क्यानडा-अमेरिका व्यापार युद्ध: ट्रम्पको धम्कीविरुद्ध प्रधानमन्त्री कार्नीको प्रतिशोधात्मक शुल्क घोषणा
Photo: Daniel Mainye/ Unsplash
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँगको व्यापार युद्ध चर्किँदै गएपछि क्यानडाका प्रधानमन्त्री मार्क कार्नीले अमेरिकाविरुद्ध कडा र आक्रामक कदम चालेका छन्। दुई देशबीचको दशकौँ पुरानो ऐतिहासिक सम्बन्धमा गम्भीर असर पर्ने जोखिमका बाबजुद क्यानडाले अमेरिकाबाट आयात हुने करिब ७०० वस्तुहरूमा प्रतिशोधात्मक व्यापारिक शुल्क लागू गर्ने घोषणा गरेको छ।
मङ्गलबार बिहान १२:०१ बजेदेखि लागू हुने नयाँ नियमअनुसार क्यानडाले अमेरिकी स्टिल, एल्युमिनियम, रेल इन्जिन र स्टिलका पुलहरूसहित करिब २० अर्ब अमेरिकी डलर बराबरका सामानमा ट्यारिफ दर दोब्बर बनाएको छ। अमेरिकी राष्ट्रपति ट्रम्पको लगातारको आर्थिक दबाब र धम्कीविरुद्ध प्रधानमन्त्री कार्नीले देखाएको यो अडानलाई क्यानाडाली नागरिकहरूले व्यापक समर्थन गरेका छन्।
गत महिना वासिङ्टनसँगको व्यापार वार्ता असफल भएपछि कार्नीले वार्ता रद्द गर्दै जवाफी कदम चाल्ने निर्णय गरेका थिए। कार्नीले अमेरिकाले क्यानडामाथि आक्रमण गरेको र दुई देश आर्थिक रूपमा ‘युद्धको स्थिति’ मा पुगेको टिप्पणी गरेका छन्।
अर्कोतर्फ, राष्ट्रपति ट्रम्पले पनि धम्कीको शृङ्खला रोकेका छैनन्। ट्रम्पले क्यानडाको विमान निर्माता कम्पनी ‘बोम्बार्डियर’ले अमेरिकामा निर्माण नगरेसम्म उसका उत्पादन बिक्रीमा प्रतिबन्ध लगाउने चेतावनी दिएका छन्। यसअघि पनि ट्रम्पले क्यानडासँगको सम्पूर्ण व्यापार रोक्ने र ‘लेक ओन्टारियो’ को नाम बदलेर ‘लेक अमेरिका’ राख्नेजस्ता विवादित अभिव्यक्ति दिइसकेका छन्।
व्यापार विश्लेषकहरूले दुवै देशबीचको यो जुहारीले उत्तर अमेरिकी आपूर्ति शृङ्खला र विशेषगरी अटोमोबाइल तथा निर्माण क्षेत्रमा ठूलो असर पार्ने चेतावनी दिएका छन्। तर, प्रधानमन्त्री कार्नीले अहिले वासिङ्टनको फोनको पर्खाइमा नबसी क्यानडाको व्यापारलाई विश्वका अन्य देशहरूमा विविधीकरण गर्न ध्यान केन्द्रित गर्ने स्पष्ट पारेका छन्।





