ट्रम्प प्रशासनमा ‘सेल्फ डिपोर्ट’ रोज्ने आप्रवासीको संख्यामा ९९३ प्रतिशतले वृद्धि
अमेरिकामा ट्रम्प प्रशासनले सुरु गरेको सामूहिक देशनिकाला रणनीति अन्तर्गत स्वैच्छिक रूपमा देश छाड्ने आप्रवासीहरूको संख्यामा नाटकीय वृद्धि भएको छ। भेरा इन्स्टिच्युट अफ जस्टिसले सार्वजनिक गरेको नयाँ प्रतिवेदन अनुसार डिसेम्बर २०२४ मा प्रतिमहिना ८०० को हाराहारीमा रहेको स्वैच्छिक प्रस्थानको संख्या फेब्रुअरी २०२६ सम्म आइपुग्दा ८,८०० पुगेको छ। यो तथ्यांक अघिल्लो प्रशासनको तुलनामा ९९३ प्रतिशतको वृद्धि हो।
सरकारी रणनीति अनुसार अध्यागमन हिरासतमा रहेका व्यक्तिहरूमा यस्तो निर्णय लिने दर उच्च देखिएको छ। ट्रम्प प्रशासनले आप्रवासीहरूलाई आफ्नै इच्छाले देश छाड्न प्रोत्साहित गर्न विभिन्न उपायहरू अपनाएको छ। यसमा सीबीपी होम एपमार्फत आवेदन दिनेहरूलाई निःशुल्क हवाई टिकट र २,६०० अमेरिकी डलर (करिब ३ लाख ४५ हजार नेपाली रुपैयाँ) नगद प्रोत्साहन उपलब्ध गराइने डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीले जनाएको छ।
अध्यागमन न्यायाधीशहरूका अनुसार ‘स्वैच्छिक प्रस्थान’ रोज्ने आप्रवासीहरूले औपचारिक देशनिकालाको छापबाट बच्न सक्छन्। यसले भविष्यमा कानुनी रूपमा अमेरिका फर्कने बाटो खुला राख्न मद्दत पुर्याउँछ। देशनिकालाको आदेशले सामान्यतया १० वर्षसम्म अमेरिका प्रवेशमा प्रतिबन्ध लगाउँछ भने स्वैच्छिक रूपमा फर्कनेहरूले चाँडै भिसाका लागि आवेदन दिन सक्ने प्रावधान छ।
तथापि, कानुनी विज्ञहरू र ‘नेसनल इमिग्रेसन ल सेन्टर’ले यसमा लुकेको जोखिमबारे सचेत गराएका छन्। सीबीपी होम एप प्रयोग गरेर स्वैच्छिक रूपमा फर्कनुको अर्थ आफू अमेरिकामा अवैध रूपमा बसेको स्वीकार गर्नु हो।
यो स्वीकारोक्तिले भविष्यमा पारिवारिक प्रायोजन वा कम्पनीमार्फत भिसा आवेदन दिँदा बाधा पुर्याउन सक्छ। साथै, ट्रम्प प्रशासनले शरणार्थी कोटालाई वार्षिक ७,५०० मा झारेका कारण पुन: प्रवेश झन् कठिन बनेको छ।





