एरिजोनामा यौन दुर्व्यवहार लगायत तीन गम्भीर अपराधमा दोषी नेपाली आइसद्वारा पक्राउ
अमेरिकी आप्रवासन तथा भन्सार प्रवर्तन (आइस) ले कानुनी रूपमा बस्न पाउने अवधि सकिएपछि पनि अमेरिकामा बसेको आरोपमा एरिजोनाको फ्ल्यागस्टाफ नजिकै एक नेपाली नागरिकलाई पक्राउ गरेर उदाहरणका रुपमा प्रस्तुत गरेको छ।
आइस फिनिक्सका अनुसार २८ वर्षीय दिनेश सापकोटा उत्तरी एरिजोनामा गरिएको लक्षित आप्रवासन कारबाहीका क्रममा पक्राउ परेका हुन्।सापकोटा मे २, २०१६ मा कानुनी रूपमा अमेरिका प्रवेश गरेका थिए। तर, उनको अनुमतिप्राप्त बसाइ अवधि समाप्त भएपछि पनि उनी अमेरिकामै बसेको आइसले जनाएको छ।

आइसका अनुसार सापकोटा सन् २०२३ मा अपहरण, कानुन कार्यान्वयन अधिकारीमाथि गम्भीर आक्रमण, यौन दुर्व्यवहार तथा शारीरिक रूपमा नियन्त्रणमा रहेको व्यक्तिमाथि गम्भीर आक्रमणसम्बन्धी मुद्दामा दोषी ठहर भएका थिए। यी मुद्दा सन् २०२२ मा फ्ल्यागस्टाफ प्रहरी विभागले गरेको पक्राउसँग सम्बन्धित रहेको आइसले जनाएको छ।
सापकोटालाई अमेरिकाबाट हटाउनेसम्बन्धी आप्रवासन प्रक्रिया पूरा नभएसम्म आइसको हिरासतमा राखिने जनाइएको छ। आइस फिनिक्स फिल्ड कार्यालयका निर्देशक जोन कान्टुले अमेरिकी आप्रवासन कानुन उल्लंघन गरेका तथा सार्वजनिक सुरक्षाका लागि जोखिम मानिएका व्यक्तिमाथि कारबाहीलाई प्राथमिकता दिइरहेको बताएका छन्।
यस अगाडि अमेरिकी होमल्यान्ड सेक्युरिटीले “खराबमध्येका अति खराब” अपराधीको सूचीमा १० जना नेपालीलाई राखिसकेको छ। सूचीमा पछिल्लो पटक थपिएकाहरुमा ह्यारिसबर्ग, पेन्सिलभेनियाका शंकर कार्की, डलास, टेक्सासका टंक पराजुली र ब्रिजवाटर, मसाचुसेट्सका प्रसिद्ध बरुवाल रहेका छन्। उनीमध्ये कार्कीमाथि ठगी, पराजुलीमाथि खतरनाक लागूऔषध तथा बरुवालमाथि सार्वजनिक भवनमा आगजनी र लुटपाटको अपराधमा सूचिकृत गरिएको छ।
त्यसअघि होमल्यान्ड सेक्युरिटीले सार्वजनिक गरेको सूचीमा विभिन्न राज्यबाट पक्राउ परेका सात नेपाली यौन शोषण, ठगी, लागूऔषध ओसारपसार र हिंसात्मक आक्रमणजस्ता गम्भीर अपराधमा संलग्न रहेको उल्लेख गरिएको थियो। सूचीमा टेक्सास, न्युयोर्क, कोलोराडो र एरिजोनालगायत विभिन्न राज्यमा आपराधिक गतिविधिमा संलग्न नेपाली नागरिकहरूको नाम समावेश छ।
सूचीमा परेकामध्ये टेकन कँडेल कोलोराडोमा नाबालिगको यौन शोषण र बन्धक बनाएको अपराधमा सूचिकृत गरिएका छन्। अनिल पन्थ डलासमा सञ्चारमाध्यममार्फत नाबालिगलाई लोभ्याएको अपराधमा सूचिकृत गरिएका छन्। सयनम घिमिरे न्युयोर्कमा यौन दुर्व्यवहारको अपराधमा सूचिकृत गरिएका छन्।
सन्तोष दर्जी एरिजोनामा खतरनाक लागूऔषध, परिचय चोरी र सवारीसाधन चोरीको अपराधमा सूचिकृत गरिएका छन्। नबिन शाह टेक्सासमा ठगी, कुटपिट र चोरीको अपराधमा सूचिकृत गरिएका छन्। रातुल सिंह डलासमा डकैतीको अपराधमा सूचिकृत गरिएका छन्। रिकेश थापा ‘लुजियानामा वायर फ्रड’ अर्थात् विद्युतीय ठगीको अपराधमा सूचिकृत गरिएका छन्।
ट्रम्प प्रशासनको निर्देशनअनुसार गम्भीर र हिंसात्मक अपराधमा संलग्न गैरनागरिकहरूलाई प्राथमिकताका साथ देशनिकाला गर्ने उद्देश्यले यो कदम चालिएको हो। होमल्यान्ड सेक्युरिटीले राष्ट्रपति ट्रम्पको वाचाअनुरूप देशका लागि खतरा मानिएका र गम्भीर अपराधमा सूचिकृत व्यक्तिहरूलाई लक्षित गर्दै सामूहिक देशनिकाला प्रक्रिया अगाडि बढाइएको स्पष्ट पारेको छ। आइसका अधिकारीहरूले गम्भीर अपराधमा सूचिकृत गैरनागरिकहरूलाई देशनिकाला गर्ने होमल्यान्ड सेक्युरिटीको निर्देशिकाअनुसार यी पक्राउ गरेका हुन्।
होमल्यान्ड सेक्युरिटीको वेबसाइटमा उल्लेख छ, “होमल्यान्ड सेक्युरिटीले आइसद्वारा पक्राउ गरिएका ‘खराबमध्येका अति खराब’ आपराधिक विदेशीहरूलाई सार्वजनिक गरिरहेको छ। होमल्यान्ड सेक्युरिटीको नेतृत्वमा कर्मचारीहरूले राष्ट्रपति ट्रम्पको वाचा पूरा गर्दै ‘खराबमध्येका अति खराब’ बाट सुरु गरी सामूहिक देशनिकाला कार्य अगाडि बढाइरहेका छन्।”
वेबसाइट डिसेम्बर ८, २०२५ मा सुरु गरिएको थियो। पक्राउ परेकाहरूको आपराधिक इतिहासमा हत्या, आगजनी, बलात्कार, नाबालिगको यौन शोषण, चोरी, आतंककारी धम्की, सशस्त्र डकैती, अपहरण, हमला, ठगी र चोरीजस्ता अपराधहरू समावेश छन्।





