‘उनीहरूलाई जे चाहिन्छ, हामी उपलब्ध गराउनेछौँ’: बाढीपछि नेपाललाई ट्रम्पद्वारा सहयोगको प्रतिबद्धता
राष्ट्रपति डोनाल्ड ट्रम्पले नेपालमा आएको विनाशकारी बाढीपछि बिहीबार नेपाललाई आवश्यक अमेरिकी सहायता उपलब्ध गराउने बताएका छन्। साथै, बाढी प्रभावित क्षेत्रमा अझै सम्पर्कविहीन रहेका अमेरिकी नागरिकप्रति उनले चिन्ता व्यक्त गरेका छन्।
ओभल अफिसमा आयोजित एक कार्यक्रममा सञ्चारकर्मीसँग कुरा गर्दै ट्रम्पले अत्यधिक वर्षापछि आएको बाढी र लेदोसहितको भेलले पुर्याएको विनाशबारे चर्चा गरे। बाढी र लेदोको भेलले पूरै बस्ती बगाउनुका साथै सयौँ मानिसको मृत्यु वा बेपत्ता भएको उनले बताए।
ट्रम्पले भने, “त्यो भयानक छ। हामीले नेपाललाई सम्पर्क गरेका छौँ र उनीहरूलाई आवश्यक पर्ने जुनसुकै सहयोग उपलब्ध गराउने प्रस्ताव गरेका छौँ। तपाईंलाई थाहा छ, नेपालको हामीसँग निकै राम्रो सम्बन्ध छ। त्यो अत्यन्तै विनाशकारी थियो—त्यो केवल पानी थिएन, त्यो लेदो र पानीको मिश्रण थियो। त्यस्तो दृश्य कसैले पहिले देखेको छैन। बलिया र राम्रोसँग बनाइएका भवनहरू समेत टुथपिकजस्तै बगाइएका छन्।”
राष्ट्रपतिले खोज तथा उद्धार कार्य जारी रहेका बेला अमेरिकाले राहत सामग्री पठाउन र नेपाली अधिकारीहरूसँग प्रत्यक्ष समन्वय गर्न थालेको पनि बताए।
“त्यो अत्यन्तै दुःखद घटना हो,” ट्रम्पले थपे, “हामी सहायता पठाउँदैछौँ। हामीले नेतृत्वसँग कुरा गरेका छौँ र उनीहरूलाई आवश्यक पर्ने जुनसुकै सहयोग हामी उपलब्ध गराउनेछौँ भनेर जानकारी दिएका छौँ।”
ट्रम्पले बाढी प्रभावित क्षेत्रमा यात्रा गरिरहेका वा बसिरहेका अमेरिकी नागरिकप्रति बढ्दो चिन्तासमेत व्यक्त गरे। उत्तरी नदी उपत्यकाहरूमा पानी र लेदोको ठूलो भेल पसेपछि बेपत्ता भएका सयौँ विदेशी नागरिकमध्ये दर्जनौँ अमेरिकी नागरिक रहेको बताइएको छ।
ट्रम्पले भने, “त्यहाँ ५०, सायद ६० जना अमेरिकी छन्, जसको पूर्ण सूची हामीले अझै पाएका छैनौँ। तर आशा गरौँ, उनीहरू सुरक्षित छन्। तर यो यस्तो देखिन्छ कि दुर्भाग्यवश केही मानिसहरू हराउन सक्छन्।”
खोज तथा उद्धार कार्य अघि बढ्दै जाँदा बेपत्ता अमेरिकी नागरिकको आधिकारिक अनुमानसमेत बढ्दै गएको छ। नेपाल प्रहरीले ६५ जना अमेरिकी नागरिकलाई बेपत्ताको सूचीमा राखेको छ भने अमेरिकी विदेश मन्त्रालयले करिब ९० जना अमेरिकी नागरिक यो विपद्बाट प्रभावित भएको हुन सक्ने जनाएको छ।
यसअघि मंगलबार अमेरिकाले नेपालको रसुवा जिल्लामा आएको आकस्मिक बाढीबाट ज्यान गुमाएकाहरूका परिवारप्रति समवेदना व्यक्त गर्दै प्रभावित समुदायका लागि ५ लाख अमेरिकी डलर बराबरको आकस्मिक मानवीय सहायता घोषणा गरेको थियो।
अमेरिकी विदेश मन्त्रालयका अनुसार क्याथोलिक रिलिफ सर्भिसेससँगको विश्वव्यापी सहायता कार्यक्रमअन्तर्गत उपलब्ध गराइने उक्त रकम बाढी प्रभावित क्षेत्रमा आकस्मिक आश्रय, राहत सामग्री तथा खानेपानी, सरसफाइ र स्वच्छतासम्बन्धी सेवाका लागि प्रयोग गरिनेछ।
“नेपालको रसुवा जिल्लामा आएको विनाशकारी आकस्मिक बाढीका कारण ज्यान गुमाएकाहरूका परिवार तथा आफन्तप्रति संयुक्त राज्य अमेरिका गहिरो समवेदना व्यक्त गर्दछ,” विदेश मन्त्रालयले अगस्ट २६ मा जारी गरेको विज्ञप्तिमा भनेको छ। “यस विपद्बाट प्रभावित सबैप्रति हाम्रो सहानुभूति छ।”
विदेश मन्त्रालयले प्रभावित क्षेत्रको अवस्थालाई नजिकबाट निगरानी गरिरहेको र राहत प्रयासमा सहयोग गर्न विपद् प्रतिक्रिया सल्लाहकारलाई नेपाल पठाइरहेको पनि जनाएको छ।
यसअघि अमेरिकी विदेशमन्त्री मार्को रुबियोले भोटेकोशी र त्रिशूली नदी प्रणालीमा आएको विनाशकारी आकस्मिक बाढीपछि नेपाललाई अमेरिकी सहयोग उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरेका थिए।
बाढीका कारण कम्तीमा १४७ जनाको मृत्यु भएको र ४७ अमेरिकी नागरिकसहित सयौँ यात्रु अझै सम्पर्कविहीन रहेको बताइएको छ।
रुबियोले बाढीबाट प्रभावित नेपालीप्रति समवेदना व्यक्त गर्दै अमेरिकी संघीय सरकारले आवश्यक सहयोग उपलब्ध गराउने बताएका थिए।
“विनाशकारी बाढीपछि हामी नेपाली जनताप्रति ऐक्यबद्धता व्यक्त गर्दछौँ र उनीहरूका लागि प्रार्थनामा एकजुट छौँ,” रुबियोले भनेका थिए। उनले अमेरिकी विदेश मन्त्रालय “आवश्यक मानवीय सहायता उपलब्ध गराउन नेपाल सरकारलाई सहयोग गर्न तयार रहेको” पनि बताएका थिए।
यो घोषणा काठमाडौंस्थित अमेरिकी दूतावासले नेपालमा बाढीबाट भएको व्यापक क्षतिबारे जारी गरेका आकस्मिक सूचनाहरू पछि आएको हो।
दूतावासका अधिकारीहरूले रसुवासहित प्रभावित क्षेत्रमा रहेका अमेरिकी नागरिकको खोजीका लागि सक्रिय रूपमा काम गरिरहेको बताएका छन्। नुवाकोट, धादिङ, गोरखा, चितवन र तनहुँमा रहेका अमेरिकी नागरिकको अवस्थाबारे पनि दूतावासले जानकारी संकलन गरिरहेको छ।
“भोटेकोशी बाढीका कारण भएको जनधनको क्षति र विनाशबाट हामी अत्यन्त दुःखी छौँ,” अमेरिकी दूतावासले एक विज्ञप्तिमा भनेको छ। “ज्यान गुमाएकाहरूका परिवार तथा आफन्तप्रति हामी हार्दिक समवेदना व्यक्त गर्दछौँ र यस विपद्बाट प्रभावित सबैप्रति हाम्रो सहानुभूति छ।”
भारतका लागि अमेरिकी राजदूत सर्जियो गोरले पनि समवेदना व्यक्त गर्दै नेपालमा रहेका अमेरिकी नागरिकलाई आपत्कालीन सूचना तथा सम्पर्क माध्यमसँग जोडिइरहन आग्रह गरेका छन्।
“विनाशकारी बाढीबाट प्रभावित नेपाली जनताप्रति मेरो हार्दिक समवेदना छ। आफ्ना प्रियजन गुमाएका परिवारहरूप्रति हाम्रो मन छ,” गोरले भने। “अमेरिकी नागरिकहरू, कृपया सूचनाका लागि नेपालस्थित अमेरिकी दूतावासलाई फलो गर्नुहोस् र आपत्कालीन सूचना प्राप्त गर्न ‘स्मार्ट ट्राभलर इन्रोलमेन्ट प्रोग्राम’ (एसटीईपी) मा अनिवार्य रूपमा दर्ता हुनुहोस्।”
काठमाडौंको उत्तरमा चीनसँग सीमा जोडिएको हिमाली जिल्ला रसुवा नेपालमा मनसुनका बेला बाढी र पहिरोको उच्च जोखिममा रहने क्षेत्र हो।
बाढीसम्बन्धी आकस्मिक सहायता आवश्यक पर्ने नेपालमा रहेका अमेरिकी नागरिकले काठमाडौंस्थित अमेरिकी दूतावासको अमेरिकी नागरिक सेवा इकाइमा [email protected] मार्फत सम्पर्क गर्न सक्छन्।
अमेरिकी विदेश मन्त्रालयले प्रभावित क्षेत्रमा रहेका अमेरिकी नागरिकलाई स्थानीय समाचारको नियमित निगरानी गर्न, स्थानीय अधिकारीका निर्देशन पालना गर्न तथा आपत्कालीन सूचना प्राप्त गर्न ‘स्मार्ट ट्राभलर इन्रोलमेन्ट प्रोग्राम’ (एसटीईपी) मा दर्ता हुन आग्रह गरेको छ।
नेपालमा रहेका आफ्ना आफन्तको अवस्थाबारे जानकारी लिन चाहने अमेरिकी नागरिकले अमेरिका वा क्यानडाबाट १-८८८-४०७-४७४७ तथा अन्य देशबाट १-२०२-५०१-४४४४ मा सम्पर्क गर्न सक्नेछन्।





