अमेरिकाद्वारा इरानविरुद्ध इतिहासकै ठूलो आर्थिक कारबाहीको घोषणा
अमेरिकाले इरान र उसका व्यापारिक साझेदारहरूलाई लक्षित गर्दै “इतिहासकै सबैभन्दा ठूलो वित्तीय आक्रमण”को तयारी गरेको छ। सोमबारदेखि लागू हुने गरी नयाँ कडा आर्थिक प्रतिबन्धहरू घोषणा गर्ने तयारी भइरहेका बेला इरानले भने “आर्थिक युद्ध” जारी रहे फारसको खाडीबाट हुने सम्पूर्ण तेल निर्यात ठप्प पारिदिने चेतावनी दिएको छ।
अमेरिकी अर्थमन्त्री स्कट बेसेन्टले सोमबार आयोजना हुने पत्रकार सम्मेलनमार्फत यी नयाँ तथा थप कडा प्रतिबन्धहरूको विस्तृत विवरण सार्वजनिक गर्दै छन्। फाइनान्सियल टाइम्समा प्रकाशित आफ्नो एक लेखमा उनले यस कारबाहीलाई “आर्थिक डी-डे” को संज्ञा दिएका छन्। बेसेन्टले इरानसँग आर्थिक तथा वित्तीय कारोबार जारी राख्ने देशहरूलाई गम्भीर परिणाम भोग्नुपर्ने चेतावनीसमेत दिएका छन्।
यता, इरानको सर्वाच्च राष्ट्रिय सुरक्षा परिषद्का सचिव मोहसेन रेजाईले सामाजिक सञ्जालमा लेख्दै यदि अमेरिकाको आर्थिक युद्ध जारी रहेमा होर्मुज जलडमरूमध्य वा फारसको खाडीको कुनै पनि भागबाट एक थोपा तेल पनि निर्यात हुन नदिने चेतावनी दिएका छन् । साथै, अमेरिकालाई सहयोग गर्ने जुनसुकै देशलाई इरानले युद्धमा सहभागी भएको मान्ने स्पष्ट पारेको छ।
गत फेब्रुअरी २८ देखि सुरु भएको अमेरिका-इजरायल र इरानबीचको ६ महिना लामो संघर्षका कारण दुवैतर्फ ठूलो क्षति पुगेको छ। सैन्य आक्रमणमा इरानका सर्वोच्च नेता आयतोल्लाह अली खामेनेईको मृत्यु भइसकेको छ भने इरानको परम्परागत सैन्य क्षमतामा भारी गिरावट आएको छ। यद्यपि, इरानले आफ्ना मिसाइल र ड्रोन क्षमता कायम राख्दै समुद्री मार्गमा तेल ट्याङ्करहरूलाई धम्क्याइरहेको छ, जसका कारण अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य बढ्न थालेको छ।
यसैबीच, कतार, टर्की र पाकिस्तान जस्ता देशहरूले कूटनीतिक हल खोज्ने प्रयास गरिरहेका छन्। परिस्थिति शान्त पार्ने प्रयासस्वरूप पाकिस्तानका सेना प्रमुख असिम मुनिर सोमबार तेहरान भ्रमणमा जाने कार्यक्रम रहेको छ।





