अमेरिकाको न्युयोर्कमा व्यवसाय गर्न अझै महँगो, ज्याला वृद्धिमा अन्य शहरभन्दा सुस्त
Photo: Nathália Rosa/ Unsplash
न्युयोर्क राज्य नियन्त्रक थमस डिनापोलीको कार्यालयले सार्वजनिक गरेको नयाँ प्रतिवेदन अनुसार, न्युयोर्क शहर अझै पनि व्यवसाय सञ्चालनका लागि अमेरिकाकै महँगो र चुनौतीपूर्ण शहरका रूपमा रहेको छ। तर, अन्य द्रुत गतिमा बढेका क्षेत्रहरूको तुलनामा यहाँको ज्याला वृद्धिदर भने सुस्त देखिएको छ।
“बिजनेस कस्ट्स इन न्युयोर्क सिटी” शीर्षकको प्रतिवेदन अनुसार सन् २०२५ मा न्युयोर्क शहरको निजी क्षेत्रको औसत वार्षिक तलब १ लाख २९ हजार ३० अमेरिकी डलर पुगेको छ। सन् २०१५ को ८९ हजार १६० डलरको तुलनामा यो मुद्रास्फीति समायोजन गर्दा ६.५ प्रतिशतको वृद्धि हो। सोही अवधिमा राष्ट्रिय स्तरमा भने ज्याला १०.१ प्रतिशतले बढेको छ।
प्रतिवेदनले शहरका उच्च र निम्न आम्दानी हुने क्षेत्रहरूबीच ज्यालाको ठूलो अन्तरलाई उजागर गरेको छ। उच्च आम्दानी हुने क्षेत्रहरूमध्ये प्रतिभूति क्षेत्र सबैभन्दा अगाडि छ, जहाँ कर्मचारीको औसत वार्षिक तलब ६.६ प्रतिशतले बढेर ५ लाख ६१ हजार ७७० डलर पुगेको छ। त्यसैगरी, वित्त तथा बीमा क्षेत्रमा औसत तलब ९.६ प्रतिशतको वृद्धिसहित ४ लाख २६ हजार ३५० डलर पुगेको छ भने सूचना प्रविधि क्षेत्रमा २६.७ प्रतिशतको फराकिलो वृद्धिसँगै औसत तलब २ लाख ३० हजार ९०० डलर पुगेको छ।
अर्कोतर्फ, तल्लो स्तरका आम्दानी हुने क्षेत्रहरूको अवस्था भने निकै फरक देखिन्छ। खुद्रा व्यापारमा औसत तलब १०.४ प्रतिशतले बढेर ५९ हजार ३७० डलर र आवास तथा खाद्य सेवामा ११.८ प्रतिशतको वृद्धिसँगै ४८ हजार ६२० डलर पुगेको छ। सबैभन्दा पछाडि परेको सामाजिक सहायता क्षेत्रमा भने औसत तलब ४० हजार २४० डलर मात्र छ, जुन मुद्रास्फीति समायोजन गर्दा विगत १० वर्षको तुलनामा उस्तै अर्थात् वृद्धिरहित रहेको छ।
राज्य नियन्त्रक डिनापोलीका अनुसार न्युयोर्क शहर उत्कृष्ट प्रतिभा, नयाँ सोच र ग्राहकसम्मको सहज पहुँचका कारण विश्वकै प्रमुख व्यावसायिक केन्द्रका रूपमा कायम छ। तर, कार्यस्थल खर्च, कर र बिजुलीको महँगो शुल्कका कारण विशेष गरी साना तथा मझौला व्यवसायीहरू ठूलो मारमा परेका छन्। शहरमा रहेका करिब २ लाख ९० हजार व्यवसायमध्ये ९० प्रतिशतभन्दा बढी २० जनाभन्दा कम कर्मचारी भएका साना व्यवसाय रहेकाले पनि यस्ता लागत वृद्धिले उनीहरूलाई बढी असर पारेको देखिन्छ।
लागतको कुरा गर्दा, सन् २०२४ मा न्युयोर्क शहरका व्यावसायिक ग्राहकले प्रति किलोवाट घण्टा २८.२० सेन्ट बिजुलीको महसुल तिरेका छन्, जुन १२.७५ सेन्ट रहेको राष्ट्रिय औसतभन्दा दोब्बरभन्दा बढी हो। यसका साथै, न्युयोर्क महानगर क्षेत्रका रोजगारदाताले कर्मचारी सुविधा बापत प्रति घण्टा औसत १७.७४ डलर खर्च गर्नुपर्छ, जुन राष्ट्रिय औसत १३.४९ डलरभन्दा निकै बढी हो। क्षेत्रीय तुलना गर्दा पनि विगत १० वर्षमा सान फ्रान्सिस्कोमा मुद्रास्फीति समायोजनपछिको ज्याला वृद्धिदर ३३.८ प्रतिशत रहँदा न्युयोर्कको वृद्धिदर भने तुलनात्मक रूपमा निकै सुस्त देखिएको छ।
मेयर जोहरान ममदानी र उनको समूहले न्यूनतम ज्याला र कर बढाउने नीतिगत प्रस्ताव अघि सारिरहेका बेला सार्वजनिक भएको यस प्रतिवेदनले शहरको आर्थिक प्रतिस्पर्धात्मकता जोगाउन कर नीति, नियमन र पूर्वाधार लगानीमा सतर्कता अपनाउनुपर्ने सुझाव दिएको छ।





