न्युयोर्क आक्रमणमा मृत्यु हुनेको संख्या ८


प्रकाशित मिति : कार्तिक १४, २०७४ मंगलबार

आज दिउसो न्युयोर्कको म्यानहटनमा वल्र्ड ट्रेड सेन्टर नजिकै भएको आक्रमणमा ज्यान गुमाउनेको संख्या ८ पुगेको न्युयोर्कका मेयरले जनाएका छन् । आक्रमणकारीले सर्वसाधारणमाथि गाडी जोताउँदा ६ जनाको घटनास्थलमा नै र बाँकी दुईजनाको उपचारका क्रममा ज्यान गएको हो । घटनामा कम्तीमा ११ जना घाइते भएका छन् । घटना म्यानहटनको वेष्ट स्ट्रीट र च्याम्बर स्ट्रीटको नजिक भएको हो । त्यसपछि आक्रमणकारीले नक्कली बन्दुक देखाउदै भ्यानबाट भाग्न खोज्दा प्रहरीले गोली हानेर नियन्त्रणमा लिएका छन् ।

 

आक्रमणकारीले गलत दिशातिर साइकलको लेनमा केही ब्लकसम्म गाडी जोताउदै लगेको थियो । घटनापछि न्युयोर्कमा नै कार्यक्रमको शिलशिलामा रहेकी राष्ट्रपति पत्नी मेलानिया ट्रम्पले ट्वीट गर्दै घटनाबाट आफ्नो हृदय विक्षिप्त भएको जनाएकी छिन् ।

होम डिपोले आक्रमणमा आफ्नो रेन्टल गाडीको प्रयोग भएको पुष्टी गरेको छ । होम डिपोका प्रवक्ता म्याट हेरिगनले अनुसन्धानका लागि आफूहरुले सहयोग गरिरहेको जनाएका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई पनि घटनाबारे जानकारी दिइएको छ । चिफ अफ स्टाफ जोन केलीले घटनाबारे जानकारी दिएका हुन् ।

 

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com