ब्लुटुथको शङ्कास्पद नामले आकाशबाटै फर्कियो युनाइटेड एयरलाइन्सको विमान


प्रकाशित मिति : १७ जेष्ठ २०८३, आइतबार

Photo by David Syphers on Unsplash

न्युयोर्कको नेवार्कबाट स्पेनको पाल्मा डे मलोर्कातर्फ उडेको युनाइटेड एयरलाइन्सको एउटा विमान शनिबार अबेर राति बीच बाटोबाटै फर्किएको छ। विमानमा रहेका एक यात्रीको ब्लुटुथ उपकरणको नाम शङ्कास्पद देखिएपछि विमानलाई आकाशबाटै ‘यू-टर्न’ गराई फिर्ता ल्याइएको हो।

फ्लाइट ट्र्याकिङ डेटाका अनुसार झन्डै आठ घण्टाको उक्त उडान ४ घण्टा २४ मिनेट आकाशमा बिताएपछि पुनः नेवार्क विमानस्थलमै अवतरण गरेको थियो।

सम्भावित सुरक्षा जोखिमलाई ध्यानमा राख्दै” विमानलाई बीच बाटोबाटै फर्काइएको हो। सामाजिक सञ्जालमा उक्त उडानका यात्रीहरूले पोस्ट गरेका तस्बिर र भिडियोका अनुसार, विमानभित्रै रहेका कसैको ब्लुटुथ उपकरणका कारण यो समस्या निम्तिएको हो।

उडानका क्रममा विमान परिचारकहरूले सबै यात्रीलाई आफ्नो ब्लुटुथ बन्द गर्न अनुरोध गरेका थिए। विमानभित्र गरिएको घोषणामा “यो सानो मजाकले गर्दा सबैको यात्रा बर्बाद भयो” भनिएको यात्रीहरूले उल्लेख गरेका छन्।

‘लाइभ एटीसी डट नेट’ द्वारा सुरक्षित गरिएको एयर ट्राफिक कन्ट्रोलको अडियो रेकर्डिङ अनुसार, विमान नेवार्कमा अवतरण गरेपछि धावनमार्गमै रोकिएको थियो। अडियोमा एक अधिकारीले सोधे, “विमानमा के भएको थियो?” जवाफमा अर्का अधिकारीले भने, “सुरक्षा टोली त्यहाँ पुगिसकेको छ।

कसैको ब्लुटुथ स्पिकरको नाम ‘चार अक्षरको एउटा विशेष शब्द’ राखिएको रहेछ। त्यसैले अहिले कार्गो क्षेत्रसहित पूरा विमानको जाँच भइरहेको छ र यात्रीहरूलाई बाहिर निकालिएको छ।”

यहाँ ‘चार अक्षरको शब्द’ को अर्थ कुनै गाली नभएर सुरक्षा संयन्त्रलाई सतर्क गराउने शब्द थियो। टिकटक र रेडिट जस्ता सामाजिक सञ्जालमा यात्रीहरूले खुलाए अनुसार, उक्त ब्लुटुथ नेटवर्कको नाम अंग्रेजीमा बम राखिएको थियो, जुन एक किशोरको स्पिकर थियो।

विमानको गम्भीर जाँचबुझ पछि यात्रीहरूलाई पुनः बोर्डिङ गराई स्पेनतर्फ प्रस्थान गराइएको थियो। अन्ततः उक्त विमान निर्धारित समयभन्दा साढे ९ घण्टा ढिलो गरी आइतबार दिउँसो स्थानीय समय अनुसार ३:४७ बजे स्पेनको पाल्मा डे मलोर्कामा अवतरण गर्‍यो।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com