वृद्धभत्ता गाउँमै पाउँदा हर्सित वृद्धवृद्धा
प्रकाशित मिति : कार्तिक १९, २०७४ आईतबार
गुल्मी–रेसुङ्गा नगरपालिका वडा नम्वर ११ की टोपकली टण्डन ८० नाघेकी बृद्धा हुन् । सेतै फुलेको कपाल । दाँत पनि खसी सकेका छन् । श्रीमान्को मृत्यु भएको २९ वर्ष भयो । आफूलाई पाल्दै आएका छोराको एक वर्ष अघि मृत्यु भयो उनले भनिन्–‘ बुढेशकालमा यही बृद्ध भत्ता सहारा भएको छ । ’
रेसुङ्गा नगरपालिकाका मेयर डिल्लीराज भुसालले शुक्रवारदेखि बृद्ध भत्तालगायतको सामाजिक सुरक्षा भत्ता वडा वडा र अशक्तलाई घरघरमै पुगेर वितरण गर्ने कार्य सुरु गरेका छन् । मेयर गाउँ–गाउँ र घर–घरमा पुगेर भत्ता बाँढन सुरु गरेको देखेर थप खुशी थिए उनी जस्तै थुप्रै बृद्धा र बृद्ध ।
२० वर्ष अघि श्रीमान्को मृत्यु भएकी रुपकला खत्रीले पनि श्रीमान्को मृत्यु पश्चात बृद्धा भत्ता सहारा भएको बताइन् । रुमकला राना त पुत्र शोकमा भएर गहभरी आँशु पारी रहेकी थिइन् । ३५ वर्षको छोराको भारतमा केही दिन अघि मृत्यु भयो उनले गहभरी आँशु पार्दै भनिन–‘ हिजो मात्र किरियाक्रम १० वर्षको नातीले ग¥यो , किरियाक्रमको ऋणले चिन्तित थिए , यही बेलामा बृद्ध भत्ता पाउँदा सास फेर्न पाएकी छु ।
रेसुङ्गा नगरपालिकाका कार्यकारी अधिकृत मुक्तिराम अर्यालकाअनुसार यस अघि कृषि विकास बैंकमा धाउँदा बृद्धबृद्धाले सास्ती खेपेको पाए पछि मेयर भुसालले प्रभु बैंकमा प्रत्येकको खाता खोल्न लगाएर उनै बैंकका कर्मचारीहरुलाई गाउँगाउँमा पुगेर भत्ता रकम हस्तान्तरण गराउन थालिएको हो । वडा नम्बर ११ मा अपाङ्ग ११ जना जेष्ठ नागरिक १७५ सहित कुला १८३ जनालाई भत्ता वितरण गरिएको छ ।






