२० कार्तिक २०८३, शुक्रबार| Friday, November 6, 2026

पूर्वअमेरिकी राष्ट्रपतिहरूको निबन्ध श्रृंखला: ट्रम्पको नाम नलिई लोकतन्त्र र शक्तिबारे चिन्ता व्यक्त

Photo: History in HD/ Unsplash

अमेरिकाको २५० औँ स्थापना वार्षिकोत्सवका अवसरमा प्रकाशित भइरहेको एक विशेष निबन्ध श्रृंखलामा पूर्वराष्ट्रपतिहरू जर्ज डब्लु बुस, बिल क्लिन्टन र बाराक ओबामाले डोनाल्ड ट्रम्पको नाम प्रत्यक्ष रूपमा नलिईकनै लोकतन्त्र, राष्ट्रपतिको मर्यादा र शक्तिको दुरुपयोगबारे चिन्ता व्यक्त गरेका छन्।

‘इन पर्साट’ नाम दिइएको यो ऐतिहासिक परियोजनामा अमेरिकाका ४३ जना पूर्वराष्ट्रपति र ३० जना प्रथम महिलाहरूका जीवन र कार्यकालबारे इतिहासकार, लेखक तथा राजनीतिक व्यक्तित्वहरूले निबन्ध लेखेका छन्। यस श्रृंखलामा वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्प र पूर्वराष्ट्रपति जो बाइडेनलाई भने मूल्याङ्कनका लागि अझै परिपक्व भइनसकेको भन्दै समावेश गरिएको छैन।

श्रृंखलाको पहिलो निबन्धमा पूर्वराष्ट्रपति जर्ज डब्लु बुसले अमेरिकाका प्रथम राष्ट्रपति जर्ज वासिङ्टनको प्रशंसा गरेका छन्। बुसले वासिङ्टनले दुई कार्यकालपछि स्वेच्छाले सत्ता छोडेर लोकतन्त्रको दह्रिलो जग बसालेको उल्लेख गरेका छन्।

“हाम्रा प्रथम राष्ट्रपति चाहनुभएको भए आजीवन शक्तिमा रहन सक्नुहुन्थ्यो, तर उहाँले दुई पटक सत्ता त्याग्ने बाटो रोज्नुभयो, बुसले लेखेका छन्, जर्ज वासिङ्टनको स्वेच्छाले सत्ता हस्तान्तरण गर्ने विनम्रता अमेरिकी राजनीतिमै सबैभन्दा प्रभावशाली उदाहरण हो।

बुसको यो भनाइलाई सन् २०२० को चुनाव परिणाम अस्वीकार गर्ने र संविधान विपरीत तेस्रो कार्यकालको चर्चा चलाउने ट्रम्पको कदमप्रतिको अप्रत्यक्ष कटाक्षका रूपमा हेरिएको छ।

अफगानिस्तान युद्धका पूर्वकमन्डर अवकाशप्राप्त जनरल स्ट्यान्ली म्याकक्रिस्टलले पूर्वराष्ट्रपति युलिसिस एस ग्रान्टबारे लेख्दै सैन्य तथा नागरिक नेतृत्व कुनै राजनीतिक व्यक्ति वा गुटप्रति नभई संविधानप्रति निष्ठावान हुनुपर्नेमा जोड दिएका छन्। ट्रम्पले आफ्नो कार्यकालमा अधिकारीहरूसँग व्यक्तिगत निष्ठाको माग गरिरहेका बेला म्याकक्रिस्टलको यो निबन्धले विशेष ध्यान खिचेको छ।

त्यस्तै, पूर्वराष्ट्रपति बिल क्लिन्टनले थियोडोर रुजवेल्टका बारेमा लेख्दै आम जनताको हितका लागि ठूला कर्पोरेट स्वार्थहरूविरुद्ध लडेको प्रसङ्ग उल्लेख गरेका छन्।

यो परियोजनाको सम्पादन पूर्वअमेरिकी मुख्य अभिलेखपाल कोलीन शोगनले गरिरहेकी छन्। शोगनलाई सन् २०२५ मा डोनाल्ड ट्रम्पले बिना कुनै स्पष्टीकरण पदबाट बर्खास्त गरेका थिए।

खसोखासका समाचार नछुटाउनुहोस्Follow Khasokhas for immigration, green card, tax and community news.Facebook मा Follow गर्नुहोस् →

शोगनका अनुसार यो श्रृंखलाको मुख्य उद्देश्य विगत २५० वर्षको अमेरिकी इतिहासका सफलता र असफलताहरूबाट पाठ सिक्नु हो। लेखकहरूलाई कुनै पनि पक्षपात वा वैचारिक प्रभावबाट मुक्त भएर लेख्न निर्देशन दिइएको थियो र सबैले त्यसलाई गम्भीरताका साथ पालना गरेका छन्,”उनले भनिन्।

सब्स्ट्याक मार्फत साप्ताहिक रूपमा प्रकाशित भइरहेका यी निबन्धहरूले अहिलेसम्म १० लाखभन्दा बढी पाठक पाइसकेका छन्। आगामी अक्टोबरमा यस श्रृंखलामा आधारित वृत्तचित्र पीबीएस टेलिभिजनबाट प्रसारण हुने तालिका छ।

तपाईंको प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल प्रकाशित हुँदैन। सबै प्रतिक्रिया सम्पादकको स्वीकृतिपछि मात्र देखिन्छन्।