समुद्री किनारमा थुप्रियो करोडौँ टन लेउ: मेक्सिको र क्यारिबियन क्षेत्रमा संकटकाल सरहको स्थिति
Photo Tampa Bay Estuary Program/Unsplash
क्यारिबियन र मेक्सिकोको खाडीका समुद्री तटहरूमा विशाल परिमाणमा ‘सरगासम’ नामको लेउ थुप्रिँदा तटीय जीवन र स्थानीय पर्यटन संकटमा परेको छ। सडेको लेउबाट आउने दुर्गन्ध र कालो हुँदै गएको समुद्री पानीका कारण पर्यटकहरूको आगमन हवात्तै घटेको छ।
युनिभर्सिटी अफ साउथ फ्लोरिडाको ‘अप्टिकल ओसियनोग्राफी ल्याब’ का अनुसार जुलाई महिनामा एट्लान्टिक, क्यारिबियन र मेक्सिकोको खाडी क्षेत्रमा करिब २ करोड ७० लाख मेट्रिक टन सरगासम रेकर्ड गरिएको छ।
वैज्ञानिकहरूका अनुसार इतिहासमै पहिलो पटक यो लेउ समुद्री बहावका कारण अन्यत्रबाट आउनुको सट्टा यहीँ तीव्र रूपमा हुर्किरहेको पाइएको छ। यो सामान्य अवस्था होइन, प्रत्येक वर्ष नयाँ चुनौती थपिँदै गएको छ,” साउथ फ्लोरिडा विश्वविद्यालयका अनुसन्धानकर्ता ब्रायन बार्न्सले भने। सन् २०२५ मा फैलिएको रेकर्डस्तरको लेउ पूर्ण रूपमा नहटेकाले यस वर्ष यसले स्थानीय स्तरमै नयाँ रूप लिएको हो। सन् २०२६ लाई सरगासमको दोस्रो ठूलो कीर्तिमानी वर्ष मानिएको छ।
मेक्सिकोको प्रसिद्ध पर्यटकीय क्षेत्र ‘क्विन्टाना रो’मा यस वर्षको पहिलो छ महिनामै व्यापारमा ३० प्रतिशतले गिरावट आएको छ। पानी कालो र दुर्गन्धित बनेपछि पर्यटकहरू आउन छाडेका छन्।
यस संकटसँग जुध्न मेक्सिको सरकारले ११ करोड ५० लाख अमेरिकी डलर लगानी गर्ने घोषणा गरेको छ। दैनिक ९,००० टनसम्म लेउ तटमा थुप्रिने गरे पनि हालको क्षमताअनुसार दैनिक १,२०० टन मात्रै हटाउन सकिएको छ। यस्तै प्युर्टो रिको र युएस भर्जिन आइल्यान्ड्समा पनि लेउका कारण तटीय क्षेत्र ठप्प प्रायः बनेका छन्।
खुल्ला समुद्रमा यो लेउ समुद्री जीवहरूका लागि बासस्थान बने पनि किनारमा आउँदा यसले पानीमा अक्सिजनको मात्रा घटाउँछ र मुगा तथा समुद्री घासलाई घामको प्रकाशबाट बञ्चित गराउँछ। यसले समुद्री कछुवाका नयाँ बच्चालाई समुद्रसम्म पुग्न पनि बाधा पुर्याउँछ।
किनाारमा कुहिएको लेउबाट ‘हाइड्रोजन सल्फाइड’ र ‘अमोनिया’ जस्ता हानिकारक ग्यास निस्कन्छन्, जसले टाउको दुख्ने, वाकवाकी लाग्ने र फोक्सोमा समस्या ल्याउने गर्छ। फ्रान्सेली द्वीप मार्टिनिकमा ग्यासबाट प्रभावित बासिन्दाहरूका लागि अस्थायी आश्रयस्थल समेत खोलिएको छ।





