अमेरिकाका सबैभन्दा खुसी राज्यहरू: हवाई पहिलो स्थानमा, न्युयोर्क ११ औँ स्थानमा
Photo: Jamie Brown/ Unsplash
मानिसको खुसी उसको मानसिक स्थितिमा मात्र नभई उनीहरू बसोबास गर्ने ठाउँको वातावरणमा पनि भर पर्छ। हालै व्यक्तिगत वित्तसम्बन्धी कम्पनी ‘वालेटहब’ले सार्वजनिक गरेको अमेरिकाका सबैभन्दा खुसी राज्यहरूको वार्षिक प्रतिवेदनले यस कुरालाई पुष्टि गरेको छ।
यस अध्ययन अनुसार नागरिकहरूको समग्र सन्तुष्टिका लागि उत्कृष्ट वातावरण मिलाउन सफल राज्यहरूलाई वर्गीकरण गरिएको छ। सूचीमा ‘हवाई’राज्य पहिलो स्थानमा पर्न सफल भएको छ। हवाईका नागरिकहरूमा उच्च जीवन सन्तुष्टि र देशकै दोस्रो कम डिप्रेसन दर पाइएको छ। यहाँका ८४ प्रतिशत वयस्कहरू स्वस्थ छन् भने अमेरिकामा सबैभन्दा बढी औसत आयु पनि हवाईका बासिन्दाकै रहेको छ। साथै, यहाँ बेरोजगारी दर निकै कम छ र धेरैजसो परिवारको वार्षिक आम्दानी ७५,००० डलरभन्दा बढी छ, जसले गर्दा यहाँ वित्तीय चिन्ता निकै कम छ।
यसैगरी, सूचीको दोस्रो स्थानमा न्यु जर्सी रहेको छ, जहाँ देशकै सबैभन्दा कम डिप्रेसन दर र दोस्रो सबैभन्दा कम डिभर्स दर छ। तेस्रो स्थानमा आर्थिक सुरक्षामा अगाडि रहेको युटा परेको छ भने चौथो र पाँचौँ स्थानमा क्रमशः आइडाहो र मेरिल्यान्ड रहेका छन्।
अध्ययनमा न्यु योर्क भने ११ औँ स्थानमा सीमित भएको छ। शारीरिक र भावनात्मक स्वास्थ्यमा तेस्रो स्थानमा रहे पनि अत्यधिक महँगी र आर्थिक दबाबका कारण न्यु योर्क उत्कृष्ट १० भित्र पर्न सकेन।
सूचीको सबैभन्दा पुछारमा अर्थात् ५० औँ स्थानमा वेस्ट भर्जिनिया परेको छ भने लुइजियाना, अर्कान्सस, अलास्का र केन्टुकी पनि पछाडि परेका छन्।
वालेटहबका विश्लेषक चिप लुपोका अनुसार खुसी रहनका लागि आरामदायी जीवन बिताउन पुग्ने पैसा हुनु अत्यावश्यक छ, तर त्योभन्दा बढी पैसाले मात्र खुसी बढाउँदैन। खुसी रहनका लागि राम्रो स्वास्थ्य, मजबुत अर्थतन्त्र, अर्थपूर्ण सम्बन्ध, व्यक्तिगत विकास र मनोरञ्जनका लागि पर्याप्त समय आवश्यक पर्दछ।





