२० कार्तिक २०८३, शुक्रबार| Friday, November 6, 2026

खाद्य उत्सवमा भएको गोलीकाण्डपछि उत्पन्न विवादका बिच सिएटलका प्रहरी प्रमुखको राजीनामा

Photo: Brian Zhu /Unsplash

गत साताको अन्त्यमा एक खाद्य उत्सवमा भएको घातक गोलीकाण्डसम्बन्धी महत्त्वपूर्ण सूचना सार्वजनिक गर्न ढिलाइ गरेको आलोचनाबीच सिएटलका प्रहरी प्रमुखले बिहीबार राजीनामा दिएका छन्।

मेयर काटी विल्सनले प्रहरी प्रमुख शोन बार्नेसले राजीनामा दिने वा नदिने भन्ने विषयमा घण्टौँ चलेको अन्योलपछि यो घोषणा गरेकी हुन्। यसअघि बार्नेसका समर्थकहरूले उनले मेयरको राजीनामाको आग्रहलाई अस्वीकार गरेको बताएका थिए।

मेयर विल्सनले दुई दशकभन्दा बढी कानुन कार्यान्वयनको अनुभव बोकेका उपप्रहरी प्रमुख आन्द्रे सेल्सलाई कार्यवाहक प्रमुखमा नियुक्त गरेकी छन्।

बिहीबार बिहान प्रतिक्रिया दिँदै बार्नेसले आफू पदमा कायम रहने वा नरहने कुरा मेयरमा नै निर्भर रहने स्पष्ट पारेका थिए। साथै, उनले आफू हाल बिदामा रहेको र परिवारसँग समय व्यतीत गरिरहेको समेत जनाएका थिए।

एक लिखित वक्तव्य जारी गर्दै मेयरले बार्नेसको सेवाका लागि धन्यवाद व्यक्त गरेकी छन्। उक्त वक्तव्यमा बार्नेसको भनाइ पनि समावेश छ, जहाँ उनले शहरको सेवा गर्न पाउनुलाई आफ्नो सम्मानको विषय भनेका छन्।

मलाई आशा छ कि यो परिवर्तनले शहर र प्रहरी विभागलाई सबैभन्दा महत्त्वपूर्ण कुरामा पुनः ध्यान केन्द्रित गर्ने अवसर दिनेछ-युवाहरूमा हुने बन्दुक हिंसा सम्बोधन गर्ने र थप त्रासदीहरू रोक्ने, बार्नेसले भने।

सिएटलको प्रसिद्ध ‘बाइट अफ सिएटल’ नामक तीन दिने खाद्य उत्सवमा गोली चल्दा बार्नेस शहर बाहिर एउटा सम्मेलनमा थिए। उक्त घटनामा एक संदिग्धसहित तीन जनाको मृत्यु भएको थियो भने चार जना घाइते भएका थिए। घाइते हुनेमा एक २ वर्षका बालक पनि छन्।

अदालती कागजातका अनुसार घटनाका बेला दर्जनौँ प्रहरी परिचालन गरिएका थिए। एक १५ वर्षका संदिग्धले भीडमा गोली चलाइरहेको देखेलगत्तै प्रहरीले उनलाई तत्काल आत्मसमर्पण गराएका थिए। प्रहरीले अहिले कम्तीमा अर्को एक जनाको खोजी गरिरहेको छ।

खसोखासका समाचार नछुटाउनुहोस्Follow Khasokhas for immigration, green card, tax and community news.Facebook मा Follow गर्नुहोस् →

मेयर विल्सनले प्रहरीको द्रुत प्रतिक्रियाको प्रशंसा गर्दै यसले थप धनजनको क्षति हुनबाट जोगाएको बताएकी छन्। तर, घटनापछिको सञ्चार प्रवाहमा शहर प्रशासन चुकेको उनले स्वीकार गरिन्।

घटनालगत्तै सामाजिक सञ्जालमा गरिएको एउटा प्रारम्भिक पोस्टपछि प्रहरीले जनतालाई थप जानकारी दिन वा सर्वसाधारणका लागि कुनै खतरा छ कि छैन भन्ने स्पष्ट पार्न झन्डै पाँच घण्टा लागेको थियो। शहरले आफ्नो आपत्कालीन चेतावनी प्रणालीमार्फत कुनै सूचना पनि पठाएन। यसैबीच मेयर विल्सनले दुई जनालाई नियन्त्रणमा लिइएको घोषणा गरिन्, जसलाई उनले पछि फिर्ता लिनु परेको थियो।

आइतबार राति ११ बजेतिर सहायक प्रहरी प्रमुख टाइरोन डेभिसले पत्रकार सम्मेलन गरी घटनाबारे विस्तृत जानकारी गराएका थिए। उक्त पत्रकार सम्मेलनमा मेयर विल्सन, गभर्नर बब फर्गुसन र अमेरिकी प्रतिनिधि प्रमिला जयपालको पनि उपस्थिति थियो।

बिहीबार जारी भिडियो वक्तव्यमा मेयर विल्सनले भनिन्, साँझ ६ बजे घटना घटेपछि सर्वसाधारण वा सञ्चारमाध्यमसम्म कति कम सूचना पुगेको थियो भन्ने मैले त्यस क्षणमा पूर्ण रूपमा बुझ्न सकिनँ। यदि मलाई त्यो थाहा भएको भए, औपचारिक पत्रकार सम्मेलनको पर्खाइमा बस्नुको सट्टा तुरुन्तै ब्रिफिङका लागि दबाब दिने थिएँ।

बार्नेस सिएटलका दोस्रो अश्वेत प्रहरी प्रमुख हुन्।

बिहीबार सिएटल एनएएसीपी  र अर्बन लिग अफ मेट्रोपोलिटन सिएटलजस्ता धेरै अश्वेत समुदायका संस्थाहरूले उनको पद जोगाउन प्रयास गरेका थिए। मेयर कार्यालयलाई लेखेको खुला पत्रमा उनीहरूले प्रहरी र समुदायबीचको सम्बन्ध सुधार गर्न, बन्दुक हिंसा घटाउन र विभागको कार्यक्षमता बढाउन बार्नेसले योगदान पुर्‍याएको उल्लेख गरेका छन्।

सार्वजनिक सुरक्षाका जटिल चुनौतीहरूका लागि प्रमुख बार्नेसलाई बलिदानीको बोका (Scapegoat) बनााइनु हुँदैन, पत्रमा भनिएको छ।

कम्तीमा ६ जना नगर काउन्सिल सदस्यहरूले बार्नेसको समर्थनमा वक्तव्य जारी गरेका छन्। तीमध्ये चार जनाले हस्ताक्षर गरेको संयुक्त वक्तव्यमा सिएटलमा तीन वर्षभन्दा कम समयमा चार जना प्रहरी प्रमुख फेरिएको तर्फ ध्यानाकर्षण गराइएको छ। हाम्रो प्राथमिकता थप अवरोध नभई स्थायित्व हुनुपर्छ,वक्तव्यमा भनिएको छ।

बार्नेसलाई सन् २०२४ को डिसेम्बरमा सिएटलका पूर्वमेयर ब्रुस ह्यारेलले नियुक्त गरेका थिए। त्यसअघि उनले म्याडिसन, विस्कन्सिनको प्रहरी प्रमुखका रूपमा काम गरेका थिए।

प्रहरीको बजेट कटौतीको पक्षमा रहेकी लोकतान्त्रिक समाजवादी नेतृ विल्सनले गत वर्ष मेयरको चुनाव जितेपछि बार्नेसलाई नै प्रहरी प्रमुखको रूपमा निरन्तरता दिएकी थिइन्। त्यसलाई व्यावसायिक जगत् र समुदायले शहरको सार्वजनिक सुरक्षा नीतिका लागि सकारात्मक सङ्केतका रूपमा लिएका थिए।

यसैबीच, बार्नेसले शिकागोमा धेरै समय बिताएको भन्दै केही आलोचनाको सामना पनि गर्नु परेको थियो, जहाँ उनको परिवार बसोबास गर्छ। प्रहरी प्रवक्ता सर्जेन्ट प्याट्रिक मिचोडका अनुसार बार्नेसले यस वर्ष शिकागोको चार पटक यात्रा गरेका छन् र त्यहाँ कुल १८ दिन बिताएका छन्।

तपाईंको प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल प्रकाशित हुँदैन। सबै प्रतिक्रिया सम्पादकको स्वीकृतिपछि मात्र देखिन्छन्।