एफबीआईद्वारा १७ करोड अमेरिकी र क्यानेडियन नागरिकको परिचयपत्र चोरीको घटनाको अनुसन्धान सुरु
Photo: Towfiqu barbhuiya /Unsplash
अमेरिका र क्यानडाका लाखौँ नागरिकका डिजिटल परिचयपत्र चोरी गरी बिक्रीमा राखिएको विषयमा अमेरिकी गुप्तचर संस्था एफबीआईले अनुसन्धान सुरु गरेको छ। डार्क वेबको ‘नेक्सस’ नामक डेटाबेसमा करिब १७ करोड चोरीका परिचयपत्र उपलब्ध गराइएको विज्ञापन सार्वजनिक भएपछि यो विषय बाहिर आएको हो।
यस घटनाको खुलासा पूर्व ‘वाशिंगटन पोस्ट’ का पत्रकार तथा साइबर सुरक्षा विज्ञ ब्रायन क्रेब्सको ‘क्रेब्स अन सेक्युरिटी’ ब्लगमार्फत भएको हो। एफबीआईले जारी अनुसन्धानको हवाला दिँदै विस्तृत जानकारी नदिए पनि घटनाबारे खोजी भइरहेको पुष्टि गरेको छ।
आईडेन्टिटी थेफ्ट रिसोर्स सेन्टरका अध्यक्ष जेम्स ई. लीका अनुसार यस घटनामा मानिसहरूका अत्यन्तै संवेदनशील र व्यक्तिगत कागजातहरू चोरी भएका छन्। चोरी भएका कागजातहरूमा चालक अनुमतिपत्र, विभिन्न यात्रा सम्बन्धी कागजातहरू, बसोबास अनुमतिपत्र तथा स्वास्थ्य कार्डहरू मुख्य रूपमा रहेका छन्।
यस साइबर हमलामा केवल लिखित विवरण मात्र नभई सम्बन्धित व्यक्तिहरूका तस्बिरहरूसमेत चोरी भएकाले यो घटना थप जोखिमपूर्ण बनेको छ। कागजातहरूमा तस्बिरसमेत संलग्न रहेका कारण अपराधीहरूलाई नक्कली परिचयपत्र बनाउन र सोही आधारमा वित्तीय वा अन्य प्रकारका धोखाधडीका गतिविधिहरू सञ्चालन गर्न निकै सहज हुने खतरा बढेको छ।
एक वर्षदेखि लगातार डेटा चोरी ‘नेक्सस’ ले रुसी साइबर अपराध मञ्च ‘एक्सप्लोइट’ मार्फत यी डेटा बिक्रीमा राखेको थियो। नेटवर्क सुरक्षा कम्पनी ‘इन्फोब्लक्स’ का अनुसार नेक्ससले एक ठूलो पहिचान प्रमाणीकरण कम्पनी र त्यसका ग्राहकहरूको प्रणालीमा निरन्तर पहुँच बनाएर विगत एक वर्षदेखि दैनिक करिब ५ लाख नयाँ कागजातहरू चोरी गरिरहेको दाबी गरेको छ।
विशेषज्ञ ज्याक एडवर्ड्सका अनुसार, यो सुरक्षा घेरा तोडिनु केवल डेटा चोरीमा सीमित नभई वास्तविक समयमा भइरहेको र फर्च्युन ५०० कम्पनीहरू समेत प्रभावित भएकाले यसले गम्भीर राष्ट्रिय सुरक्षा जोखिम निम्त्याएको छ।
समाचार सार्वजनिक भएलगत्तै ‘नेक्सस’ सेवा डार्क वेबबाट गायब भएको छ। विज्ञहरूले आम नागरिकहरूलाई आफ्नो व्यक्तिगत विवरणको दुरुपयोग हुनसक्ने भन्दै सतर्क रहन र संदिग्ध ‘फिसिङ’ आक्रमणहरूबाट बच्न सुझाव दिएका छन्।





