अङ्ग्रेजीमा प्राप्त कानुनी सूचना बुझ्ने दायित्व आप्रवासीकै रहेको अमेरिकी अदालतको ठहर
फोटो: वेस्ली टिंगे
अमेरिकी नाइन्थ सर्किट पुनरावेदन अदालतले आप्रवासी अदालतका कागजातहरू अंग्रेजीमा मात्र उपलब्ध गराइनुले संवैधानिक अधिकारको हनन नहुने ठहर गरेको छ। होन्डुरसकी नागरिक वेन्डी उर्क्विआ–यानेजको मुद्दामा फैसला सुनाउँदै अदालतले ठेगाना परिवर्तनबारे जानकारी दिने सूचना स्पेनिस भाषामा अनुवाद नगरिएको भए तापनि उनलाई “उचित कानुनी प्रक्रिया” बाट वञ्चित नगरिएको स्पष्ट पारेको छ।
उर्क्विआ–यानेज सन् २०१२ मा गैरकानुनी रूपमा अमेरिका प्रवेश गरेकी थिइन्। पक्राउ परेपछि उनलाई ‘नोटीस टु एपियर’ थमाइएको थियो, जसमा उनले आफ्नो ठेगाना फेरिएमा सरकारलाई जानकारी दिनुपर्ने उल्लेख थियो। तर, उनले ठेगाना परिवर्तनको जानकारी नदिँदा अदालतको सुनुवाइ सम्बन्धी पत्र पुरानै ठेगानामा पुग्यो । उनी उपस्थित नभएपछि न्यायाधीशले उनको अनुपस्थितिमै देशनिकाला गर्ने आदेश दिएका थिए।
आठ वर्षपछि यानेजले आफ्नो मुद्दा पुनः खुलाउन माग गर्दै आफूलाई अंग्रेजी नआउने र सूचना स्पेनिसमा नभएकाले नियम थाहा नभएको दाबी गरेकी थिइन्। तर नाइन्थ सर्किटले पूर्ववर्ती फैसलाहरूको व्याख्या गर्दै यदि कुनै वयस्क आप्रवासीलाई अंग्रेजीमा औपचारिक कानुनी सूचना दिइएको खण्डमा उनीसँग त्यो बुझ्ने पर्याप्त समय भएमा त्यसलाई संवैधानिक रूपमा पर्याप्त मानिने जनाएको छ ।
उचित प्रक्रिया लचिलो हुने तर यसको अर्थ सरकारले प्रत्येक सूचना विदेशी भाषामा अनुवाद गर्नैपर्छ भन्ने नभएको अदालतले थप स्पष्ट पारेको छ । यदि कसैले नबुझ्ने भाषामा कानुनी कागजात प्राप्त गरेमा त्यसको अर्थ बुझ्ने जिम्मेवारी सम्बन्धित व्यक्तिकै हुने अदालतको तर्क छ। यो फैसलाले अमेरिकामा आप्रवासी नियमहरूको पालना र भाषाको अनिवार्यताका विषयमा एउटा महत्वपूर्ण नजिर स्थापना गरेको छ।





