कोलोराडो नदीको जलसङ्कट टार्न अमेरिकाका तीन राज्यमा पानीको उपभोग घटाइने प्रस्ताव
Photo: Leslie Cross/ Unsplash
अमेरिकाको कोलोराडो नदीमा चुलिँदै गएको जलसङ्कट समाधान गर्न र प्रणालीलाई जोगाउन अमेरिकी सङ्घीय सरकारले एउटा नयाँ प्रस्ताव अघि सारेको छ। शुक्रवार सार्वजनिक गरिएको ‘ब्युरो अफ रिक्लेमेसन’को उक्त प्रस्तावअनुसार देशका तीनवटा पश्चिमी राज्यहरूले कोलोराडो नदीबाट लिने पानीको मात्रामा कटौती गर्नुपर्नेछ।
यस प्रस्तावले तल्लो तटीय क्षेत्रका तीन राज्यहरू-एरिजोना, क्यालिफोर्निया र नेभाडालाई सन् २०३६ सम्ममा वार्षिक रूपमा ३० लाख एकड-फिट (लगभग १३० अर्ब क्युबिक फिट) सम्म पानीको उपभोग घटाउन बाध्य पार्न सक्छ। यो कटौती एरिजोना र नेभाडाले पाउने कुल पानीको मात्रा बराबर हो, जसले प्रतिवर्ष २ करोड ५० लाखभन्दा बढी मानिसलाई पिउने पानी पुर्याउँछ।
नदीको अवस्थालाई हेरेर प्रत्येक दुई वर्षमा कति पानी घटाउने भन्ने निर्णय गरिनेछ।
सङ्घीय प्रस्तावले माथिल्लो तटीय क्षेत्रका चार राज्यहरू-कोलोराडो, न्यु मेक्सिको, युटा र वायोमिङलाई भने हालका लागि अनिवार्य कटौतीबाट छुट दिएको छ। यो योजना लचिलो बनाइएको छ, जसले सुक्खा समयमा थप कटौती गर्ने बाटो खुला राख्दै राज्यहरूलाई बाँकी स्रोत कसरी व्यवस्थापन गर्ने भन्ने विषयमा सर्वसम्मत निर्णयमा पुग्न थप समय दिएको छ।
अमेरिकी आन्तरिक मामिला मन्त्री डग बर्गमले भने, नदीमा निर्भर करोडौँ अमेरिकी, समुदाय र उद्योगहरूका लागि कोलोराडो नदी प्रणालीलाई भरपर्दो र सुरक्षित राख्नु मन्त्रालयको जिम्मेवारी हो।
प्रस्तावअनुसार क्यालिफोर्निया, नेभाडा र एरिजोनाले आफूले पहिले नै तयार पारेको योजनाका आधारमा कुल कटौतीको आधा हिस्सा आपसमा बाँढ्नेछन्। त्यसभन्दा बढी कटौतीको हकमा भने ‘प्राथमिकता जल अधिकार’ लागू हुनेछ। ऐतिहासिक नियमका कारण प्राथमिकता प्रणालीले अन्य राज्यहरूको तुलनामा क्यालिफोर्नियाका प्रयोगकर्ताहरूलाई बढी फाइदा पुर्याउँछ।
यसअघि पनि एरिजोना र नेभाडाले अनिवार्य कटौतीको सामना गरिसकेका छन्। तर, यो नयाँ प्रस्तावले कृषि, सहर र आदिवासी जनजातिहरूमा अझ गहिरो असर पार्नेछ। विज्ञहरूका अनुसार यस निर्णयले गर्दा: पानीको महसुल दर बढ्न सक्छ।जमिनमुनिको पानी माथिको निर्भरता बढ्नेछ। किसानहरूले आफ्ना खेतहरू बाँझै छाड्नुपर्ने स्थिति आउन सक्छ।
करिब १,४५० माइल (२,३३४ किलोमिटर) लामो कोलोराडो नदीमा ४ करोडभन्दा बढी मानिस, धेरै आदिवासी जनजाति र छिमेकी देश मेक्सिको निर्भर छन्। तर, दशकौँदेखि भइरहेको अत्यधिक दोहन, बढ्दो तापमान, सुक्खा र जलवायु परिवर्तनका कारण सन् १९२२ मा गरिएको सम्झौता अनुसार अब नदीले पानी उपलब्ध गराउन सकिरहेको छैन।
नदीको अवस्था विशेष गरी अमेरिकाका दुई ठूला मानव निर्मित जलाशयहरू-‘लेक मिड’ र ‘लेक पावेल’मा रहेको पानीको मात्रामा निर्भर हुन्छ। हाल यी दुवै जलाशय स्थापना भएयताकै सबैभन्दा तल्लो स्तरमा पुगेका छन्। यदि पानीको सतह अझै घट्दै गएमा जलविद्युत् उत्पादन नै ठप्प हुने जोखिम छ।
राज्यहरूबिच सम्झौताका पुराना नियमहरू सन् २०२६ को अन्त्यमा सकिँदै छन्। नयाँ नियम बनाउन वर्षौँदेखि वार्ताहरू भए पनि राज्यहरूबिच सहमति जुट्न सकेको थिएन। राज्यहरू आफैँ एकमत हुन नसकेपछि सङ्घीय सरकारले हस्तक्षेप गर्दै यो आफ्नै प्रस्ताव अगाडि सारेको हो।
कोलोराडो नदीको जल उपभोग कटौतीसम्बन्धी सङ्घरकारको नयाँ प्रस्तावप्रति सम्बन्धित राज्यहरूको प्रतिक्रिया मिश्रित देखिएको छ। नदीको तल्लो तटीय क्षेत्रका राज्यहरूले यसप्रति असन्तुष्टि र चिन्ता व्यक्त गरेका छन् भने माथिल्लो तटीय क्षेत्रका राज्यहरूले यसको स्वागत गरेका छन्।
सबैभन्दा तल्लो प्राथमिकता अधिकार रहेको एरिजोनाका अधिकारीहरूले सङ्घीय प्रस्तावलाई पूर्ण रूपमा त्रुटिपूर्ण ठहर गर्दै यसले स्थानीय अर्थतन्त्रलाई धराशायी बनाउने चेतावनी दिएका छन्। त्यसैगरी, नेभाडाका अधिकारीहरूले पनि प्रस्तावित कटौतीलाई अव्यावहारिक र विनाशकारीको संज्ञा दिएका छन्। अर्कोतर्फ, क्यालिफोर्नियाले भने यस प्रस्तावलाई एउटा महत्त्वपूर्ण कोशेढुङ्गा माने पनि यो नै अन्तिम समाधान नभएको स्पष्ट पारेको छ।
तल्लो तटीय राज्यहरूको तीव्र असन्तुष्टिका बाबजुद माथिल्लो तटीय क्षेत्रका चार राज्यहरू-कोलोराडो, न्यु मेक्सिको, युटा र वायोमिङका गभर्नरहरूले संयुक्त विज्ञप्ति जारी गर्दै यस कदमको प्रारम्भिक स्वागत गरेका छन्। सङ्घीय सरकारको यो निर्णयले हाललाई माथिल्लो क्षेत्रका राज्यहरूलाई अनिवार्य कटौतीबाट जोगाएको छ।
एरिजोना र दक्षिणी क्यालिफोर्नियाका किसानहरूले उत्तर अमेरिकामा हिउँदमा खपत हुने अधिकांश हरियो सागपात उत्पादन गर्छन्, जसले गर्दा खाद्यान्न आपूर्ति र मूल्यमा प्रत्यक्ष असर पर्न सक्छ।
एरिजोना स्टेट युनिभर्सिटीका जल-कानुन प्राध्यापक रेट लार्सनका अनुसार सहरहरूमा पानीको नल सुक्ने स्थिति नआए पनि महसुल भने पक्कै बढ्नेछ। उदाहरणका लागि, गिल्बर्ट सहरमा सन् २०२५ को अप्रिलदेखि नै खानेपानीको महसुल ५० प्रतिशतले बढिसकेको छ।उनका अनुसार,हामीकहाँ पानी सकिएको होइन, सस्तो पानी सकिएको हो।





