आप्रवासीमाथि गोली प्रहार गर्ने आइस एजेन्टविरुद्ध गम्भीर फौजदारी अभियोग, पक्राउ पुर्जी जारी


प्रकाशित मिति : ५ जेष्ठ २०८३, मंगलबार

तस्बिर: आइस

अमेरिकाको मिनेसोटामा दुई भेनेजुएलाली आप्रवासीहरूमाथि भएको गोली काण्डको घटनामा संलग्न अध्यागमन विभाग आइसका एक सङ्घीय एजेन्टविरुद्ध ज्यान मार्ने उद्योग सहितका विभिन्न गम्भीर फौजदारी अभियोगहरू दर्ता गरिएको छ।

हेनेपिन काउन्टीकी एटर्नी मेरी मोरियार्टीले सोमबार आयोजित एक पत्रकार सम्मेलनमा दिएको जानकारी अनुसार आरोपी एजेन्ट क्रिश्चियन क्यास्ट्रोविरुद्ध सेकेन्ड डिग्री असल्टका चारवटा र झूटा रिपोर्टिङ गरेको एउटा गरी पाँचवटा अभियोग लगाइएको छ। अदालतबाट उनको नाममा देशव्यापी पक्राउ पुर्जी समेत जारी भइसकेको छ।

घटनाका सन्दर्भमा जानकारी दिँदै काउन्टी एटर्नी मोरियार्टीले सङ्घीय एजेन्ट हुनुको अर्थ कानुनभन्दा माथि हुनु नभएको प्रस्ट पार्नुभयो। उहाँले भन्नुभयो, “क्यास्ट्रो आइसका एजेन्ट हुन्, तर उनको सङ्घीय ब्याजले उनलाई मिनेसोटामा गरेको आपराधिक कार्यको सजायबाट उन्मुक्ति दिन सक्दैन। सङ्घीय अधिकारीहरूले यस राज्य वा अन्य कतै पनि अपराध गर्दा उनीहरूलाई पूर्ण उन्मुक्ति मिल्ने कुनै प्रावधान छैन।”

यदि यी अभियोगहरूमा क्यास्ट्रो दोषी ठहरिएमा, उनले प्रत्येक असल्ट चार्जमा ३ देखि ७ वर्षसम्मको जेल सजाय र भारी जरिवाना भोग्नुपर्ने हुन सक्छ।

सरकारी अभियोग पत्रका अनुसार गत जनवरी १४ मा मिनेसोटाको मिनियापोलिसस्थित एक घरको मुख्य ढोकाबाट सङ्घीय एजेन्टले गोली चलाउँदा जुलियो सेसर सोसा-सेलिस नामका आप्रवासी घाइते भएका थिए। सुरुमा होमल्याण्ड सेक्युरिटी  र आइसले ती आप्रवासीहरूले एजेन्टमाथि बेल्चा र कुचोले आक्रमण गरेपछि आत्मरक्षार्थ गोली चलाउनुपरेको दाबी गरेका थिए। तर, पछि सडकमा जडान गरिएको ‘सिटी क्यामेरा’को भिडियो फुटेज सार्वजनिक भएपछि एजेन्टहरूको उक्त दाबी पूर्ण रूपमा झूटो साबित भयो।

भिडियो फुटेजमा आप्रवासी सोसा-सेलिसले एजेन्टलाई देख्नासाथ हातमा रहेको हिउँ फाल्ने बेल्चा भुइँमा फालेर पछि हटेको प्रस्ट देखिन्छ। अर्का आप्रवासी अल्जोर्ना भुइँमा चिप्लिएर लडेपछि एजेन्ट क्यास्ट्रोले उनीमाथि कुटपिट गरेका थिए। केही बेरको संघर्षपछि दुवै जना छुट्टिएर आप्रवासीहरू घरभित्र छिरेका थिए। त्यसको केही सेकेन्डपछि एजेन्ट क्यास्ट्रोले भुइँबाट उठेर बन्द ढोकाको आरपार हुने गरी गोली प्रहार गरेका थिए, जुन गोली सोसा-सेलिसको खुट्टामा लागेको थियो।

घटना लगत्तै सङ्घीय निकायहरूले ती आप्रवासीहरूविरुद्ध एजेन्टमाथि साङ्घातिक हमला गरेको अभियोगमा मुद्दा दर्ता गरेका थिए। तर, फेब्रुअरीमा न्याय मन्त्रालयले एउटा अप्रत्याशित कदम चाल्दै ती आप्रवासीहरूविरुद्धका सबै आरोपहरू फिर्ता लियो। आइसका दुई जना अधिकारीहरूले शपथ खाएर अदालतमा झूटो बयान दिएको र भिडियो प्रमाणसँग उनीहरूको भनाइ बाझिएको पुष्टि भएपछि सरकार पछि हट्न बाध्य भएको हो।

होमल्याण्ड सेक्युरिटीले मिनेसोटाका स्थानीय राजनीतिज्ञहरूको कदमलाई “गैरकानुनी र राजनीतिक स्टन्ट” को संज्ञा दिएको छ। होमल्याण्ड सेक्युरिटीले आफ्ना अधिकारीहरूले शपथ उल्लङ्घन गरेको र अदालतमा झूटो बोलेको विषयलाई गम्भीरतापूर्वक लिँदै आन्तरिक छानबिन सुरु गरिएको जनाएको छ। दोषी पाइएमा उनीहरूलाई सेवाबाट बर्खास्त गर्नुका साथै सङ्घीय फौजदारी मुद्दा समेत चलाइने विभागले स्पष्ट पारेको छ। हाल झूटो विवरण दिने दुवै एजेन्टहरूलाई प्रशासनिक बिदामा राखिएको छ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com