२० कार्तिक २०८३, शुक्रबार| Friday, November 6, 2026

महँगीका बाबजुद अमेरिकामा करोडपतिहरूको संख्याले रच्यो नयाँ रेकर्ड

Photo: Lucas Alexander/ Unsplash

बलियो स्टक बजार र बचतकर्ताहरूको निरन्तर योगदानका कारण अमेरिकामा रिटायरमेन्ट खाता ‘४०१(के)’ मा कम्तिमा १० लाख डलर पुग्नेहरूको संख्याले नयाँ रेकर्ड कायम गरेको छ।

लगानी व्यवस्थापन कम्पनी ‘फिडेलिटी इन्भेस्टमेन्ट्स’का अनुसार पहिलो र दोस्रो त्रैमासिकको बीचमा १० लाख डलर वा सोभन्दा बढी ब्यालेन्स भएका खाताहरूको संख्या १९ प्रतिशतले बढेर ७ लाख ६९ हजार पुगेको छ।

बढ्दो महँगी, घरखर्च र अन्य आर्थिक दबाबका बाबजुद मानिसहरूले आफ्नो भावी सुरक्षाका लागि निरन्तर बचत गरिरहेका छन्। जुनसम्मको तीन महिनामा अमेरिकाको एस एण्ड पी फाइभ हन्ड्रेड सूचकांक १५ प्रतिशतले बढेको थियो, जसले लगानीकर्ताहरूलाई अझ बढी रकम बचत गर्न आकर्षित गर्‍यो। दोस्रो त्रैमासिकमा औसत योगदान दर ९.६ प्रतिशतको उच्च विन्दुमा रहेको छ।

वर्तमान समयमा विभिन्न अवकाश खाताहरूको औसत ब्यालेन्समा सकारात्मक वृद्धि देखिएको छ। प्राप्त तथ्यांक अनुसार ४०१ (के) खाताको औसत ब्यालेन्स १ लाख ५५ हजार ८ सय अमेरिकी डलर पुगेको छ भने ४०३ (बी) खातामा औसत १ लाख ४५ हजार डलर जमा रहेको छ। यसैगरी, व्यक्तिगत अवकाश खाताको औसत रकम १ लाख ४४ हजार ५ सय २३ अमेरिकी डलर कायम भएको छ।

विशेषज्ञहरूका अनुसार यो सफलता दशकौंदेखि नियमित रूपमा लगानी गर्दै आएका पाका उमेरका मानिसहरूले हासिल गरेका हुन्। यद्यपि, धेरैजसो सर्वसाधारणका लागि भने यति ठूलो रकम बचत गर्नु अझै पनि उत्तिकै चुनौतीपूर्ण देखिन्छ। भर्खरै गरिएको एक सर्वेक्षण अनुसार ६९ प्रतिशत कर्मचारीहरू आफ्नो अवकाश पछिको जीवन सहज र सुरक्षित हुनेमा अझै विश्वस्त हुन सकेका छैनन्।

तपाईंको प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल प्रकाशित हुँदैन। सबै प्रतिक्रिया सम्पादकको स्वीकृतिपछि मात्र देखिन्छन्।