अनिश्चित तैनाथी र वित्तीय संकट, इरान युद्धका कारण समस्यामा अमेरिकी सैन्य परिवार
Photo: Joel Rivera-Camacho/ Unsplash
इरानसँग अमेरिकाको युद्ध सुरु भएको ६ महिना बितिसक्दा पनि युद्धको असर अग्रपंक्तिमा खटिएका सैनिकहरूमा मात्र होइन, तिनका परिवारमा पनि गहिरोसँग पर्न थालेको छ। अचानक भएको तैनाथी, लम्बिँदै गएको वियोग र आम्दानीमा आएको गिरावटका कारण सैनिकका परिवारहरू अत्यधिक तनाव र अनिश्चितताको सामना गरिरहेका छन्।
अमेरिकाको सबैभन्दा ठूलो गैरसरकारी संस्था ‘ब्लु स्टार फ्यामिलिज’की सिकागो प्रमुख कोर्टनी स्यान्डर्सका अनुसार सैन्य परिवारहरू अहिले हरेक पल चिन्ता र डरको साघुरो घेरामा बाँचिरहेका छन्। हाल मध्यपूर्व र आसपासका क्षेत्रमा ५० हजारभन्दा बढी अमेरिकी सैनिकहरू कार्यरत छन्। यो द्वन्द्वमा हालसम्म १८ जना अमेरिकी सेवाकर्मीले ज्यान गुमाइसकेका छन् भने ७५० भन्दा बढी घाइते भएका छन्।
मार्च महिनामा गरिएको एक सर्वेक्षण अनुसार ८१ प्रतिशत सक्रिय सैन्य परिवारहरूले इरान द्वन्द्वका कारण मानसिक तनाव बढेको बताएका छन्। सैनिकहरूलाई पूर्वसूचना विनै अचानक खटाइने र फर्किने समय अनिश्चित हुने भएकाले बालबच्चा र श्रीमान्-श्रीमतीमा ‘अलगावको चिन्ता’ बढेको छ। युएसएस अब्राहम लिंकन विमानवाहक जहाजका ५,००० भन्दा बढी नौसैनिकहरू २०० दिनभन्दा बढी समय बन्दरगाहमा नरोकिएर सेवामा खटिँदा उनीहरूमा मानसिक स्वास्थ्य समस्या र निराशा बढेको प्रतिवेदनहरूले देखाएका छन्।
मानसिक तनावका साथै धेरै परिवारहरू वित्तीय संकटबाट पनि गुज्रिरहेका छन्। ‘नेसनल गार्ड’का सदस्यहरू अचानक युद्धमा खटिँदा उनीहरूको नियमित नागरिक रोजगारको आम्दानी रोकिनाले घरखर्च चलाउनै मुस्किल परेको स्यान्डर्सले बताइन्। “सेनामा भर्ती भएपछि सबै खर्च सरकारले नै व्यहोर्छ भन्ने सर्वसाधारणको सोचाइ सरासर गलत हो,” उनले भनिन्।
यसैबीच पेन्टागनले एक विज्ञप्ति जारी गर्दै सैन्य परिवारहरूको चिन्ताप्रति आफूहरू संवेदनशील रहेको र उनीहरूलाई आवश्यक सहयोग, संसाधन र स्थिरता प्रदान गर्न प्रतिबद्ध रहेको जनाएको छ। परिस्थिति जटिल बनेपछि विभिन्न सामाजिक संस्थाहरूले अनलाइन परामर्श, सहायता समूह र बालबालिकाहरूका लागि थेरापी सेवाहरू सञ्चालन गर्न थालेका छन्।





