न्यूयोर्कमा ठूला एआई डाटा सेन्टर निर्माणमा एक वर्षको प्रतिबन्ध


प्रकाशित मिति : ३१ असार २०८३, बुधबार

Photo: Scott Rodgerson/Unsplash

न्यूयोर्क राज्यकी गभर्नर क्याथी होचुलले ५० मेगावाट वा सोभन्दा बढी विद्युत खपत गर्ने नयाँ ठूला डाटा सेन्टरहरूको निर्माणमा एक वर्षसम्मका लागि रोक लगाउने एक ऐतिहासिक कार्यकारी आदेशमा हस्ताक्षर गरेकी छन्। योसँगै हाइपरस्केल एआई डाटा सेन्टरहरूमाथि यस्तो प्रतिबन्ध लगाउने न्यूयोर्क अमेरिकाकै पहिलो राज्य बनेको छ।

न्यूयोर्क शहरमा आयोजित एक पत्रकार सम्मेलनमा गभर्नर होचुलले भनिन्,हामी यो पुस्ताकै सबैभन्दा ठूलो आर्थिक उथलपुथलको बीचमा छौँ। यी हाइपरस्केल एआई डाटा सेन्टरहरूले अत्यधिक मात्रामा ऊर्जा खपत गर्छन्, जसले हाम्रो विद्युत ग्रिडको क्षमतालाई नै गम्भीर जोखिममा पारेको छ। यसले स्थानीय उपभोक्ताहरूको विद्युत महशुल बढाउनेछ, र म न्यूयोर्कवासीहरूमाथि यो आर्थिक भार थोपरिन दिने छैन।

सन् २०१९ यता न्यूयोर्कमा औसत आवासीय विद्युत शुल्क करिब ६८ प्रतिशतले बढेको छ। यही कारणले गर्दा नयाँ डाटा सेन्टरहरूको निर्माणप्रति जनआक्रोश चुलिएको छ। विशेषगरी ल्यान्सिङ र इस्ट फिशकिल जस्ता नगरहरूमा प्रस्तावित सुविधाहरूको व्यापक विरोध भइरहेको छ। वातावरणीय नेताहरूले पनि यी डाटा सेन्टरहरूले अत्यधिक मात्रामा ऊर्जा र स्वच्छ पानी जस्ता प्राकृतिक स्रोतहरूको दोहन गरेको भन्दै आलोचना गर्दै आएका छन्।

वातावरणीय गैर-नाफामूलक संस्था ‘फूड एन्ड वाटर वाच’ की न्यूयोर्क राज्य निर्देशक लाउरा शिन्देलले गभर्नरको निर्णयको स्वागत गर्दै भनिन्, यो एक वर्षको प्रतिबन्ध बिग टेकको आक्रमण विरुद्ध लडिरहेका न्यूयोर्कका समुदायहरूको ठूलो जित हो, जसले हाम्रो स्वच्छ हावा, पानी र आर्थिक सुरक्षालाई बचाउनेछ।

गभर्नरका राजनीतिक सहयोगीहरू, जस्तै अमेरिकी सिनेटर कर्स्टन गिलिब्राण्ड र राज्य सिनेटर क्रिस्टन गोन्जालेजले पनि यस कदमको समर्थन गरेका छन्। उनीहरूका अनुसार प्रविधिले जीवन सहज बनाउनुपर्छ, न कि स्रोतहरूको संकट निम्त्याउनुपर्छ।

अर्कोतर्फ, यो प्रतिबन्धले तीव्र रूपमा फस्टाउँदै गरेको प्राविधिक क्षेत्रमा न्यूयोर्क र समग्र अमेरिकाकै प्रतिस्पर्धात्मक क्षमतालाई कमजोर पार्ने भन्दै विरोध पनि सुरु भएको छ।

रिपब्लिकन एसेम्बली सदस्य स्कट ग्रे र उनका सहकर्मीहरूले गभर्नलाई पत्र लेख्दै भनेका छन्, राज्यव्यापी प्रतिबन्ध लगाउनु गलत निर्णय हो। यसले लगानीलाई रोक्छ र स्थानीय समुदायको निर्णय गर्ने अधिकार खोस्छ।

त्यस्तै, पेन्सिलभेनियाका सिनेटर जोन फेटरम्यानले सामाजिक सञ्जाल एक्समा टिप्पणी गर्दै संक्षिप्त रूपमा लेखेका छन्, यसबाट चीनको जित हुनेछ। डाटा सेन्टर निर्माणकर्ताहरूले अमेरिकामा चलिरहेको एआई विरोधी आन्दोलनलाई वैदेशिक प्रतिद्वन्द्वीहरूले सहयोग गरिरहेको दाबी समेत गरेका छन्।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

सिना रिसर्च इन्स्टिच्युटले गरेको हालैको सर्वेक्षण अनुसार, ४६ प्रतिशत उत्तरदाताले यो प्रतिबन्धलाई राज्यका लागि राम्रो र २१ प्रतिशतले मात्र नराम्रो मानेका छन्। यो मुद्दामा डेमोक्र्याट र रिपब्लिकन दुवै पक्षका मतदाताको समर्थन देखिएको छ।

गभर्नर कार्यालयका अनुसार, राज्यले स्थानीय निकायहरूलाई सहयोग गर्ने र निर्माणका लागि कडा मापदण्डसहितको व्यापक रूपरेखा  तयार गरेपछि मात्र यो प्रतिबन्ध हटाइनेछ। यसका साथै, गभर्नर होचुलले डाटा सेन्टरहरूलाई आफ्नै सञ्चालनका लागि स्वच्छ ऊर्जा र ब्याट्री भण्डारण प्रणालीमा लगानी गर्न अनिवार्य गर्ने योजना पनि अघि सारेकी छन्।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com