२० कार्तिक २०८३, शुक्रबार| Friday, November 6, 2026

अमेरिकामा आप्रवासी पक्राउमा उल्लेख्य वृद्धि, कानुन र स्रोतको अभावमा सुस्त बन्यो देश निकाला

तस्वीर : आइस

अमेरिकामा पछिल्ला महिनाहरूमा स्थानीय प्रहरीसँगको सहकार्य, प्रविधिको प्रयोग र सङ्घीय निकायहरूबीच सूचना आदानप्रदान तीव्र पारिएसँगै आप्रवासीहरू पक्राउ पर्ने क्रम ह्वात्तै बढेको छ। तर, अगस्ट महिनामा मात्रै पक्राउ पर्नेको सङ्ख्या झण्डै ५१,००० पुगेर नयाँ रेकर्ड कायम भए तापनि देश निकाला हुनेहरूको सङ्ख्यामा भने सोही अनुपातमा वृद्धि हुन सकेको छैन।

अमेरिकी सरकारी तथ्याङ्क अनुसार पक्राउ बढे पनि दैनिक सरदर १,२०० जना मात्र डिपोर्ट भइरहेका छन्। जुन महिनामा १९ हजार कम मानिस पक्राउ परेका थिए, त्यतिबेला पनि दैनिक निष्कासन दर उस्तै थियो।

अमेरिकामा आप्रवासीहरूको पक्राउ र देश निकाला बीच असन्तुलन देखिनुको मुख्य कारण कानुनी जटिलता हो। पक्राउ पर्नेहरूमध्ये धेरैजसो आपराधिक पृष्ठभूमि नभएका र शरण  वा अन्य कानुनी प्रक्रिया विचाराधीन रहेका व्यक्तिहरू रहेका छन्। उनीहरूले आफ्ना कानुनी अधिकार त्यागेर स्वेच्छाले फर्किन मन्जुर नगरेसम्म अदालतको अन्तिम निर्णय बिना तुरुन्तै देश निकाला गर्न मिल्दैन।

यसका साथै उडान व्यवस्थापन र विमानको कमीले पनि निष्कासन प्रक्रियालाई सुस्त बनाएको छ। डिपोर्टेसनका लागि आवश्यक विमानको अभाव हुनुका साथै सम्बन्धित देशहरूले स्वीकार गर्ने सङ्ख्यामा सीमा तोक्दा समस्या थपिएको हो। ट्रम्प प्रशासनले यसै कामका लागि ६ वटा नयाँ बोइङ ७३७ विमान खरिद गरे तापनि तिनले अमेरिकी सङ्घीय उड्डयन प्रशासनबाट उडान अनुमति पाउन बाँकी नै छ।

अर्कोतर्फ, सरकारलाई आफ्ना व्यक्तिगत विवरण बुझाएर कानुनी प्रक्रियामा रहेका मानिसहरू नै बढी धरपकडमा परिरहेका छन्। परिवारका सदस्यमार्फत ग्रिन कार्डका लागि आवेदन दिएका वा भिसाको अवधि सकिए पनि कानुनी स्थिति सुधार्न प्रयास गरिरहेका व्यक्तिहरूलाई पत्ता लगाउन सहज हुने भएकाले उनीहरू सजिलै आइसको नियन्त्रणमा पुग्ने गरेका हुन्।

यसैबीच डिपार्टमेन्ट अफ होमल्यान्ड सेक्युरिटीले पक्राउका लागि कुनै निश्चित लक्ष्य वा कोटा तय नगरिएको स्पष्ट पारेको छ। यद्यपि, ह्वाइट हाउसका प्रवक्ताले भने कडा नीतिकै कारण लाखौँ गैरकानुनी आप्रवासीहरूले स्वतः देश छाडेको दाबी गरेका छन्।

तपाईंको प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल प्रकाशित हुँदैन। सबै प्रतिक्रिया सम्पादकको स्वीकृतिपछि मात्र देखिन्छन्।