२० कार्तिक २०८३, शुक्रबार| Friday, November 6, 2026

नेपालमा बाढीपछि अमेरिकामा रहेका नेपालीलाई टीपीएस मिल्ला? होमल्याण्ड सेक्युरिटीको प्रतिकृया

नेपालमा आएको विनाशकारी बाढीपछि झन्डै १४ सयको शव भेटिएको र झन्डै ५ हजार बेपत्ता रहेको अवस्थामा अमेरिकामा रहेका नेपालीका लागि टीपीएस लगायतका अध्यागमन सुविधाको माग सुरु भएको छ। यसबारे अमेरिकी सरकारको होमल्याण्ड सेक्युरिटीले खसोखासलाई प्रतिक्रिया दिएको छ।

हाल नेपालका लागि नयाँ टीपीएस वा अन्य आपत्कालीन आप्रवासन राहतको होमल्याण्ड सेक्युरिटी सेक्रेटरीले मूल्याङ्कन गरिरहेका छन् कि अथवा यो गम्भीर मानवीय संकटलाई ध्यानमा राख्दै अमेरिकामा रहेका नेपाली नागरिकहरूका लागि कुनै अध्यागमन राहतसम्बन्धी मार्गदर्शन जारी गर्ने प्रक्रिया भइरहेको छ कि भनेर खसोखासले होमल्याण्ड सेक्युरिटीलाई सोधेको थियो। जवाफमा होमल्याण्ड सेक्युरिटीले नेपालका लागि अस्थायी संरक्षित हैसियतको मान्यता सन् २०२५ अगस्ट ५ मै समाप्त भइसकेको र कानुनी आप्रवासन हैसियत नभएका नेपाली नागरिकले “पहिल्यै अमेरिका छोडिसक्नुपर्ने थियो” भनेको छ।

होमल्याण्ड सेक्युरिटीका एक प्रवक्ताले भनेका छन्, “नेपालका लागि टीपीएसको व्यवस्था र त्यससम्बन्धी सुविधाहरू ५ अगस्ट २०२५ मा समाप्त भएका थिए। वैध हैसियत नभएका नेपाली नागरिकहरूले यसअघि नै प्रस्थान गरिसक्नुपर्ने थियो।”

नेपालमा आएको विनाशकारी बाढीमा १,३०० भन्दा बढीको मृत्यु भएको र हजारौँ मानिस अझै बेपत्ता रहेको भन्दै द ल अफिसेज अफ केशव राज सेडाई पीसीले नेपाली नागरिकका लागि मानवीय आधारमा आपत्कालीन आप्रवासन उपाय उपलब्ध गराउन अमेरिकी होमल्याण्ड सेक्युरिटीसमक्ष औपचारिक निवेदन दर्ता गरेको थियो।

निवेदनमा नेपालका बाढीपीडित तथा प्रभावित नेपाली नागरिकलाई आपत्कालीन आप्रवासन संरक्षण, काम गर्ने अनुमति र यात्रासम्बन्धी राहत उपलब्ध गराउन माग गरिएको थियो। त्यस्तै, नेपालका लागि नयाँ अस्थायी संरक्षित हैसियत घोषणा गर्न तथा नेपाली नागरिकमाथि हुने आप्रवासन तथा भन्सार प्रवर्तन निकायका कारबाही अस्थायी रूपमा रोक्न पनि आग्रह गरिएको थियो।

होमल्याण्ड सेक्युरिटीले नेपालका लागि नयाँ अस्थायी संरक्षित हैसियत घोषणा गर्ने वा नेपालमा उत्पन्न मानवीय संकटलाई ध्यानमा राख्दै अन्य कुनै आपत्कालीन संरक्षण उपलब्ध गराउने विषयमा हाल समीक्षा गरिरहेको छ कि छैन भन्ने प्रश्नको भने प्रत्यक्ष जवाफ दिएको छैन। होमल्याण्ड सेक्युरिटीले भविष्यमा टीपीएस वा त्यससम्बन्धी कुनै कदम चालिएमा त्यसको घोषणा उचित समयमा फेडरल रजिस्टरमा प्रकाशित सूचनामार्फत गरिने जनाएको छ।

टीपीएस अमेरिकाले निश्चित परिस्थितिमा विदेशी नागरिकलाई उपलब्ध गराउने अस्थायी मानवीय आप्रवासन सुविधा हो। सशस्त्र द्वन्द्व, प्राकृतिक वा वातावरणीय विपद् अथवा अन्य असाधारण र अस्थायी परिस्थितिका कारण आफ्नै देश फर्कन असुरक्षित हुने अवस्थाका निश्चित देशका योग्य नागरिकलाई यसअन्तर्गत अमेरिकामा अस्थायी रूपमा बस्न र काम गर्ने अनुमति दिन सकिन्छ।

नेपालमा सन् २०१५ मा गएको विनाशकारी भूकम्पपछि नेपाली नागरिकलाई अस्थायी संरक्षित हैसियतअन्तर्गत संरक्षण दिइएको थियो। नेपालमा पछिल्लो बाढी तथा पहिरोका कारण ठूलो मानवीय संकट उत्पन्न भएपछि नेपाली नागरिकका लागि पुनः अस्थायी संरक्षित हैसियत वा अन्य मानवीय आप्रवासन सुविधा उपलब्ध गराउनुपर्ने माग उठेको हो। समर्थकहरूले विपद्का कारण नेपाल फर्कन नसक्ने वा फर्किएमा थप जोखिममा पर्न सक्ने नेपाली नागरिकका लागि मानवीय आधारमा अस्थायी संरक्षण आवश्यक रहेको तर्क गरेका छन्।

खसोखासका समाचार नछुटाउनुहोस्Follow Khasokhas for immigration, green card, tax and community news.Facebook मा Follow गर्नुहोस् →

यसैबीच, होमल्याण्ड सेक्युरिटीको प्रतिक्रियाले बाढीबाट प्रभावित नेपाली नागरिकका हकमा आप्रवासन तथा भन्सार प्रवर्तन निकायले अभियोजनसम्बन्धी विवेक प्रयोग गर्ने वा आप्रवासन कारबाहीमा संयम अपनाउने सम्बन्धमा कुनै विशेष निर्देशन जारी गरेको छ कि छैन भन्ने प्रश्न पनि अनुत्तरित छ। होमल्याण्ड सेक्युरिटीले त्यस्ता कारबाही अस्थायी रूपमा रोक्ने, बाढीप्रभावित नेपालीलाई लक्षित मानवीय संरक्षण उपलब्ध गराउने वा अन्य कुनै विशेष आप्रवासन राहतका विषयमा तत्काल कुनै प्रतिबद्धता जनाएको छैन।

तपाईंको प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल प्रकाशित हुँदैन। सबै प्रतिक्रिया सम्पादकको स्वीकृतिपछि मात्र देखिन्छन्।