कच्चा तेल १०० डलर नाघ्यो: मध्यावधि चुनावअघि भाउ नघट्ने ट्रम्पको सङ्केत
अमेरिकी राष्ट्रपति ट्रम्प । तस्वीर : एपी/रासस
अमेरिका र इरानबिच तनाव बढेसँगै अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य ३ प्रतिशतभन्दा बढीले वृद्धि भई प्रतिब्यारेल १०० डलर नाघेको छ। यसैबिच, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मध्यवधि चुनावअघि तेलको मूल्य घट्ने सम्भावना नरहेको बताएका छन्।
डलास, टेक्ससमा आयोजित रिपब्लिकन पार्टीको मध्यावधि सम्मेलनमा सहभागी हुन जानुअघि सञ्चारकर्मीहरूसँग कुरा गर्दै ट्रम्पले भने, “चुनावलगत्तै तेलको मूल्य ह्वात्तै घट्नेछ। तर यसका लागि मध्यावधि चुनावभन्दा अलि बढी समय लाग्न सक्छ।”
ट्रम्पले चुनावपछि इरान युद्ध पनि समाप्त हुने दाबी गरे। “चुनावलगत्तै युद्ध अन्त्य हुनेछ, किनभने इरानले अब धेरै समय टिकिरहन सक्दैन,” उनले थपे। यसअघि युद्ध सुरु हुँदा राष्ट्रपति ट्रम्पले यो केही हप्तामै सकिने बताएका थिए, तर अहिले युद्ध सातौँ महिनामा प्रवेश गरिसकेको छ।
राष्ट्रपति ट्रम्पले डलासमा आयोजित रिपब्लिकन मिडटर्म कन्भेन्सनमा व्यापक जनसहभागिता रहने दाबी गर्दै कार्यक्रमका सबै टिकटहरू बिक्री भइसकेको बताएका छन्। चुनावमा प्रतिस्पर्धा गरिरहेका सबै रिपब्लिकन नेताहरू यस सम्मेलनमा सहभागी हुन इच्छुक रहेको ट्रम्पको भनाइ छ।
यद्यपि, कडा प्रतिस्पर्धामा रहेका सुसान कलिन्स र ड्यान सुलिभान जस्ता केही प्रमुख सांसदहरू भने चुनावी प्रचारप्रसारका लागि आ-आफ्नै क्षेत्रमा व्यस्त रहेकाले कार्यक्रममा उपस्थित छैनन्।
यसैबिच, एन्ड्र्युज एयरबेसबाट उड्नुअघि राष्ट्रपतिले प्रयोग गर्ने ‘एयर फोर्स वान’ विमानको आपत्कालीन स्लाइड परीक्षण गरिएको थियो। अर्कोतर्फ, आफ्ना पूर्वसल्लाहकार तथा पूर्ववकिल माइकल कोहेनलाई क्षमादान दिने वा नदिने विषयमा सोधिएको प्रश्नमा राष्ट्रपति ट्रम्पले स्पष्ट जवाफ दिन अस्वीकार गरे। तर, कोहेनले आफ्ना पुराना बयानहरू सच्याएकोमा उनले धन्यवाद व्यक्त गरेका छन्।





