विद्यालयले कपाल कालो पार्न लगाएपछि मुद्दा
प्रकाशित मिति : कार्तिक १२, २०७४ आईतबार

जापानमा एक १८ वर्षीया किशोरीलाई उनको विद्यालयले प्राकृतिक रुपमै खैरो रहेको कपाललाई बारम्बार कालो पार्न लगाएपछि क्षतिपूर्ति माग गर्दै उनले स्थानीय सरकारविरुद्ध मुद्दा दायर गरेकी छन्।
ओसाका नजिकै रहेको उनको माध्यमिक विद्यालयले विद्यार्थीहरुको कपाल कालो रंगको हुनुपर्ने नियम पालना नगरिए विद्यालय छाड्न भनेको ती किशोरीले बताइन्।
ती किशोरीले कपाल कालो गर्न प्रयोग गरिएको रंगले आफ्नो कपाल र तालुमा असर पुर्याएको बताएको जनाइएको छ।
‘काइफूकान हाइ स्कूल’ले कपाल रंगाएका विद्यार्थीहरुलाई प्रतिबन्ध गर्ने विद्यालयको नीति रहेको बताएको छ।
निर्देशन
जन्मिंदादेखि नै आफ्नी छोरीको कपालको रंग खैरो रहेको जानकारी उनकी आमाले विद्यालयलाई गराएपनि विद्यालयले बारम्बार ती किशोरीलाई कपाल कालो गर्न निर्देशन दिएको थियो।
विवरणहरुका अनुसार ती किशोरी गत वर्षको सेप्टेम्बरदेखि विद्यालय गएकी छैनन्।
उनले क्षतिपूर्तिस्वरुप १९ हजार ३ सय डलर माग गरेको बताइएको छ।

स्थानीय सञ्चारमाध्यमका अनुसार ओसाका प्रिफेक्चरले अदालतलाई उनको दाबी अस्वीकार गर्न माग गर्ने बताइएको छ।
उक्त मुद्दाबारे ‘काइफूकान हाइ स्कूल’का प्रधानाध्यापक मासाहिको ताकाहाशीले कुनै प्रतिक्रिया दिएनन्।
नियम
विद्यार्थी कस्तो देखिने भनेर जापानका धेरै विद्यालयमा कडा नियमहरु रहेको बताइन्छ।
त्यसमा कपालको रंग, मेकअपको प्रयोग र स्कर्टको लम्बाइ लगायत पर्दछन्।
यसै वर्षको शुरुतिर असाही शिम्बुन पत्रिकाले गरेको एक सर्वेक्षणमा राजधानी टोकियोका झण्डै ६० प्रतिशत उच्च विद्यालयहरुले कपालको रंग कालो नभएका विद्यार्थीलाई उनीहरुको कपालको रंग प्राकृतिक रुपमै त्यस्तो भएको प्रमाणहरु, जस्तो कि शिशु हुँदाका फोटोहरु पेश गर्न भनिएको थियो।
जापानको जन्मदर घट्दो छ र नयाँ विद्यार्थीहरुलाई आफ्नो विद्यालयमा आकर्षित गर्ने बढ्दो प्रतिस्पर्धाबीच विद्यार्थीको अनुशासन विद्यालयहरुका लागि आफ्नो प्रचार गराउने बलियो माध्यमका रुपमा हेरिन्छ।