ग्रीनल्याण्डमा ट्रम्पको दाबीबिच युरोपेली संघद्वारा २०० मिलियन युरोको सहयोग घोषणा
Photo: ArcticDesire.com Polarreisen/ Unsplash
युरोपेली आयोगकी अध्यक्ष उर्सुला भोन डे लेयनले डेनमार्कको अर्ध-स्वायत्त क्षेत्र ग्रीनल्याण्डमा २०० मिलियन युरो लगानी गर्ने र सम्बन्धलाई अझ प्रगाढ बनाउने युरोपेली संघको योजना सार्वजनिक गरेकी छन्। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ग्रीनल्याण्ड अमेरिकाको हुनुपर्ने अडान दोहोर्याइरहेका बेला सोमबार यो घोषणा आएको हो।
भोन डे लेयन आइतबार ग्रीनल्याण्ड पुगेकी थिइन्। दुई दिने भ्रमणका क्रममा उनले ग्रीनल्याण्ड र डेनमार्क सरकारप्रति ईयुको पूर्ण समर्थन रहेको स्पष्ट पारिन्। दुवै सरकारले विश्वकै सबैभन्दा ठूलो टापु कब्जा गर्ने ट्रम्पको प्रयासलाई कडा शब्दमा अस्वीकार गर्दै आएका छन्।
२७ राष्ट्र सम्मिलित युरोपेली संघकी कार्यकारी प्रमुख उर्सुला भोन डे लेयनका अनुसार, यो रकम विशेष गरी महत्वपूर्ण खनिज पदार्थ, स्याटेलाइट सञ्चार र नवीकरणीय ऊर्जा जस्ता रणनीतिक क्षेत्रहरूमा केन्द्रित हुनेछ।
प्रेस कन्फरेन्समा बोल्दै उनले युरोपेली संघ डेनमार्क अधिराज्य र ग्रीनल्याण्डका जनताको साथमा पूर्ण ऐक्यबद्धताका साथ उभिएको र यो सहयोगलाई निरन्तर जारी राख्ने प्रतिबद्धता जनाइन्।
जलवायु परिवर्तनका कारण हिउँ पग्लेर नयाँ समुद्री मार्गहरू खुल्न थालेपछि र खनिज सम्पदामा पहुँच सहज बनेपछि आर्कटिक क्षेत्र अमेरिका, रुस, चीन र युरोप जस्ता ठूला शक्तिहरूका लागि रणनीतिक रूपमा झन् महत्त्वपूर्ण बनेको छ।
आइतबार बरफका टुक्राहरू तैरिरहेको एक फियोर्डमा डुङ्गा सयर गरेकी भोन डे लेयनले ग्रीनल्याण्डको प्राकृतिक सुन्दरताको प्रशंसा गर्दै जलवायु परिवर्तनका गम्भीर असरहरूबारे सचेत गराइन्। सामाजिक सञ्जाल एक्स मा लेख्दै उनले भनिन्, “बरफ पग्लिएसँगै एउटा नयाँ यथार्थ सुरु हुँदैछ। आर्कटिक भू-राजनीतिक टकरावको केन्द्र बनेको छ र यहाँ हुने गतिविधिमा हाम्रो प्रत्यक्ष चासो छ।”
अमेरिकी राष्ट्रपति ट्रम्पले डेनमार्कले ग्रीनल्याण्डको रक्षा गर्न नसक्ने दाबी गर्दै त्यसलाई अमेरिकी नियन्त्रणमा ल्याउनुपर्ने माग तीव्र बनाएपछि अमेरिका-युरोप सम्बन्ध र नेटो सैन्य गठबन्धनमा तनाव उत्पन्न भएको थियो। यद्यपि, युरोपेली अधिकारीहरूले ग्रीनल्याण्ड नेटो भूभागभित्र पर्ने भएकाले यो सामूहिक रक्षा सम्झौताअन्तर्गत सुरक्षित रहेको र अमेरिकालाई दीर्घकालीन सन्धिअनुसार पहिले नै सैन्य उपस्थिति बढाउने अधिकार रहेको स्पष्ट पारेका छन्।
गत जनवरीमा डाभोसमा ट्रम्प र नेटो प्रमुख मार्क रुटेबिच विवाद समाधानका लागि वार्ता गर्ने सहमति भएपछि केही तनाव घटेको थियो। तर, त्रिपक्षीय वार्तामा सहमति जुट्न सकेको छैन र जुलाईमा टर्कीमा भएको नाटो सम्मेलनमा ट्रम्पले ग्रीनल्याण्डमाथि नियन्त्रणको माग पुनः दोहोर्याएका थिए।
भोन डे लेयनले ग्रीनल्याण्डको भविष्यबारे निर्णय गर्ने अधिकार त्यहाँका जनता र डेनमार्कको मात्र भएको बताइन्। ग्रीनल्याण्ड सन् १९८५ मा युरोपेली संघबाट बाहिरिए पनि डेनिस नागरिकका रूपमा त्यहाँका जनता ईयुका नागरिक सरह मानिन्छन्। ईयुले दीर्घकालीन बजेटअन्तर्गत ग्रीनल्याण्डका लागि उपलब्ध गराउने सहयोग राशिमा उल्लेख्य वृद्धि गर्ने प्रस्ताव पनि अघि सारेको छ।





