२० कार्तिक २०८३, शुक्रबार| Friday, November 6, 2026

अमेरिकामा नेपालीका लागि नयाँ टीपीएस मागबारे बुधबार अमेरिकी सांसदहरुलाई जानकारी दिइने

न्युयोर्क — अमेरिकामा रहेका नेपाली नागरिकका लागि नयाँ अस्थायी संरक्षित हैसियत (टीपीएस) घोषणा गर्नुपर्ने मागलाई अघि बढाउन बुधबार सिनेटर चार्ल्स शुमर र प्रतिनिधिसभा सदस्य टम सुजीका कार्यालयलाई जानकारी दिइने ल अफिसेज अफ केशवराज सेडाई, पी.सी.ले जनाएको छ।

होमल्याण्ड सेक्युरिटी र ह्वाइट हाउसलाई नेपालका लागि नयाँ टीपीएस घोषणा गर्ने विषयमा शीघ्र निर्णय गर्न दबाब दिन आग्रह गरिने कार्यालयले जनाएको छ। टीपीएसको माग विचाराधीन रहँदासम्म नेपाली समुदायमाथि हुने आप्रवासनसम्बन्धी कारबाहीमा संयम अपनाउन प्रशासनलाई आग्रह गर्ने विषय पनि उठाइनेछ।

सेडाईको कार्यालयले गत साता होमल्याण्ड सेक्युरिटी र ह्वाइट हाउसलाई औपचारिक पत्र पठाउँदै दुई मुख्य माग राखेको जनाएको छ। तीमध्ये पहिलो नेपालका लागि नयाँ टीपीएस घोषणा गर्नुपर्ने र दोस्रो कानुन पालना गरिरहेका नेपाली परिवार, विद्यार्थी तथा कामदारलाई लक्षित गरी आप्रवासन छापा वा अन्य कडा कारबाही नगर्न प्रशासनलाई निर्देशन दिनुपर्ने रहेको छ।

नयाँ टीपीएस मागको आधारका रूपमा नेपालमा जारी मानवीय अवस्था, हालै आएको विनाशकारी बाढी तथा यसअघि प्रदान गरिएको टीपीएस अन्त्य भएपछि अमेरिकामा रहेका नेपालीले सामना गरिरहेको कठिनाइलाई प्रस्तुत गरिएको कार्यालयले जनाएको छ।

नेपाललाई सन् २०१५ को विनाशकारी भूकम्पपछि टीपीएस प्रदान गरिएको थियो। तर होमल्याण्ड सेक्युरिटीले उक्त सुविधा सन् २०२५ अगस्ट ५ देखि लागू हुने गरी अन्त्य गर्ने निर्णय गरेको थियो। क्यालिफोर्नियाको एक संघीय अदालतले सन् २०२५ डिसेम्बर ३१ मा टीपीएस अन्त्य गर्ने निर्णयलाई खारेज गर्दै सुविधा अस्थायी रूपमा पुनःस्थापित गरेको थियो। तर नवौं सर्किट अपिल अदालतले सन् २०२६ फेब्रुअरी ९ मा उक्त आदेश स्थगित गरेपछि टीपीएस अन्त्य गर्ने निर्णय पुनः प्रभावमा आएको हो।

कानुन व्यवसायी केशवराज सेडाई

त्यसैगरी, सन् २०२६ जुन २५ मा अमेरिकी सर्वोच्च अदालतले टीपीएससम्बन्धी निर्णयमा संघीय अदालतको पुनरावलोकन अधिकार सीमित रहने व्याख्या गरेपछि अदालतमार्फत राहत खोज्ने बाटो थप कठिन बनेको कानुन व्यवसायी केशवराज सेडाईको भनाई छ।

होमल्याण्ड सेक्युरिटीले अगस्टमा नेपालका लागि टीपीएस अन्त्य भइसकेको र अन्य वैध आप्रवासन हैसियत नभएका पूर्वटीपीएस लाभग्राहीले अमेरिका छाड्नुपर्ने सार्वजनिक रूपमा जनाएको थियो।

“यस कारण डीएचएसबाट नयाँ टीपीएस घोषणा वा कांग्रेसबाट हुने पहल अहिलेको सबैभन्दा व्यवहारिक बाटो हो,” सेडाईको कार्यालयले समुदायलाई जारी गरेको सूचनामा भनेको छ।

खसोखासका समाचार नछुटाउनुहोस्Follow Khasokhas for immigration, green card, tax and community news.Facebook मा Follow गर्नुहोस् →

सेडाईको कार्यालयका अनुसार मंगलबारसम्म डीएचएस वा ह्वाइट हाउसबाट पठाइएको अनुरोधबारे कुनै औपचारिक जवाफ प्राप्त भएको छैन। कार्यालयले दुवै निकायसँग निरन्तर सम्पर्क गरिरहेको जनाएको छ। खसोखासले पनि यसबारे होमल्याण्ड सेक्युरिटीसँग प्रतिकृया मागेकोमा यो समाचार तयार पार्दासम्म कुनै प्रतिकृया आएको छैन।

सेडाईको कार्यालयले पूर्वटीपीएस लाभग्राहीलाई म्याद सकिएको टीपीएस वर्क परमिटलाईलाई हाल काम गर्न पाउने प्रमाणका रूपमा प्रयोग नगर्न आग्रह गरेको छ। परिवारमार्फत आप्रवासन निवेदन, रोजगारदातामार्फत प्रायोजन, शरण आवेदन, विद्यार्थी हैसियत वा हैसियत समायोजनलगायत सम्भावित वैकल्पिक आप्रवासन उपायबारे तत्काल योग्य आप्रवासन वकिलसँग परामर्श गर्न पनि कार्यालयले सुझाव दिएको छ।

त्यसैगरी, राहदानी, पुराना टीपीएस स्वीकृति कागजात, रोजगार अनुमति पत्र, कर विवरण तथा अमेरिकामा निरन्तर बसोबास गरेको प्रमाणलगायत महत्वपूर्ण कागजात सुरक्षित राख्न आग्रह गरिएको छ। भविष्यमा नयाँ टीपीएस घोषणा भएमा आवश्यक कागजात तयार अवस्थामा राखेका व्यक्तिलाई दर्ता प्रक्रियामा सहज हुने कार्यालयको भनाइ छ।

सेडाईको कार्यालयले हाल नेपालका लागि कुनै नयाँ टीपीएस दर्ता प्रक्रिया नखुलेको स्पष्ट पारेको छ। टीपीएस निश्चित रूपमा दिलाइदिने दाबी गर्ने व्यक्ति वा संस्थाबाट सावधान रहन तथा युएससीआईएस, होमल्याण्ड सेक्युरिटी र विश्वसनीय कानुनी तथा सामुदायिक संस्थाबाट मात्र आधिकारिक जानकारी लिन नेपाली समुदायलाई आग्रह गरिएको छ।

तपाईंको प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल प्रकाशित हुँदैन। सबै प्रतिक्रिया सम्पादकको स्वीकृतिपछि मात्र देखिन्छन्।