वैदेशिक रोजगारीमा जाने श्रमिकको बिमा रकम सिधै हकवालाको बैंक खातामा पुर्‍याउने तयारी


प्रकाशित मिति : ४ श्रावण २०८३, सोमबार

सरकारले वैदेशिक रोजगारीमा जाने श्रमिकको बिमा व्यवस्थापनलाई थप सरल, प्रभावकारी र श्रमिकमैत्री बनाउने भएको छ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले वैदेशिक रोजगार ऐन, २०६४ र नियमावली, २०६४ को मर्मअनुरूप श्रमिकहरूको सुरक्षा र सुविधालाई प्राथमिकता दिँदै नयाँ कार्ययोजना अघि सारेको हो।

कार्ययोजनाअनुसार काम भएमा वैदेशिक रोजगारीमा रहेका श्रमिक र तिनका परिवारले झन्झटरहित बिमा सुविधा प्राप्त गर्नेछन्।

श्रमिकको मृत्यु वा अङ्गभङ्ग भएको अवस्थामा बिमा दाबी प्रक्रियालाई सहज बनाउन पीडित श्रमिकको घरपरिवारमै पुगेर सहजीकरण गर्ने निर्णय मन्त्रालयले गरेको छ।

बिमा रकमको दाबी र भुक्तानी प्रक्रियालाई पारदर्शी बनाउन अब हकवालाको बैंक खातामा सिधै रकम पुग्ने गरी व्यवस्था मिलाइने मन्त्रालयले जनाएको छ।

यसका लागि मोबाइल बैंकिङ र अन्य विद्युतीय भुक्तानी प्रणाली (पेमेन्ट गेटवे) को प्रयोग गरिनेछ।

सेवा प्रवाहलाई छिटोछरितो बनाउन वैदेशिक रोजगार बोर्ड र नेपाल बिमा प्राधिकरणको डिजिटल प्रणालीबीच अन्तरसम्बन्ध/आबद्धता (एपीआई) गरिने भएको छ।

नेपाल बिमा प्राधिकरण, राष्ट्रिय परिचयपत्र (एनआईडी), व्यक्तिगत घटना दर्ता तथा सामाजिक सुरक्षा आयोजना (भीईआरएसपी) र व्यवस्थापन सूचना प्रणाली (एमआईएस) बीच समन्वयात्मक पहुँच कायम गरी सूचना प्रणालीलाई एकीकृत गरिनेछ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

श्रमिकको सुरक्षाको दायरा बढाउन मन्त्रालयका उपसचिवको संयोजकत्वमा गठन गरिएको उच्चस्तरीय समितिले हालको बिमा र दाबी भुक्तानीको अवस्था, अन्तर्राष्ट्रिय अभ्यास र नेपालको परिवेशको विश्लेषण गर्नेछ।

साथै, बिमाको दायरा विस्तार गर्दा प्रिमियममा आउने फरकको अध्ययन र बिमा सेवालाई श्रमिकमैत्री बनाउन आवश्यक सुधारका सुझाव विश्लेषण र समीक्षा गरी समितिले प्रतिवेदन पेस गर्नेछ।

बिमाको आवश्यकता र महत्त्वबारे श्रमिकका परिवार र स्थानीय तहका पदाधिकारीहरूलाई जानकारी गराउन मन्त्रालयले विशेष पहल गर्ने भएको छ।

यसका लागि नेपाल बिमा प्राधिकरण, बिमा कम्पनी र मन्त्रालयमातहतका निकायहरूले संयुक्त रूपमा बिमा साक्षरता कार्यक्रम सञ्चालन गर्ने निर्णय भएको छ। (राससको सहयोगमा )

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com