विश्वकप फुटबल: चेक रिपब्लिकविरुद्ध दक्षिण कोरियाको पुनरागमन जित


प्रकाशित मिति : २९ जेष्ठ २०८३, शुक्रबार

फोटो: सिन्ह्वा/रासस

फिफा विश्वकप फुटबल २०२६ अन्तर्गत समूह ‘ए’ को दोस्रो खेलमा दक्षिण कोरियाले चेक रिपब्लिकलाई पराजित गरेको छ।

दक्षिण कोरियाले चेक रिपब्लिकविरुद्ध २–१ गोलअन्तरको जित निकाल्दै प्रतियोगितामा सुखद सुरुआत गरेको हो। खेलमा चेक रिपब्लिकले सुरुवाती अग्रता बनाएको भए तापनि दक्षिण कोरियाले उत्कृष्ट पुनरागमन गर्दै जित सुनिश्चित गर्‍यो।

दक्षिण कोरियाका लागि हवाङ इन–बोम र ओ ह्युन–ग्युले समान एक–एक गोल गरे। चेक रिपब्लिकका लागि भने लाडिस्लाभ क्रेज्चीले एक गोल फर्काए। खेलमा पहिलो अग्रता भने चेक रिपब्लिकले नै लिएको थियो।

जितसँगै दक्षिण कोरिया तीन अङ्क बटुल्दै अङ्क तालिकाको दोस्रो स्थानमा उक्लिएको छ। समूह ‘ए’ अन्तर्गत भएको उद्घाटन खेलमा मेक्सिकोले दक्षिण अफ्रिकालाई पराजित गर्दै जित निकालेको थियो। यससँगै समूह ‘ए’ मा समान तीन अङ्क भए पनि मेक्सिको गोलअन्तरका आधारमा शीर्ष स्थानमा रहेको छ।

खेल अवधिभर दक्षिण कोरियाका तर्फबाट विपक्षी पोस्टमा १५ पटक प्रहार भएको थियो भने चेक रिपब्लिकले ८ पटक प्रहार गरेको थियो।

दक्षिण कोरियाले आफ्नो दोस्रो खेल जुन १९ मा मेक्सिकोसँग खेल्नेछ। फिफा विश्वकप २०२६ को आयोजना अमेरिका, मेक्सिको र क्यानडाले संयुक्त रूपमा गरेका हुन्।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com