मेक्सिकन लागुऔषध गिरोहका नाइके गोन्जालेजलाई समात्न अमेरिकाद्वारा २ करोड ५० लाख डलर पुरस्कारको घोषणा
Photo: Sasun Bughdaryan/ Unsplash
अमेरिका सरकारले मेक्सिकोको सबैभन्दा शक्तिशाली लागुऔषध गिरोह ‘जालिस्को न्यु जेनेरेसन कार्टेल’का प्रमुख नाइके खुआन कार्लोस गोन्जालेजको गिरफ्तारीमा सघाउ पुर्याउने जानकारी दिने व्यक्तिलाई २ करोड ५० लाख अमेरिकी डलर पुरस्कार दिने घोषणा गरेको छ।
यसअघि ५० लाख डलर रहेको यो पुरस्कार रकमलाई ट्रम्प प्रशासनले बढाएर २५ मिलियन डलर पुर्याएको हो। यसका साथै अमेरिकी सरकारले सिजेएनजी कार्टेलका विभिन्न नेताहरूलाई समात्न कुल १०० मिलियन डलर पुरस्कारको घोषणा गर्नुका साथै कार्टेल सदस्यका परिवार र व्यावसायिक साझेदारहरूको भिसामा प्रतिबन्ध लगाएको छ।
अमेरिकी कार्यवाहक महान्यायाधिवक्ता टोड ब्लान्चले वासिङ्टनमा पत्रकारहरूसँग कुरा गर्दै भने, यी परिष्कृत संगठनहरूले अमेरिकामा फेन्टानिल, कोकिन र मेथ जस्ता घातक लागुऔषध आयात गर्न हिंसा र त्रासको सहारा लिइरहेका छन्। उनीहरूका यस्ता कार्यले हाम्रा समुदायहरूमा हिंसा र मृत्यु फैलाएका छन्।
सिजेएनजी कार्टेललाई अमेरिकाले ‘विदेशी आतंकवादी संगठन’को सूचीमा राखेको छ। गत फेब्रुअरीमा मेक्सिकन सेनाको कारबाहीमा यस कार्टेलका तत्कालीन प्रमुख नेमेसियो रुबेन ओसेगुएरा सेर्भान्टेस मारिएपछि उनका सौतेनी छोरा तथा मेक्सिकन-अमेरिकी दोहोरो नागरिकता भएका गोन्जालेजले कार्टेलको नेतृत्व सम्हालेका हुन्।
ट्रम्प प्रशासनले मेक्सिकोकी राष्ट्रपति क्लाउडिया शेनबामको सरकारलाई लागुऔषध कार्टेलविरुद्ध थप कडा कदम चाल्न निरन्तर दबाब दिँदै आएको छ। अमेरिकी लागुऔषध नियन्त्रण प्रशासनका प्रमुख टेरेन्स कोलले सिजेएनजीविरुद्धको यो कारबाही सुरुवात मात्र भएको र अमेरिका यस लडाइँबाट पछाडि नहट्ने स्पष्ट पारेका छन्।





