ट्रम्पको सीमा पर्खाल निर्माण विवादमा, पानीको अभाव हुने भन्दै नयाँ इनार खन्ने काम ठप्प
Photo: Greg Bulla/ Unsplash
अमेरिका-मेक्सिको सीमानामा पर्खाल निर्माण गरिरहेका टोलीलाई न्यू मेक्सिको राज्यमा नयाँ इनारहरू खन्न रोक्न निर्देशन दिइएको छ। भीषण खडेरीका बीच सिमेन्ट उत्पादनका लागि भूमिगत पानी झिक्दा आफ्ना पशुचौपाया जोखिममा पर्ने भन्दै स्थानीय पशुपालक कृषकहरूले विरोध गरेपछि यो निर्णय आएको हो।
राष्ट्रपति डोनाल्ड ट्रम्पको प्राथमिकतामा परेको यो आयोजना अन्तर्गत चार राज्यमा पर्खाल निर्माणका लागि ४६ अर्ब डलरभन्दा बढी सङ्घीय बजेट विनियोजन गरिएको छ। तर, टेक्सस र क्यालिफोर्नियासहितका सीमावर्ती क्षेत्रमा निर्माणका कारण वातावरण र स्थानीय समुदायमा नकारात्मक असर परेको रिपोर्टहरू सार्वजनिक भइरहेका छन्।
जुलाईमा आयोजित एक सार्वजनिक बैठकमा कृषकहरूले सीमा क्षेत्रका जलभण्डारबाट बिना अनुगमन पानी निकालिँदा नजिकैका बासिन्दालाई असर परेको बताएका थिए।
सीमा नजिकै गाईपालन गर्दै आएका रसेल जोनसनले भने, यदि पानी सुक्यो भने हाम्रा लागि यो तत्कालै ठूलो विपत्ति हुनेछ। यसले हामीलाई पशुचौपाया हटाउन बाध्य पार्नेछ र धेरैको व्यवसाय नै थप्प हुन सक्छ।
जोनसनले आफूले चराउनका लागि भाडामा लिएको जमिनमा औद्योगिक इनार खन्न लागिएको देखेका थिए। निर्माण टोलीका अनुसार उक्त इनारबाट प्रतिमिनेट ३०० ग्यालन पानी झिक्ने योजना थियो, जबकी जोनसनका १२ वटा इनारहरूले प्रतिमिनेट ३ देखि ७ ग्यालन मात्र पानी झिक्छन्।
बैठकमा अर्का एक कृषकले भने, उनीहरूले त्यो इनारमा जे गर्छन्, त्यसको असर यो उपत्यकाका सबैलाई पर्छ। सीमा सुरक्षा अधिकारीहरूसँगको कुराकानीबाट उनीहरूलाई भूमिगत जलभण्डार के हो भन्ने सामान्य ज्ञान पनि नभएको जस्तो देखिन्छ।
अमेरिकी भन्सार तथा सीमा सुरक्षाका प्रवक्ताले न्यू मेक्सिकोमा ठेकेदारहरूलाई नयाँ इनार खन्ने काम रोक्न निर्देशन दिइएको पुष्टि गरेका छन्। सीबीपीले स्थानीय जग्गाधनीहरूसँग सहकार्य गर्दै निर्माण कार्यले उनीहरूको पानीको आवश्यकतामा बाधा नपुर्याउने प्रतिबद्धता जनाएको छ।
यसअघि सीबीपी ले सिमेन्ट बनाउन, बाटो निर्माण गर्न, पर्खाल ठड्याउन र धुलो नियन्त्रण गर्न ठूलो मात्रामा पानी चाहिने बताएको थियो। तर, न्यू मेक्सिकोको राज्य इन्जिनियरको कार्यालयका अनुसार सीमा क्षेत्रमा खनिँदै गरिएका कम्तीमा ६ वटा इनारहरूमध्ये कुनैले पनि राज्यको नियम अनुसार आवश्यक अनुमति लिएका थिएनन्।





