२० कार्तिक २०८३, शुक्रबार| Friday, November 6, 2026

नासा र अमेरिकी सिनेटमा निशाना लगाउने चिनियाँ ह्याकिङ सञ्जाल अमेरिकाद्वारा ध्वस्त

Photo: Julio Lopez/ Unsplash

अमेरिकाको जस्टिस डिपार्टमेन्टले अमेरिकी माथिल्लो सदन, नासा, र अर्थमन्त्रालय लगायतका महत्त्वपूर्ण सरकारी एजेन्सीहरूलाई निशाना बनाउँदै आएको एक ठूलो चिनियाँ ह्याकिङ सञ्जाललाई निष्क्रिय पारिदिएको जनाएको छ।

अमेरिकी अधिकारीहरूका अनुसार ‘क्युस्क्यान’ र ‘क्युटिराउटर’ नामका दुई वटा ह्याकिङ प्लेटफर्ममार्फत सन् २०१८ देखि यो चिनियाँ साइबर आक्रमण सञ्चालन हुँदै आएको थियो। यी प्लेटफर्महरू चीनको नानजिङमा आधारित ‘नानजिङ सिन्ज्युवे नेटवर्क टेक्नोलोजी कम्पनी’ले सञ्चालन गरेको र उक्त कम्पनीले चिनियाँ नागरिक गुप्तचर निकाय तथा जनमुक्ति सेनाका लागि काम गर्ने गरेको दाबी गरिएको छ।

नासा र अमेरिकी स्वास्थ्य तथा ऊर्जा मन्त्रालय जस्ता संवेदनशील निकायहरूमा भएका कतिपय आक्रमण असफल भए पनि सन् २०२४ मा केही रक्षा ठेकेदार, विश्वविद्यालय र वित्तीय संस्थाहरूको डेटा चोरी गर्न ह्याकरहरू सफल भएका थिए। यस्तै सन् २०२६ को मार्चमा अमेरिकी सिनेट र अस्पतालहरूमा पनि घुसपैठको प्रयास भएको थियो।

यस विषयमा वासिङ्टनस्थित चिनियाँ दूतावासका प्रवक्ताले चीनले सबै प्रकारका साइबर आक्रमणको विरोध गर्ने र कानुनअनुसार नियन्त्रण गर्ने बताएका छन्। उनले अमेरिकाले राष्ट्रिय सुरक्षाको नाममा चिनियाँ कम्पनीहरूलाई बदनाम गर्न र विभेदकारी प्रतिबन्ध लगाउन साइबर मुद्दाको दुरुपयोग गरेको आरोप लगाएका छन्।

तपाईंको प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल प्रकाशित हुँदैन। सबै प्रतिक्रिया सम्पादकको स्वीकृतिपछि मात्र देखिन्छन्।