अमेरिकी इतिहासकै लामो समय ७६ वर्ष जेल सजाय काटेका र आठ पटक मृत्युदण्ड टरेका बन्दीको निधन
Photo: Ye Jinghan/ Unsplash
अमेरिकाको इतिहासमै सबैभन्दा लामो समय कारागारमा बिताएका फ्रान्सिस क्लिफोर्ड स्मिथको १०१ वर्षको उमेरमा निधन भएको छ। जीवनभर आफू निर्दोष रहेको दाबी गर्दै आएका स्मिथको मृत्युदण्डको सजाय आठ पटकसम्म तय भएर पनि स्थगित भएको थियो।
कनेक्टिकटस्थित न्याय प्रणालीअन्तर्गतका वृद्धबन्दीहरूको रेखदेख गर्ने ‘६० वेस्ट’ नामको सुरक्षित नर्सिङ होममा जुन २५ को रात सुतेकै अवस्थामा उनको निधन भएको हो। १०२ वर्ष पुग्न केही महिना मात्र बाँकी रहेका स्मिथको अन्त्येष्टि बिना नै दाहसंस्कार गरिएको छ।
सन् १९४९ जुलाई २३ मा कनेक्टिकटको एक याट क्लबका ६८ वर्षीय रात्रिकालीन सुरक्षा गार्ड ग्रोभर हार्टको गोली हानी हत्या गरिएको थियो। सोही डकैती तथा हत्या प्रकरणमा २५ वर्षको उमेरमा स्मिथ पक्राउ परेका थिए। उनीसँगै पक्राउ परेका जर्ज लोडेनले सुरुमा स्मिथविरुद्ध बयान दिए पनि पछि प्रहरीले यातना दिएर जबर्जस्ती बयान गराएको भन्दै अदालतमा साक्षी बस्न अस्वीकार गरेका थिए।
त्यसपछिका ७६ वर्षमा स्मिथलाई आठ पटकसम्म मृत्युदण्ड दिने मिति तोकिए पनि प्रत्येक पटक उनको सजाय टर्दै गयो। सन् १९५४ मा उनको मृत्युदण्डको सजायलाई जन्मकैदमा परिणत गरियो।
वर्षौंसम्म उनीविरुद्धका प्रमाणहरूमाथि प्रश्न उठिरहे। मुख्य साक्षीले आफ्नो बयान फेरेकी थिइन् भने अलाबाममा सजाय काटिरहेका अर्का एक व्यक्तिले सो हत्या आफूले गरेको स्वीकार गरेका थिए। सोही आधारमा स्मिथका अनुसन्धानकर्ता अधिकारी मेजर लियो क्यारोलले समेत स्मिथ घटनास्थलमा उपस्थित थिए वा थिएनन् भन्नेमा शङ्का व्यक्त गरेका थिए।
यद्यपि, अदालतले अर्का व्यक्तिको स्वीकारोक्तिलाई पत्यारिलो नभएको भन्दै खारेज गरिदियो र स्मिथलाई नयाँ सुनुवाइको मौका दिइएन।
स्मिथले ७६ वर्ष जेल जीवन बिताए। यसबीच सन् १९६७ मा जेलबाट भागेका उनी १२ दिनपछि पुनः पक्राउ परेका थिए। सन् १९७५ मा उनलाई प्यारोलमा रिहा गरिए पनि १० महिनापछि हतियार र चोरीको आशङ्कामा पुनः पक्राउ गरियो, तर पछि ती आरोपहरू पुष्टि हुन सकेनन्।
सन् २०२० मा उनलाई सुपरिवेक्षित प्यारोलअन्तर्गत नर्सिङ होममा सारिएको थियो, जहाँ उनले आफ्नो जीवनका अन्तिम दिनहरू बिताए।





