२० कार्तिक २०८३, शुक्रबार| Friday, November 6, 2026

अमेरिकामा ३७ महिनादेखि निरन्तर बढ्दै घरको मूल्य, जुलाईमा बिक्री १.७ प्रतिशतले घट्यो

Photo: Kurt Hänel/ Unsplash

कीर्तिमानी मूल्य र पछिल्लो एक वर्षयताकै उच्च मोर्गेज ब्याजदरका कारण सम्भावित खरिदकर्ताहरू पछि हट्दा जुलाई महिनामा अमेरिकामा पुराना घरहरूको बिक्री पुन: घटेको छ।

‘नेशनल एसोसिएसन अफ रियल्टर्स’ले मङ्गलबार सार्वजनिक गरेको तथ्याङ्कअनुसार, जुन महिनाको तुलनामा गत महिना पुराना घरको बिक्री १.७ प्रतिशतले घटेर मौसमी रूपमा समायोजित वार्षिक दर ४० लाख ६० हजार युनिटमा झरेको छ। यद्यपि, यो अर्थशास्त्रीहरूले अनुमान गरेको ४० लाख ५० हजारको सीमाभन्दा अलिकति बढी हो। गत वर्षको जुलाईको तुलनामा भने बिक्री ०.७ प्रतिशतले बढी छ।

घरको बिक्री घटे पनि मूल्य भने निरन्तर बढिरहेको छ। जुलाई महिनाका लागि अमेरिकामा मध्यस्थ बिक्री मूल्य अघिल्लो वर्षको तुलनामा २ प्रतिशतले बढेर ४ लाख ३४ हजार १०० अमेरिकी डलर पुगेको छ, जुन जुलाई महिनाकै लागि हालसम्मकै उच्च हो। यसअघि जुन महिनामा यो मूल्य ४ लाख ४२ हजार ८०० डलर पुगेको थियो, जुन सन् १९९९ यताको कुनै पनि महिनाको सबैभन्दा उच्च मूल्य हो। अमेरिकी बजारमा विगत ३७ महिनादेखि घरको मूल्य निरन्तर बढिरहेको छ।

सरकारी मोर्गेज खरिदकर्ता ‘फ्रेडी म्याक’का अनुसार, ३० वर्षको स्थिर मोर्गेजको औसत ब्याजादर बढेर ६.६९ प्रतिशत पुगेको छ। यो लगातार पाँचौँ हप्ताको वृद्धि हो, जसले घर खरिदकर्ताहरूमाथि थप वित्तीय भार थपेको छ।

‘हाई फ्रिक्वेन्सी एकाका मुख्य अर्थशास्त्री कार्ल वेनबर्गका अनुसार, अहिलेको अवस्थामा पहिले नै घर भएका मानिसहरूले घर बेच्न सक्ने स्थिति छैन। कोरोना महामारीका बेला न्यून ब्याजदरमा लिइएको कर्जा छाड्न घरधनीहरू तयार नभएकाले बजारमा बिक्रीका लागि घरको अभाव भएको र यसले खरिद-बिक्री दुवै प्रभावित भएको छ।

विगत तीन वर्षदेखि अमेरिकी घर बिक्री वार्षिक ४० लाखको वरपर मात्र सीमित छ, जबकि ऐतिहासिक रूपमा यो दर ५२ लाख आसपास हुने गर्दथ्यो। सन् २०२२ मा ब्याजादर बढ्न थालेदेखि नै घर जग्गा बजार सुस्त बनेको हो।

बजारमा बिक्रीका लागि उपलब्ध घरको सङ्ख्या पनि निकै कम छ। जुलाईको अन्तसम्ममा १५ लाख ४० हजार घर मात्र बिक्रीका लागि उपलब्ध थिए, जुन अघिल्लो महिनाको तुलनामा १.९ प्रतिशतले कम हो। महामारीअघि सामान्यतया २० लाख घर बिक्रीका लागि उपलब्ध हुने गर्दथे। क्षेत्रगत रूपमा हेर्दा, अमेरिकाको उत्तर-पूर्वी क्षेत्रमा घरको मूल्य अन्य क्षेत्रको तुलनामा ५.२ प्रतिशतले बढेको छ।

यसैगरी, कुल बिक्रीमा पहिलो पटक घर किन्नेहरूको हिस्सा २९ प्रतिशतमा झरेको छ, जुन जुन महिनामा ३३ प्रतिशत थियो। सामान्य अवस्थामा कुल बिक्रीमा पहिलो पटक घर किन्नेहरूको हिस्सा करिब ४० प्रतिशत हुने गर्दछ।

खसोखासका समाचार नछुटाउनुहोस्Follow Khasokhas for immigration, green card, tax and community news.Facebook मा Follow गर्नुहोस् →

तपाईंको प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल प्रकाशित हुँदैन। सबै प्रतिक्रिया सम्पादकको स्वीकृतिपछि मात्र देखिन्छन्।