
प्रकाशित मिति : कार्तिक १९, २०७४ आईतबार

१९ कात्तिक, चितवन । चुनावी राजनीतिक दल र उम्मेदवारलाई चुनावी चटारो लागिरहेका बेला, चितवनमा भने किसानलाई धान काट्ने हतारो छ ।
जिल्लाको कपितय स्थानमा धान काटिसकिएको छ भने अधिकांश ठाँउमा काट्ने क्रम शुरु भएको छ । धानवालीमा यसपटक देखिएको कीरा र रोगका कारण धान उत्पादनमा भारी गिरावट आउने जिल्ला कृषि विकास कार्यालयले प्रक्षेपण गरेको छ ।
देशको समग्रमा धान उत्पादन वृद्धि हुने प्रक्षेपण गरिए पनि चितवन जिल्लामा भने धानको उत्पादन घट्ने देखिएको हो ।
धान डढ्ने, पोके, सेतो पुलती, बढ्न नसक्ने, पछौटे रोपाइ विभिन्न कारणले गर्दा यस वर्ष धानको उत्पादनमा गिरावट आउने देखिएको जिल्ला कृषि विकास कार्यालय चितवनले जानकारी दिएको छ । जिल्लाको पूर्वी क्षेत्रमा धान भित्राउने अन्तिम अवस्था भए पनि जिल्लाको पश्चिम क्षेत्रमा पाक्न लागेकाले के कति मात्रामा गिरावट आउने अनुमान गर्न नसकिएको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ ।
अघिल्ला वर्षमा भन्दा यसपटक धानबालीमा रोगले धेरै सताएको जिल्ला कृषि विकास कार्यालयका प्राविधिक सहायक नोदनाथ लामिछानेले जानकारी दिए ।’ उनले भने ‘समग्रमा जिल्लामा रोगले धानको उत्पादन घट्ने देखियो ।’
जिल्लामा २९ हजार २ सय हेक्टरमा धान लगाइएको छ । यस वर्षको धानवबालीमा १८ प्रतिशत धानलाई रोगले असर पारेको छ । क्षेत्रफलका हिसाबले ७ हजार हेक्टरभन्दा धेरै स्थानमा लगाइएको धानबालीमा पोके, डढुवा लगायत विभिन्न रोगले उत्पादानमा ह्रास आउने अवस्था रहेको लाछिानेले बताए ।