महसुल र राजनीतिक विवादका बीच क्यानेडियन पर्यटक आकर्षित गर्दै अमेरिकी शहरहरू
Photo: Luca Bravo/ Unsplash
अमेरिकी पर्यटन क्षेत्रले यो वर्षभरि क्यानेडियन पर्यटकहरूलाई आकर्षित गर्न व्यापक प्रयास गरिरहेको छ। विभिन्न राज्य र शहरहरूमा “हामी क्यानडालाई माया गर्छौँ” भन्ने सन्देशसहितका बिलबोर्ड र ब्यानरहरू राखिएका छन् भने सामाजिक सञ्जालमार्फत विशेष छुटका अफरहरू प्रस्तुत गरिएका छन्।
भ्यानकुभरका बासिन्दा तथा मार्केटिङ कार्यकारी जोस लोवेनका अनुसार, यी प्रयासहरू बुझ्न सकिने भए पनि अहिलेको अवस्थामा यो निरर्थक जस्तै बनेको छ। राष्ट्रपति डोनाल्ड ट्रम्प सत्तामा फर्किएपछि क्यानडालाई अमेरिकाको ५१ औँ राज्य बनाउने जस्ता विवादास्पद अभिव्यक्ति दिएका थिए। त्यसपछि सुरु भएको व्यापार युद्धका कारण अमेरिका जाने क्यानेडियन पर्यटकहरूको सङ्ख्यामा तीव्र गिरावट आएको छ।
गत महिना द्विपक्षीय व्यापार वार्ता असफल भएपछि दुई देशबिचको सम्बन्ध थप बिग्रिएको छ। ट्रम्पले क्यानेडियन उत्पादनहरूमा ५० प्रतिशतसम्मको भन्सार महसुल लगाएपछि क्यानडाले पनि उस्तै जवाफी कदम चालेको छ। ट्रम्पले दुई देशको सीमामा रहेको लेक ओन्टारियोको नाम बदलेर “लेक अमेरिका” राख्न आदेश दिएका छन् भने क्यानडाका प्रधानमन्त्री मार्क कार्नीले अमेरिकी क्याबिनेट सदस्यहरूको व्यवहारलाई अशिष्ट र अमार्यादित भनेका छन्।
विद्यमान राजनीतिक तथा व्यापारिक तनावका बाबजुद अमेरिकी शहर तथा पर्यटन निकायहरूले क्यानेडियन पर्यटकहरूलाई आकर्षित गर्ने प्रयासलाई निरन्तरता दिइरहेका छन्। यसै क्रममा न्युयोर्क राज्यले एन वाई लभ्स क्यानडा नाम दिइएको विशेष प्रवर्द्धनात्मक अभियान सुरु गर्दै स्थानीय होटल, रेस्टुरेन्ट र प्रमुख पर्यटकीय आकर्षणहरूमा आकर्षक छुटको व्यवस्था गरेको छ।
त्यसैगरी, लस भेगासका केही प्रमुख होटलहरूले क्यानेडियन पर्यटकहरूलाई थप आर्थिक राहत र सुविधा दिने उद्देश्यले क्यानेडियन डलरलाई अमेरिकी डलर सरह नै मान्यता दिँदै समान मूल्यमा सेवा उपलब्ध गराइरहेका छन्।
राष्ट्रिय स्तरमा पनि यस्ता प्रयासहरू तीव्र पारिएका छन्। अमेरिकी पर्यटन प्रवर्द्धन संस्था ‘ब्राण्ड युएसए’ले पहिलो पटक आफ्नो प्रसिद्ध ‘ट्राभल विक’ व्यापारिक कार्यक्रम क्यानडामा आयोजना गर्ने तयारी गरिरहेको छ, जसले दुई देशबीचको पर्यटन सम्बन्धलाई पुनः बलियो बनाउन सहयोग पुर्याउने अपेक्षा गरिएको छ।
क्यानडाको राष्ट्रिय तथ्याङ्क एजेन्सीका अनुसार सन् २०२५ मा अमेरिका जाने क्यानेडियन पर्यटकको सङ्ख्यामा उल्लेखनीय गिरावट आएको छ। गत वर्ष क्यानेडियनहरूले अमेरिका भ्रमणका क्रममा २५ प्रतिशत कम सीमा पार गरेका थिए भने पर्यटन खर्चमा करिब २.४ अर्ब अमेरिकी डलरको कमी आएको थियो।
यस गिरावटको असर अमेरिकाका प्रमुख पर्यटकीय राज्यहरूमा प्रत्यक्ष रूपमा परेको छ।भिजीट फ्लोरिडाका अनुसार फ्लोरिडा पुग्ने क्यानेडियन पर्यटकको सङ्ख्यामा ७ प्रतिशतले कमी आएको छ भने भिजीट क्यालिफोर्निया ले क्यालिफोर्निया भ्रमण गर्ने क्यानेडियनहरूको सङ्ख्या २० प्रतिशतले घटेको जनाएको छ।
यद्यपि, सन् २०२६ को मे, जुन र जुलाई महिनामा विश्वकप फुटबल प्रतियोगिताका कारण सीमा पार गर्नेहरूको सङ्ख्यामा केही सुधार देखिएको थियो। तर यो वृद्धि मुख्य रूपमा सडक मार्गबाट यात्रा गर्नेहरूमा मात्र सीमित थियो। हवाई मार्गमार्फत अमेरिका जाने क्यानेडियन पर्यटकहरूको सङ्ख्यामा भने लगातार गिरावट नै जारी रहेको छ।
क्यालगरीकी इलीन मार्च जस्ता धेरै क्यानेडियनहरूले ट्रम्पको नीति र अभिव्यक्तिकै कारण अमेरिका नजाने निर्णय गरेका छन्। उनीहरू राजनीतिक नेतृत्वमा परिवर्तन नआएसम्म वा दुई देशबिचको सम्बन्ध सुधार नभएसम्म अमेरिका भ्रमण नगर्ने र अमेरिकी विमानस्थलमा ट्रान्सिट सम्म नगर्ने अडानमा छन्।





